आन्तरिक राजस्वका कर्मचारी पुग्दा भिस्वाका व्यापारीहरू भागे

सुग्रीव साह, भीस्वा, ४ फागुन/
आन्तरिक राजस्व कार्यालय, वीरगंजले आइतवार भिस्वा बजारमा व्यापारीहरूलाई सचेतना गराउन जाँदा व्यापारीहरू पसल बन्द गरेर भागेका थिए ।

आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरूले आज भिस्वाका व्यापारीहरूलाई फागुन मसान्तसम्म कर चुक्ता गर्दा लाग्ने जरिबाना माफी हुने बारेमा सचेतना गराउन दिउँसो पुगेका थिए । तर आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरू भिस्वा आउँदै गरेको सूचना पाएका यहाँका व्यापारीहरू भने आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरू आइनपुग्दै पसलहरू बन्द गरेर भागेका थिए ।

आन्तरिक राजस्व कार्यालय, वीरगंजले यस अघि यहाँका व्यापारीहरूलाई करसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको थियो र आज सोको प्रगति र बक्यौता करको जरिबाना माफी सम्बन्धमा जानकारी गराउन खोजेको थियो । आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरूले पसलेहरूलाई बोलाउने प्रयास पनि गरे तर २५ वटा पसल रहेको यहाँका २० जना व्यापारी पसल बन्द गरी भागेका र सम्पर्कमा आएनन् । पछि आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरू एक घण्टापछि फर्के, अनिमात्र व्यापारीहरूले पसल खुला गरेका थिए ।

पछिल्लो एक वर्षदेखि यहाँबाट हुने संस्थागत तस्करी रोकिएको छ । अवैधरूपमा भारत पठाइएको चाइनिज लसुन ठूलो परिमाणमा भारतीय प्रहरीले बरामद गरेपछि यहाँका तस्करहरू अन्यत्र पलायन भएका छन् । जसले गर्दा यहाँबाट हुने थोक कारोबार बन्द प्रायः छ भने खुद्रा कारोबार मात्र भइरहेको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्