बोध दिवसमा दाइजोरहित विवाह र रक्तदान

प्रस, वीरगंज, ४ फागुन/
सतलोक आश्रम धनुषामा सन्त रामपालजी महाराजको ३८औं बोध दिवस यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । यही फागुन ३ देखि ५ गतेसम्म धनुषा जिल्लाको मिथिला नपा–२ बेलचापीमा तीन दिवसीय अखण्ड पाठ र भण्डारा कार्यक्रम अन्तर्गत आइतवार दोस्रो दिन सातजना जोडीको दाइजोरहित सामूहिक विवाह गराइएको थियो ।

यसैगरी, कार्यक्रममा सन्त रामपालजी महाराजको सान्निध्यमा सन्त गरीबदासजी महाराजद्वारा रचित अमरग्रन्थ साहेबको अखण्ड पाठ जारी छ । विवाहमा कुनै प्रकारको सरसामान तथा नगद लेनदेन नभएको र बेहुला वा बेहुली दुवै पक्षको व्यक्तिगत खर्च भएन । आगन्तुकहरूलाई खाने तथा बस्ने व्यवस्था आश्रमकै तर्फबाट गरिएको थियो । १७ मिनेटको गुरुवाणीद्वारा ३३ करोड देवीदेवताहरूको स्तुति गरी गुरुदेवजीको आशीर्वाद लिएर श्रद्धालुहरूसामु विवाह सम्पन्न गरिएको थियो ।

यसैगरी नेपाल रेडक्रस सोसाइटीको आयोजनामा भएको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका थिए । कार्यक्रममा पूर्वमन्त्री मातृकाप्रसाद यादव, पूर्वसांसद रामचन्द्र झालगायत सुरक्षा निकायका अधिकारी, जनप्रतिनिधि, कर्मचारी, चिकित्सक, इन्जिनीयर सहभागी थिए । भोलि तेस्रो दिन आरती र सत्सङ्ग गरेर कार्यक्रमको समापन हुने आयोजकले जनाएको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्