प्रस, परवानीपुर, २८ पुस/
हिमालयन डिस्टिलरी लिमिटेडको २४औं वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ ।

वीरगंज महानगरपालिका–२१ लिपनीबिर्ता परवानीपुरमा रहेको रजिस्टर्ड अफिसमा वार्षिक साधारणसभा सम्पन्न भएको हो । सभाले २०८०/८१ को वासलात पारित गरेको छ भने १५ प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

पाँच प्रतिशतले १३ करोड ३६ लाख २६ हजार १६५ नगद लाभांश र १५ प्रतिशतले ४० करोड आठ लाख ७८ हजार ४९७ रुपैयाँ बोनस शेयरबापत वितरण गर्ने प्रस्ताव पारित भएको हो । बोनस शेयर वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी रु तीन अर्ब सात करोड ३४ लाख एक हजार ८१२ रुपैयाँ पुग्नेछ ।

कम्पनीको बोनस शेयर वितरणपश्चात् कुल शेयर सङ्ख्या तीन करोड सात लाख ३४ हजार १८ हुनेछ । साथै कम्पनीको अधिकृत पूँजी तीन अर्ब ५० करोड हुनेछ ।

वार्षिक साधारणसभामा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सभाका सभापति अखिलेश्वरप्रसाद सिंह, अन्य सञ्चालकहरू सान्टु श्रेष्ठ, प्रकाशमणि घिमिरे, याङकिला शेर्पा, शङ्करराज पाण्डेको सहभागिता थियो भने स्वास्थ्यको कारण देखाइ अर्का सञ्चालक नरेन्द्रकुमार बस्नेत अनुपस्थित थिए ।

कम्पनीका कानून तथा परिपालना अधिकृत नेत्र तिम्सिनाको सहजीकरणमा सम्पन्न सभामा कुल शेयर सङ्ख्याको ६१ प्रतिशत शेयरधनीको प्रतिनिधित्व रहेको बताइएको छ । प्रतिनिधिमार्फत ३० जना शेयरधनीको सहभागिता थियो ।

कम्पनीले २०८०/८१ मा दुई अर्ब आठ करोड १४ लाख ९६ हजार ९९८ रुपैयाँको मदिरा बिक्री गर्दै एक अर्ब ७२ करोड ५३ लाख २२ हजार ६६२ रुपैयाँ खर्च गरी ३५ करोड ६१ लाख ७४ हजार ३३६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

जबकि अघिल्लो आव २०७९/८० मा कम्पनीले ६७ करोड तीन लाख चार हजार ११९ रुपैयाँ खुद मुनाफा गरेको थियो । मदिरा बजारमा धेरै उद्योग सञ्चालनमा आएपछि प्रतिस्पर्धात्मक बजार बनेको, उपभोक्ताको आयआर्जनमा कमी आएको, सरकारले अन्तःशुल्क वृद्धिले मदिराको मूल्य बढ्दा बिक्री प्रभावित भएर गत आवमा कम्पनीद्वारा उत्पादित मदिराको बिक्री घटेको जनाइएको छ ।

अघिल्लो आव २०७९/८० भन्दा २०८०/८१ मा ४२ प्रतिशतले बिक्री घटेको कम्पनीको भनाइ छ । गत आवमा कम्पनीले गोल्डेन ओक दुई लाख ३० हजार ५६९, ब्ल्याक ओक ९१ हजार ५५ र सिल्भर ओक २२ हजार ७४३ कार्टुन उत्पादन गरेको थियो । एक कार्टुनमा ७५० एमएलका १२ वटा बोतल हुन्छ भने ३७५ एमएलका २४ वटा र १८० एमएलका ४८ वटा बोतल हुन्छन् ।

चालू आवमा कम्पनीले गत आवभन्दा उत्पादन दोब्बर पारी बिक्री वितरण बढाउने लक्ष्य लिएको कम्पनीका कारखाना प्रबन्धक नवीन उपाध्यायले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here