प्रस, वीरगंज, २८ पुस/
वीरगंज महानगरपालिकाले बिपी उद्यान खाली गराएर त्यहाँ भएका थोक तथा खुद्रा तरकारी र हड्ढङ बजारलाई वीरगंज–२ इनरबाइपासमा रहेको सरकारी जग्गामा स्थानान्तरण गर्ने तयारी थालेको छ ।
नगरप्रमुख राजेशमान सिंहसहितको टोलीले शनिवार सो क्ष्Fेत्रको अवलोकन गरेको थियो । सर्वोच्च अदालतको आदेशमा भूमिसुधार तथा मालपोत कार्यालय, पर्साले हालै सो जग्गा नेपाल सरकारको नाममा दर्ता कायम गरेको थियो ।
सोही जग्गामा अहिले महानगरले बिपी उद्यानमा रहेका थोक तथा खुद्रा तरकारी र हड्ढङ बजार सार्ने तयारी गरेको हो । महानगरले यो जग्गामा तरकारी तथा हड्ढङ बजार स्थापना गर्दा प्रतिवर्गफुट रु १५ को दरले शुल्क लिने नगरसभाले निर्णय गरेको छ ।
बिपी उद्यानमा डेढ दशकभन्दा बढी समय रहँदा खुद्रा तथा थोक तरकारी र हड्ढङ बजारले कुनै शुल्क दिएका थिएनन् । त्यहाँ व्यक्तिविशेष र नगर प्रहरीले अनधिकृतरूपमा रकम असुल गर्दै आएका थिए ।
अहिले तरकारी तथा खुद्रा बजार सम्बन्धित व्यवसायीले निर्माण गरी बस्नुपर्ने र जग्गाबापत महानगरलाई शुल्क तिर्नुपर्ने सहमति भएको छ । महानगरले बिपी उद्यान खाली गराउने क्रममा अहिले त्यहाँ रहेका दलित बस्ती खाली गराइसकेको छ । करीब २० परिवार एक सातादेखि घरबारविहीन छन् ।
थोक तथा खुद्रा तरकारी तथा हड्ढङ बजार भने अहिलेसम्म यथावत् छ । बिपी उद्यानमा ३५ वटा थोक र ४० वटा खुद्रा पसलसहित सोही परिमाणमा हड्ढङ बजार पनि छ ।