बलिराम शुक्ला, बिरुवागुठी, २७ पुस/ 

यसपालिको माघी (मकरसङ्क्रान्ति) पर्व जिल्लाका छवटा स्थानमा आयोजना गर्ने तयारी भइरहेको छ। मुख्यतः थारू समुदायले माघी पर्वलाई धूमधामका साथ मनाउँदै आएको र यस अवसरमा थारू बाहुल्य पर्सा जिल्लाका छवटा स्थानमा यसपटक महोत्सव मनाउने तयारी थालिएको छ।

वीरगंज महानगरपालिकाको आदर्शनगरबाट सुरुआत गरिएको माघी महोत्सव पछिल्लो समयमा पर्सागढी नपाको बडनिहार खेलमैदान,  सखुवाप्रसौनी गापाको औराहा पंचगावाँ, पटेर्वासुगौली गापाको फरदहवा, जीराभवानी गापाको सेढवा र ठोरी गापाको सुवर्णपुरमा महोत्सव मनाउन भव्य तयारी हुँदैछ। 

थारू समुदायको महान् पर्व तथा नयाँ वर्ष थारू संवत् २६४९ को अवसरमा आगामी माघ १ गते थारू कल्याणकारीसभा नगर मूल समारोह समिति, पर्सागढीको आयोजनामा पकडिया बडनिहारको खेलमैदानमा पाँचौं पर्सागढी थारू माघी खिचडी महोत्सवको तयारी भव्यरूपमा भइरहेको महोत्सव तयारी समितिका संयोजक जङ्गबहादुर दास थारूले बताए। उनले महोत्सवमा थारू समुदायका खाद्य परिकारहरू, थारू संस्कृति झल्किने घाटो, झम्टा नृत्य प्रस्तुत गरिने बताए।

यसैगरी, पर्सा जिल्लामा सबैभन्दा पहिले सुरुआत गरिएको माघी महोत्सवस्थल वीरगंज महानगरमा पनि माघीको भव्य तयारी भइरहेको माघी मूल समारोह समिति वीरगंजका संयोजक प्रवीण चौधरीले बताए। वीरगंजमा थारू समुदायले भव्यरूपमा आफ्नो उपस्थिति देखाउँदै महोत्सव मनाउने गरेको छ। घण्टाघरबाट झाँकीसहित –याली निकालेर महोत्सवस्थलमा थारू समुदायका खाद्य परिकारहरूका स्टल, सांस्कृतिक कार्यक्रम, रक्तदान जस्ता सामाजिक कार्यहरू हुँदै आएको छ।

सखुवाप्रसौनी गापाको औराहा पंचगावाँमा रूपनारायण मुखियाको संयोजकत्वमा महोत्सवको तयारी भइरहेको गापाध्यक्ष यशवन्त यादवले बताए।

यसैगरी, पटेर्वासुगौली गापाको फरहदवामा चौथो माघी तथा भाठा महोत्सव तीन दिन कार्यक्रम गरी मनाउने तयारी भइरहेको मूल समारोह समितिका संयोजक मुकेश गौरोले बताए। रामभौरी भाठालाई पर्यटकीयस्थलको रूपमा पहिचान अगाडि बढाउने उद्देश्यले पनि माघी महोत्सव मनाउने तयारी गरिएको र थारू समुदायको पहिचान देखिने भोजनहरूका साथै घाटो, झम्टा, जितिया पर्वको प्रदर्शन र राष्ट्रिय कलाकारहरू सहभागी गराएर तीन दिनसम्म सांस्कृतिक कार्यक्रम आयोजना हुने संयोजक गौरोले बताए। 

यसैगरी, माघी महोत्सवका लागि जीराभवानी गापाको सेढवा र ठोरी गापाको सुवर्णपुरमा पनि भव्य तयारी भइरहेको आयोजक कमिटीले जनाएको छ। पर्सा जिल्लाका पाँचवटा पालिकामा एक दिन र पटेर्वासुगौलीमा भने तीन दिन महोत्सव मनाउने तयारी थालिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here