ऐतिहासिक धरोहरको पर्यटकीय महŒव हामीले निकै कम मात्र बुझ्न पाएका छौं । यद्यपि इतिहास सबैलाई चाहिएको छ । इतिहासलाई पहिचानसित जोडेर गर्व नगर्ने को होला ? देशको इतिहास र स्थानीय पहिचानसित निकै कम उत्सवहरू स्थायीरूपमा आयोजन गर्ने गरिन्छ । कतिपय इतिहास त इतिहासकै गर्भमा विलुप्त हुन पुगेको छ । एउटा सामान्य उदाहरण, सर्लाहीको एउटा ठाउँमा पोखरी छ, र के मानिन्छ भने त्यहीं यक्षले पाण्डवहरूसँग प्रश्न गरेका थिए ।
यो जानकारी मैले हालै एउटा पुस्तकमा फेला पारेको हुँ तर यस्ता पौराणिक र ऐतिहासिक तथ्य वा मिथकहरूबारे समाज अनभिज्ञ रहेको देखिन्छ । पुराण, इतिहास तथा संस्कृति हाम्रा अमूल्य धरोहर हुन् । यदि हामीले हाम्रो समाजका विभिन्न गाउँठाउँ, पोखरी तथा अवशेष र पुरातन संरचनाहरूको अध्ययन गर्ने हो भने कतिपय रहस्य निकै आश्चर्यजनकरूपमा बाहिर आउन सक्छ । पहिलेका कतिपय कुराहरू अझै पनि धरतीमा छन् । इतिहासमा पनि कतिपय गर्व र गरिमाहरू लुकेर रहेका छन् । यस्तै केही गरिमामध्ये एक हो–समनपुर मेला ।
|
कुनै जमाना थियो, पाटलीपुत्र (पटनाको पुरानो नाम) र नेपाल (काठमाडौं उपत्यका)बीच व्यापार हुन्थ्यो । व्यापारिक मार्ग थियो, बागमती नदीको किनार । मुख्यगरी पश्चिमी किनार चल्तीमा थियो । किनारैकिनार मानिसहरूको आवागमन हुन्थ्यो । बेपारका लागि सामानहरूको पनि आवतजावत भइरहन्थ्यो । पाटलीग्राम बस्नुभन्दा पनि पहिले वैशाली वा वसाढ निकै शक्तिशाली व्यापारिक केन्द्र थियो । लिच्छवीहरू यहींका बासिन्दा हुन्, शासक हुन् । लिच्छवीहरूलाई व्यवसायी पनि भन्ने गरिन्छ । गङ्गा नदीभन्दा दक्षिणतर्फ पाटलीपुत्रको विकास हुनुमा एउटा कारण वैशाली पनि हो । गङ्गाको उत्तरी किनारमा वसाढले नेपालको लागि मात्र सामानको आयातनिर्यात गर्दैनथ्यो, पूर्वपश्चिम आवातजावत गर्ने व्यापारी तथा पर्यटक र दस्युको विश्रामस्थल पनि थियो । गङ्गा भएर पूर्वमा कम्तीमा बङ्गालसम्म र पश्चिममा कम्तीमा इरानसम्म बेपार हुन्थ्यो भन्ने अनुमान छ । अनि बागमतीको किनार भएर पाटलीपुत्रदेखि तिब्बतसम्मका बेपारीहरू आवतजावत गर्दथे । चिनियाँ यात्री हुएन साङ पनि यही बाटो भारत गएको विश्वास गरिन्छ । भारतबाट पनि विभिन्न यात्रीहरू सजिलै यही बाटो कान्तिपुर पुग्दथे । कुनै समय नालन्दा अध्ययनको मुख्य केन्द्र पनि रहेको देखिन्छ । त्यहाँ विभिन्न देशका मानिस अध्ययनका लागि जाँदा चिनियाँ पनि हुन्थे । र, बनारस अध्ययन, भ्रमण तथा अन्य कारणले पुग्नुपर्दा धेरैले यही किनारको बाटो जाने गरेको इतिहास देखिएको पनि छ ।
आवतजावत, अर्थात् घुमफिर, अध्ययन र सामानको बेपारका लागि नै मानिस एक ठाउँबाट अर्को ठाउँ जाने गरेको पाइन्छ । यहाँ अलिकति प्रसङ्ग सामानको रहेको छ । तिब्बतको सामान काठमाडौंसम्म आउने र कतिपय तिब्बती वा चिनियाँ बेपारी आप्mनो सामान लिएर वैशाली वा पटनासम्म पनि पुग्ने गरेका थिए । मुख्यगरी वैशालीमा भारतको विभिन्न ठाउँका साथै अन्य देशका बेपारीलाई भेटेर नयाँ सामानहरू खरीद गर्दथे । यसैगरी वैशालीसम्म आउने कतिपय बेपारी सामान बेच्न नेपालतिर जान्थे । यसरी सामान राख्ने ठाउँको विकास भएको हो । सम्भवतः सामान राख्ने, बेच्ने, अदलाबदली गर्ने ठाउँ ‘सामानपुर’ बन्न पुग्यो । बागमती नदीको किनारमा पर्वतभन्दा केही तल, जङ्गलको छेउमा बेपारी तथा उपभोक्ताहरूले सामान किन्ने तथा कान्तिपुरका बेपारीहरूले पनि किनेर लैजाने, सम्भवतः तिब्बती बेपारीहरू पनि जो वसाढसम्म पुग्न सक्दैनथे, सामान किनेर लैजान्थे । गर्मीको समयमा तिब्बती र कान्तिपुरे बेपारीलाई पहाडबाट एक दिन तलको बाटो हिंड्दा सक्ने नसक्ने थाहा हुन्थ्यो अनि फर्किन मन पराउँथे । यसैले यो ठाउँलाई सामानको गढ वा सामानपुर भन्न थालियो । कालान्तरमा यही ‘सामानपुर’ समनपुर हुन पुगेको हो । यसैले वर्तमान समनपुर चाहिं निकै प्राचीन थलो हो । माथि उल्लेख गरिएको महाभारत प्रसङ्गको एक हिस्सा यस ठाउँसित पनि सम्बन्धित छ । यहाँको महादेव मन्दिरभित्रको शिवलिङ्गलाई महाभारतकालसित जोडेर हेरिन्छ । यसै गरी यहाँ बजारमा रहेको एउटा पोखरीलाई पौराणिक र ऐतिहासिक महŒव दिएको छ ।
समनपुरमा फागुन पूर्णिमाको दिन मेला लाग्छ । प्रतीक दैनिकले यस मेलाबारे कम्तीमा २०५४ सालदेखि लेख्दै आएको छ । प्रतीक दैनिकको विचार अहिले यस क्षेत्रमा पुनः स्थापित बन्न पुगेको छ । यहाँ लाग्ने मेला कहिलेदेखि र किन लाग्न थालेको हो ? अहिलेका सर्वसाधारणले पनि सजिलै यसबारे भन्न थालेका छन् । यो ऐतिहासिक मेला हो । यस मेलाको नाम अहिले ‘ऐतिहासिक फागु बैरिया मेला’ हुन गएको छ । ‘फागु’ शब्दलाई हेर्दा अलिकति नेपालीकरण गरिएको हो कि जस्तो पनि लाग्छ । हुन सक्छ । वास्तवमा यो ‘फाग’ मेला होला । फगुआको सामानलाई फाग पनि भनिन्छ । फगुआ भनेको होली हो । होलीको अघिल्लो दिन मेला लाग्ने र होली मान्न तथा मनाउनका लागि आवश्यक सामान जे जे चाहिन्छ, त्यसलाई पनि समग्रमा फाग भन्ने चलन छ । यद्यपि यो शब्द अहिले निकै पातलो भइसकेको छ । अनि यसमा आएको ‘बैरिया’ शब्दले समनपुरको उक्त ठाउँ जहाँ मेला लाग्ने गर्दछ, बयरको बगैंचा रहेको अनुमान सहज हुन्छ । अहिलेसम्म पनि यहाँका स्थानीयले ‘बैरिया’ शब्दका लागि दिने तर्क ‘बयर’सित सम्बन्धित हुने गर्दछ । अनि महŒवपूर्ण कुरो, मधेसको ग्रामीण जीवनमा ऐतिहासिक शब्द ज्यादै कम सुनिन्छ । यस मेलाको नाममा सबैभन्दा अगाडि यही शब्द राखिएको छ । यसले यस मेलाको सम्बन्ध इतिहाससित रहेको छ भन्ने स्पष्ट अनुमान लगाउन सजिलो हुन्छ ।
पौराणिक इतिहासको साक्ष्य एकातिर छ । आधुनिक इतिहासमा पनि समनपुरको महŒवपूर्ण भूमिका रहेको छ । समनपुरमा सन् १८१५ डिसेम्बर ३१ तारिखमा अङ्ग्रेजसित लडाइँ भएको थियो । यहाँको लडाइँ अद्वितीय यस अर्थमा रहेको देखिन्छ कि निहत्था नागरिकले अङ्ग्रेजजस्तो विकसित हातहतियारले सुसज्जित सेनालाई लखेटेका थिए । युद्ध स्थानीयले गरेका थिए । स्थानीयले अङ्ग्रेजलाई धपाएको तीन वा चार दिनपछि मात्र नेपाली सेना समनपुर पुगेको उल्लेख यहाँ रहेको युद्ध स्मारकको शिलापत्रले बोलेको छ । अनि युद्धमा धेरै अङ्ग्रेज हताहत भएका थिए । अङ्ग्रेजी फौजबाट खोसिएका केही हतियारहरू अहिले पनि समनपुरबासीको घरमा भेटिन्छ । एक दुईजनाले नगरपालिकामा उपलब्ध गराएका छन् । यहाँको लडाइँमा खोसिएको तोप पनि निकै लामो समयसम्म नेपाल–भारत बोर्डरको गौरस्थित भन्सार सुरक्षा गार्ड कार्यालयकै आसपास रहेको थियो । माओवादी द्वन्द्व चर्किएपछि त्यसलाई कतै स्थानान्तर गरियो ।
सोही युद्धको विजयको स्मृतिमा हरेक वर्ष फागु बैरिया मेला लाग्दै आएको छ । युद्ध पुसमा भएको थियो तर त्यस बेला सर्वसाधारणसित साधनको अभाव थियो । जब नेपाली सेना समनपुरमा आएर बस्यो तब लडाइँको अवशेष हेर्न गाउँगाउँबाट मानिसहरू आउन थाले । त्यहाँ मेला लाग्यो । व्यापारिक केन्द्र पहिलेदेखि छँदैथियो । झन् धेरै मानिस आउन थाले । फगुआको सामान किनेर लैजान थाले । अनि यसले निरन्तरता पायो ।
गढीमाई नगरपालिकाले केही वर्षदेखि यसलाई फरक किसिमले निरन्तरता दिन खोजेको छ । औपचारिकता दिन खोजेको छ । औपचारिकरूपमा यसलाई मनाउन खोजेको छ तर जनप्रतिनिधिहरूमा भने आप्mनो यस गौरवशाली इतिहासप्रति जागरुकता देखिंदैन । जे होस्, मेलाको नाममा भएपनि ऐतिहासिकता जोडेको छ नगरपालिकाले र यसको उद्घाटनमा भने सामानपुरबाट समनपुर भएको र नेपाल अङ्ग्रेज युद्धको समयदेखि मेला लागिरहेको बताउने गरेको चाहिं सुखद पक्ष हो ।