सान फ्रान्सिस्को, २७ पुस/एएफपी
संयुक्त राज्य अमेरिकामा आँधीका कारण शुक्रवार तीन हजारभन्दा बढी उडान रद्द भएका छन्।
डेल्टा एयरलाइन्सले एटलान्टा अन्तर्राष्ट्रिय एयरपोर्टका सबै पाँचवटा रनवे दुई घण्टाभन्दा बढीका लागि बन्द गरिएको बताएको छ। डेल्टा विमानले पनि इन्जिनमा समस्या आएपछि एटलान्टामा उडान रद्द गर्नुपरेको थियो।
डलास–फोर्ट वर्थ (टेक्सास) र शार्लोट डगलस (उत्तरी क्यारोलिना)का उडानहरू खराब मौसमबाट प्रभावित भएका थिए। फ्लाइटअवेयरका अनुसार दुवै एयरपोर्टमा एक हजार २०० भन्दा बढी उडान रद्द गरिए।
संयुक्त राज्य अमेरिका यस हप्ताको शुरूमा आँधीको चपेटामा परेको थियो। यहाँ कम्तीमा पाँचजनाको ज्यान गएको र सयौं उडान रद्द भएका थिए।
केही ठाउँमा तापक्रम शून्य डिग्री फरेनहाइट (–१८ डिग्री सेल्सियस)भन्दा तल झ–यो र हजारौं मानिस बिजुलीविहीन भए। रासस