अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको दीर्घजीवनको अन्त्यसँगै विश्वले मानवता, मानव अधिकार र शान्तिका लागि समर्पित एउटा अद्वितीय व्यक्तित्व गुमाएको छ । सन् १९७७ देखि १९८१ सम्म राष्ट्रपति रहेका कार्टरले आफ्नो कार्यकालमा अमेरिका र विश्वका लागि उल्लेखनीय काम गरेका थिए । उनको प्रमुख विशेषता मानव अधिकारको प्रवद्र्धन थियो । उनले अमेरिकी विदेश नीति मानव अधिकारमा आधारित हुनुपर्ने कुरामा जोड दिए । शान्तिप्रिय कार्टरले इजरायल र इजिप्टबीचको दशकौं पुरानो विवाद समाप्त गर्न क्याम्प डेभिड शान्ति सम्झौताको मध्यस्थता गरे । यो आज पनि मध्यपूर्व शान्ति प्रक्रियाको आधार मानिन्छ । गहिरो ऊर्जा सङ्कटबाट गुज्रिरहेको अमेरिकालाई ऊर्जा सम्पन्नतातर्फ अग्रसर गराए । ठूलो चुनौती सामना गर्दै उनले पनामा नहर पनामा देशलाई हस्तान्तरण गरे, पर्यावरणीय मुद्दाहरूलाई प्राथमिकता दिए । आणविक हतियार नियन्त्रणका लागि तत्कालीन सोभियत सङ्घसँग सम्झौताका साथै महŒवपूर्ण प्रयासहरू गरे । राष्ट्रपति पदबाट बाहिरिएपछि पनि उनी लक्ष्यमा लागिरहे । मानव अधिकारको संरक्षण, गरीबी निवारण र शान्ति स्थापना जस्ता विषयमा उनी समर्पित थिए । उनको यस योगदानको सम्मानस्वरूप उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
नेपालका लागि कार्टर व्यक्तिगतरूपमा जोडिएका एउटा अभिभावकीय व्यक्तित्व थिए । उनी दुईपटक नेपाल आएका थिए । पहिलोपटक सन् १९८५ मा उनले नेपाल भ्रमण गरेका थिए । त्यस बेला नेपालको प्राकृतिक सौन्दर्य र नागरिक सत्कारले उनलाई गहिरोरूपमा प्रभावित बनायो । त्यसपछि सन् २००७ मा उनी नेपाल आए । मुलुक गणतन्त्र स्थापनाको क्रममा थियो । उक्त भ्रमणमा उनी कार्टर सेन्टरमार्फत शान्ति प्रक्रियामा नेपाललाई सहयोग गर्न आएका थिए । कार्टरले आफ्नो लेख, भाषण र अन्तर्वार्तामा बारम्बार नेपाल उल्लेख गरेका छन् । उनले नेपालको प्राकृतिक सौन्दर्य, यहाँको सांस्कृतिक विविधता र जनभावनालाई उच्च सम्मानका साथ विश्वका ठूला मञ्चहरूमा चर्चा गरेका छन् । विशेषतः नेपालको शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनमा उनले देखाएको चासो नेपालप्रतिको उनको गहिरो लगावको प्रमाण हो । सन् २००७ को भ्रमणका क्रममा उनले नेपालमा राजनीतिक स्थायित्व र शान्ति प्रक्रिया स्थापनाका लागि महŒवपूर्ण सन्देश दिएका थिए । उनले भनेका थिए, “नेपालको परिवर्तनले यहाँको जनताको जीवनमा सकारात्मक प्रभाव पारोस् भन्ने मेरो आशा छ ।” कार्टर सेन्टरले नेपालमा निर्वाचन अनुगमन र द्वन्द्व समाधानमा खेलेको भूमिका आज पनि प्रशंसनीय छ ।
जिम्मी कार्टरको निधन नेपालका लागि अपूरणीय क्षति हो । उनले नेपालप्रति देखाएको सद्भाव र सहयोग सधैं स्मरणीय रहनेछ । नेपालजस्तो सानो देशलाई ठूलो मानवीय मञ्चमा महŒव दिन सक्ने उनको जस्तो क्षमता र रुचि अन्यमा दुर्लभ पाइएला । उनले देखाएको नेतृत्व, मानव अधिकार र शान्तिप्रतिको प्रतिबद्धता तथा गरीबी र अन्यायविरुद्धको अभियान आज विश्वका लागि प्रेरणाको स्रोत हो । कार्टरको जीवनले नेतृत्वको अर्थ सत्तामा सीमित नभएर सेवामा आधारित हुनुपर्छ भन्ने देखाउँछ । नेपालले पनि उनको योगदानबाट पाठ सिक्दै राजनीतिक र सामाजिक प्रणालीलाई सुधार्न प्रेरणा लिन सक्नुपर्छ । नेपालप्रति सद्भाव राख्ने कार्टरजस्ता असल मित्र गुमाउनुको पीडा गहिरो छ ।