प्रस, रौतहट, १२ पुस/
रौतहट जिल्लाको बौद्धिमाई नगरपालिकाका प्रमुख प्रदीप यादवलाई कारबाईको माग गर्दै स्थानीयवासीले शुक्रवार प्रदर्शन गरेका छन् ।
सरमुजवाका स्थानीयले बङ्कुल प्रहरी चौकी घेराउ गर्दै नगरप्रमुख यादवलाई कारबाई गर्नुपर्ने, निर्दोष गङ्गा रामलाई रिहा गर्नुपर्नेलगायतका नाराबाजी गरेका थिए ।
विनासूचना स्थानीयको घर भत्काउन थालेपछि नगरप्रमुख यादवलाई यस अघि स्थानीयवासीले लखेटेका थिए । नगरप्रमुख यादवले प्रहरीलाई दबाब दिएर रामलाई विनाकारण पक्राउ गरेपछि स्थानीय झन् आक्रोशित भएका छन् ।
स्थानीय भगवान पटेलले नगरपालिकाले विनासूचना गुण्डागर्दी शैलीमा जनताको घर भत्काउन खोजेको र सोको विरोध गर्ने गङ्गा रामलाई पक्राउ गर्नु अत्याचार भएको भन्दै प्रहरी र नगरप्रमुखविरुद्ध स्थानीयहरू सडकमा आउन बाध्य भएको बताए ।
नगरप्रमुख यादवको सो कार्यविरुद्ध स्थानीयवासीले प्रतिकार गरेका थिए । नगरवासीको सुरक्षा एवं सम्मानमा योगदान दिनुको सट्टा बदलाको भावनाले जनतालाई उठीबास लगाउन खोजेको नगरप्रमुखमाथि आरोप लगाएका छन् ।
यसबारेमा नगरप्रमुख यादवले राष्ट्रिय योजना आयोगबाट समपूरक बजेट एक करोड ३० लाख निकासा भइआएको र नगरपालिकाबाट एक करोड ३० लाख बजेट विनियोजन भई सडक निर्माणको लागि पटक–पटक अतिक्रमण हटाउन खोजिएको र अटेर गर्दैआएको बताए ।
उनले पछिल्लोपटक मङ्सिर महीनाभित्र अतिक्रमणमा परेका घरधनीहरूले सडकको लागि घर खाली गर्ने प्रतिबद्धता जनाएको तर पुसको दोस्रो सातासम्म पनि खाली नगरिएपछि खाली गराउन खोजिएको बताए । उनले पुस ७ गते अतिक्रमण खाली गराउन सूचना जारी गरेको तर अटेर गरिएपछि सुरक्ष्Fाकर्मीको सहारा लिएर अतिक्रमण खाली गराउन खोजिएको र कसैसँग पूर्वाग्रह नराखिएको बताए । आज अतिक्रमण क्षेत्र खाली गराउने क्रममा स्थानीय र प्रहरीतर्पm केही घाइते भएका छन् ।