प्रस, परवानीपुर, ११ पुस/
पर्साका विभिन्न सरकारी तथा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले ऐनमा भएको सुविधा उपलब्ध गराउन माग गर्दै स्थानीय प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् ।

विनय साह नेतृत्वको स्वास्थ्यकर्मीहरूको टोलीले बिहीवार प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा मेडिकल कलेज तथा निजी स्वास्थ्य संस्थाहरूमा नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिकलगायतमा अन्याय भएकाले यो समस्या समाधान गर्न नेपाल सरकारको सचिवस्तरको बैठकले २०८१/८/२७ गरेको निर्णय पालना गराउन सम्पूर्ण मेडिकल तथा निजी स्वास्थ्य संस्थाहरूलाई पत्राचार भएको उल्लेख छ । नेपाल सरकारले दिएको निर्देशन अवज्ञा गर्दै विभिन्न मेडिकल कलेज तथा निजी स्वास्थ्य संस्थाहरूले सो निर्देशन पालना नगरेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सो निर्देशन कार्यान्वयन गर्न आफूहरूले दबाब सिर्जना गरेकोसमेत स्वास्थ्यकर्मीहरूले बताए ।

मागहरू अविलम्ब पूरा नभए स्वास्थ्यकर्मीहरू आन्दोलन गर्न बाध्य हुनेसमेत चेतावनी दिएको छ । स्वास्थ्यकर्मीहरूका मागहरूमा प्राविधिक तथा अप्राविधिक कर्मचारीहरूको तह मिलान नियमानुसार हुनुपर्ने, अस्पतालमा काम गर्ने सम्पूर्ण कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउनुपर्ने, सार्वजनिक बिदाको नियम लागू हुनुपर्ने, स्वास्थ्य बीमाको व्यवस्था हुनुपर्ने, स्वास्थ्य ऐन अनुसार दरबन्दी सिर्जना, पदपूर्ति र पदोन्नति हुनुपर्नेलगायत रहेका छन् ।

स्वास्थ्यकर्मीहरूको समूहमा पर्साका मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब, अनमी, रेडियोग्राफर, ओटी असिस्टेन्ट, फार्मेसी असिस्टेन्ट, ल्याब असिस्टेन्टलगायतको सहभागिता थियो । सरकारले तोकेकोभन्दा कम पारिश्रमिक दिएर काम गराउने गरेको स्वास्थ्यकर्मीहरूले गुनासो गरेका छन् । स्वास्थ्यकर्मीहरूले आन्दोलनको थालनी ज्ञापनपत्र बुझाएर गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ अर्यालले दुवै पक्षलाई बोलाएर छलफल गराउन पहल गर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here