प्रस, निजगढ, ११ पुुस/
नगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीवारदेखि निजगढमा शुुरू भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं मधेस प्रदेशसभा सदस्य मीना लामाले उद्घाटन गर्दै प्रतियोगितालाई निरन्तरता दिनुुपर्नेमा जोड दिइन् । प्रतियोगिताका बखत मात्र विद्यार्थीहरूलाई खेलमा सहभागी गराउनुुभन्दा विद्यालयले नियमितरूपमा उनीहरूको रुचि अनुसारका खेल गराउनुपर्ने उनको भनाइ थियो । उनले विद्यार्थी जीवन काँचो माटोजस्तै भएकोले विद्यार्थीहरूलाई उनीहरूको चाहना अनुसार आकार दिन सकिने बताइन् । उनले विद्यालयमा पठनपाठनका साथै खेललगायतका अतिरिक्त क्रियाकलाप निरन्तर गरिनुपर्ने सुझाइन् ।

कार्यक्रममा निजगढ नपाका प्रमुख सुुरथ पुुरीले सरकारले प्रत्येक वर्ष स्थानीय पालिकालाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि थोरै रकम पठाउने गरेको गुनासो गरे । उनले विद्यालय औपचारिक शिक्षा दिने ठाउँ मात्र नभएको जिकिर गर्दै औपचारिक शिक्षा दिनका लागि पनि मानसिक र शारीरिक स्वास्थ्य ठीक हुनुपर्ने बताए । उनले निजगढ नपाले गत वर्षको प्रतियोगितामा अभाव महसूस गरी आवश्यक खेल सामग्रीहरू वितरण गरेको बताए । उनले विद्यालयहरूले शैक्षिक क्यालेन्डर बनाइ खेलकूद क्षेत्रलाई पनि अनिवार्यरूपमा समेट्नुपर्ने सुुझाए ।

उपप्रमुख सोममाया थिङले विद्यालयहरूमा पठनपाठनका साथै खेलकूदलगायत अन्य विधाहरूमा पनि विद्यार्थीहरूका रुचि अनुसारका ज्ञान, सीपको विकास गर्दै लैजानुुपर्ने बताइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, अधिकृत अजय उप्रेती, समाजसेवी, बुद्धिजीवीलगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगितामा भलिबल, तेक्वान्दो, कबड्डी, दौडलगायतका २९ विधा रहेको र नपाका नौवटा सामुदायिक विद्यालयका ३५० जना विद्यार्थी सहभागी रहेको शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख उत्तम लामिछानेले जानकारी दिए । निजगढको शहीद हीरालाल रङ्गशाला, सिगौंल र रतनपुुरीमा प्रतियोगिता एकै साथ सञ्चालन भइरहेको छ । कार्यक्रमको सहजीकरण शिक्षक हस्तबहादुुर लामाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here