प्रस, वीरगंज, ५ पुस/
बहुदरमाई नगरपालिकास्थित नेरामावि डोकैला बहुअरीलगायतका विद्यार्थीहरूले नगरपालिका कार्यालयमा तोडफोड, आगजनी गरेर लाखौं मूल्यको क्षति गरेका छन् ।
बहुदरमाई नपा अन्तर्गत सामुदायिक विद्यालयका विद्यार्थीहरूले हिजो बिहीवार दोस्रो त्रैमासिक परीक्षामा विलम्ब भएको भन्दै आन्दोलन गरेका थिए । प्रत्येक तीन महीनामा लिनुपर्ने परीक्षा अन्तर्गत दोस्रो त्रैमासिक परीक्षा शुरू नगरिएको भन्दै उनीहरूले हिजो आन्दोलन गरेको र आज सो विषयमा बिहान १० बजे छलफल राखिएकोमा सो अघि नै विद्यार्थीहरू भेला भएर नगरपालिका कार्यालयमा तोडफोड, आगजनी गरेका थिए ।
नगरप्रमुख सिंगासन साहले विद्यार्थीहरूलाई शिक्षक, कर्मचारीहरूले उचालेर सो कार्य भएको आरोप लगाएका छन् । उनले केही विद्यार्थीहरूले शिक्षकको उक्साहटमा आन्दोलन गरेको र आगजनीको घटना भएको जानकारी दिए ।
विद्यार्थीहरूले नगरपालिकाका विभिन्न कक्षमा रहेका फर्निचरमा आगजनी गरेका थिए । स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफाको कक्षबाहेक अन्य कक्षहरूमा रहेका फर्निचरलगायत सामग्रीमा आगजनी गरिएको छ ।
आजको घटनामा संलग्न रहेको आरोपमा एकजना विद्यार्थीलाई इलाका प्रहरी कार्यालय, पोखरियाले पक्राउ गरेको छ ।
बहुदरमाई नपामा ११ वटा प्रावि, एउटा निमावि र छवटा मावि गरी १८ वटा सामुदायिक विद्यालय छन् । हिजोसम्म एउटा मात्र विद्यालयले दोस्रो त्रैमासिक परीक्षाको सूची प्रकाशन गरेको थियो ।
सो नपामा नगरप्रमुख साह, उपप्रमुख सुषमा कुशवाहा तथा प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफाबीच लामो समयदेखि विवाद रहँदै आएको छ ।
विवादकै कारण गत असार १० गतेसम्म गर्नुपर्ने नगरसभा हुन सकेको थिएन । दशैंपछि कात्तिक ८ गते मात्र नगरसभा भएको थियो । तर सोही क्रममा स्वास्थ्यकर्मीहरूको परीक्षाको नतीजा सार्वजनिक गरिएपछि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच द्वन्द्व बढेको थियो ।
नगरप्रमुखको चाहनाविपरीत परीक्षाको नतीजा प्रकाशन भएपछि उनले नगरसभाको विवरण प्रमाणीकरण गरेर सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा अहिलेसम्म पठाएका छैनन् । जसले गर्दा बहुदरमाई नपाको खाता सञ्चालनमा आउन सकेको छैन र त्यहाँ आर्थिक कारोबार हुन सकेको छैन ।
शिक्ष्Fक, कर्मचारीले तलब पाएका छैनन् । ठेकेदारले भुक्तानी पाउन सकेका छैनन् । विकास निर्माणको कार्य आर्थिक गतिविधि नहुँदा ठप्प छ । नगरप्रमुख साहले प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गराउन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले चाँडै काम गर्ने बताए । उनले प्रमुख प्रशासकीय अधिकृतले प्रतिकूल कार्य गरिरहेको आरोप लगाए । प्रमुख प्रशासकीय अधिकृत मुस्तुफाको भने मोबाइल अफ छ ।