• डा शिवशङ्कर यादव

बसवरियाको सुखराती महतोको पुस्तैनी १० बिघा खेत थियो । घरमा सुनयना नामकी पत्नी, सुगिया बेटी र परदेसिया नामको एक छोरा थियो । परिवार सानो थियो । परदेसियाको विवाह भएपछि एउटा सदस्य थपिए पनि सुगियाको विवाहपछि पारिवारिक सङ्ख्या यथावत् रह्यो । परदेसिया त्यसो त निठल्ला थियो । तर जसको १० बिघा खेत हुन्छ, त्यसको छोरालाई निठल्ला भनिंदैन । मूर्खभन्दा मूर्ख मान्छेले पनि पुस्तान्तरणले पाएको खेतीपातीको सीपलाई पूरा जानेको हुन्छ । निठल्ला जस्तो शब्द नोकरीको सन्दर्भमा बनेको हुनुपर्छ । बसवरिया गाउँ पसाहा नदीको किनारमा बसेको थियो । जुन पसाहा नदी खेतीपातीको लागि वरदान थियो, त्यही एक दिन अभिशाप बन्यो । एक दिन त्यसमा यति ठूलो बाढी आयो कि त्यस्तो बाढी त बितेको सय वर्षमा पनि कसैले हेरेको थिएन । वर्षात् पनि यस्तो कि सुखरातीको आधा मतलब पाँच बिघा खेत नदीमा समायो । कहिले नदेखेको वर्षात् भएको थियो ।

बाढीपछि अनिकाल पर्नु नै थियो, प-यो । अनिकालको मारले सुखरातीले बतहु साहुबाट ऋण लियो, जुन बाँकी बचेको सुखरातीको खेत दिए पनि खत्म भएन । अब छोरा परदेसियाले पञ्जाबबाट कमाएर ल्याएपछि मात्र परिवार चल्न सक्ने स्थिति आयो । परदेसिया पञ्जाबमा पैसा कमाउनुका साथै अलिकति नेतागिरी पनि जानेर आयो । त्यसै बेला भूमिसुधार आयो र सुखरातीको बाँकी एक/डेढ बिघा खेत बच्यो । तर बच्न सकेको कथा बडो पीडादायक छ ।

एक दिन सुखरातीले छोरालाई बोलाउँदै भन्यो– ए बाबु, यता आउ त । हेर त पश्चिम सरेहमा कस्तो राताराता पतरखा देखा परिरहेका छन् ? अब कुन आपत् आउन बाँकी छ ? आधा खेत त पसाहाले बग्यो । आधा बतहु काकाले खाए, उनी आफ्नै नातेदार र रगत थिए । भूमिसुधारले गर्दा केही खेत मात्र बाँकी छ । त्यसमा पनि कसको नजर लाग्यो ? परदेसियाले आफ्नो एक गाउँले मित्रसँग कुरा गरिरहेको थियो । केही दिन पञ्जाबमा बसेर भर्खर घर आएको थियो । ऊ साथीसँग कुरा गर्दै गाउँको बाहिर रहेको खलियान तिर गएर हे¥यो । सबैका सबै सरेह नै राताराता पतरखामय भएको थियो । गाउँका केही व्यक्तिले नजीकसम्म गएर हेरे । दूरबीनले नापी भइरहेको र पतरखा गाडिइरहेको थियो । खोजबीन गर्दा सरकारले यहाँ सडक बनाइरहेको छ । त्यस सडकमा सुखरातीको बाँकी खेत पनि स्वाहा हुनेवाला थियो । पञ्जाबबाट फर्केपछि परदेसियाले अलि फुर्तिफार्ती गर्न सिकिसकेको थियो । ऊ दुई/चार गाउँका साथीसँग त्यस इलाकाका ठूला नेता त्रिपुरारीबाबूकहाँ गयो । नेताहरूको काम जनताको सुख–दुःखमा सामेल हुने नै त हो । तर त्रिपुरारीबाबूसँग यस सडकलाई बनाउनबाट रोक्न सक्ने शक्ति थिएन । उनको दुःख यतिमात्र थियो कि यस सडकको ढाँचा बनाउनेबारे उनीसँग सोधिएको थिएन र साथै उनले त्यसमा एक पैसा पनि पाएका थिएनन् । असली नेता भएको त्रिपुरारीबाबूले परदेसियाको पिठ्यूँमा धाप दिएर उक्साए– नौजवान छौ, आन्दोलन गर । गाउँका जनतालाई एकत्रित गर । बाँकीको काम म
गर्छु ।

परदेसिया गाउँलेहरूलाई एकत्रित गर्ने काममा लाग्यो । तय भयो कि जुन दिन सडकको शिलान्यास गर्न सरकारी मानिसहरू आउनेछन्, त्यस दिन त्यहाँ गएर सम्पूर्ण गाउँलेले विरोध जुलूस लिएर प्रदर्शन गर्नेछन् । पञ्चायती व्यवस्था थियो । त्यस्तो विरोध र आन्दोलनको बारेमा मान्छे सोच्न पनि सक्दैनथे । सुखरातीले सोच्यो कि कसरी त्रिपुरारीबाबूले छोरालाई उक्साइदिए ? गोलीगठ्ठा चल्न पनि बेर लाग्दैन । रगत बग्यो भने जमीन त जान्छ नै कहीं छोरा पनि गुमाउनु
नपरोस् ।

सुखराती रातमा परदेसियाको कोठामा गयो, जहाँ ऊ सुत्ने तरखरमा थियो । सुखराती चाहन्न थियो कि उनको छोराले यी सबै काम गरोस् । सुखरातीले छोरोको हात समाएर रसाएको आँखाले भन्यो– हेर छोरा आधा खेत पसाहाले लग्यो । बाँकी बचेकोमा आधा बतहु काकाको ऋणले लग्यो । बतहु काकाको नजर बाँकी बचेको खेतमा पनि परिसकेको थियो । ऋण अहिले पनि बाँकी नै छ । ऋण खाने काम बडो अनौठो हुन्छ । कहिले पनि समाप्त नहुने र बढ्दै जाने । त्यसको ब्याज बढ्दै गएकोले अर्को वर्ष बाँकी खेत पनि जानेवाला थियो । त्यसै बेला भूमिसुधार कानून आयो । कसैले कसैलाई ऋण दिनेछैन, लिएको ऋण फर्काउनुपर्दैन । मैले बतहु काकालाई भनेको थिएँ कि खेत सोधभर्ना लेख्नुस् ताकि कुनै दिन छोराले कमाएर छोडाउन पाओस् । तर यही त बतहु काकालाई चाहिएको थिएन । उनलाई चाहिएको थियो, सुक्रीबिक्री । झक मारेर सुक्रीबिक्री लेख्नै पथ्र्यो । तिम्रो आमालाई यो अत्याचार सह्य थिएन । मसँग झगडा गर्न थाल्थिन् । अतः ऊ माइत गएको मौका छोपी सुक्रीबिक्री लेख्नुपथ्र्यो । तिम्रो आमासँग बतहु काका पनि डराउँथे । बाँकी बचेको बेला भूमिसुधार कानून आयो । त्यसपछि बतहु काकाले भन्न थाले ‘अरे सारा ऋण खाएर अरूले पचाइहाले, अब सुखरातीबाट के लिने ? आफ्नै रगत त हो’ । उनले जुन आसामीलाई समात्छन्, उसलाई उजाडेर नै छोड्थे । चइतर काकाको घडारीसम्म खाइहाले । जब झक्कडको घडारीसम्म लिए, तब बेचारा ससुरालीमा गएर त्यहीं मेहनत मजदूरी गर्न थाल्यो । बतहु काकाले भने कि सुखराती त आफ्नै रगत हो । यो सुनेर म आफ्नो रगत पिएर बस्थे । सुक्रीबिक्री लेखाउने बेलामा उनको रगत थिइन । जब कानून बन्यो म उनको रगत भइहाले । मनमा आयो कि म उनलाई जवाब दिउँ । तर मैले बतहु काकालाई राम्ररी चिनेको छु । उनी त खाली मेरो मुखबाट केही कुरा सुन्न चाहन्थे कि कानून बनेपछि मेरो मनमा के चलिरहेको छ ? तर बाबु मेरो मनमा के चल्छ र ? म त मरि सकेको छु । एक दिन म उनको घरमा गए । एउटा धोती लगाइदिएर माफी मागें– बतहु काका सात जन्ममा पनि मैले तपाईंको ऋण चुक्ता गर्न सक्दिनँ । म र मेरो छोरा पनि त तपाईंकै रगत हो । मलाई माथि उठ्न दिनुस् । र उनले ऋण माफी गरे । भन्न थाले कि दुनियाँमा मानिस कोही छ भने त्यो सुखराती नै छ । तर सुखरातीको दुर्दशा सुखरातीलाई नै थाहा छ । छोरा मेरो जीवनभरिको अनुभव छ । कसैले पनि तिम्रो साथ दिनेछैन । त्रिपुरारीबाबूले पनि । तिमीले यो आन्दोलन सान्दोलन नगर । बुबाको स्नेही भाषणले छोरा पगलियो । उसले भन्यो– बुबा एकचोटि कोशिश गर्नमा के जान्छ र ? कहीं केही सकारात्मक परिणाम देखिन्छ कि । बुबाले भन्यो– केही देखिंदैन । गर्नु छ भने गर तर ज्यान बचाएर, तिमी मेरो एक्लो छोरा हौं ।

अर्को दिन गाउँलेको मीटिङ भयो । त्यसमा त्रिपुरारीबाबू आएनन् । गाउँलेहरू सशङ्कित भए । कसैले भन्यो– त्रिपुरारीबाबूले आफ्नो हिस्सा पाइसकेका छन् । गाउँलेहरू झन् सशङ्कित भए । तापनि तय भयो कि शिलान्यासको दिन हामी विरोधमा जानेछौं । एक दिन शिलान्यास गर्न दलबलसहित अञ्चलाधीश आए । गाउँलेहरूमा १० जना मात्र विरोध प्रदर्शनमा गए । बाँकी दुलोमा पसे । अञ्चलाधीशले भाषण गरिरहेका थिए । त्यहाँ पुगेर जसरी अञ्चलाधीशले भाषण समाप्त गरे, परदेसिया अचानक गएर माइकलाई समातेर अर्को वक्तालाई आउन दिएन । परदेसियाले भन्न थाल्यो– हामीले सुनेका थियौं कि कोही गाँजा अफिमको तस्करी गर्छ । तर हाम्रो खेतको पनि कसैले तस्करी गर्छ, यो सुनेका थिएनौं । तर आज त खुलेआम हाम्रो जमीनको तस्करी पनि देख्नुप¥यो । त्यो पनि सरकारी मान्छेहरूबाट जो हाम्रा रक्षक हुन्छन् । यति के सुनेका थिए, अञ्चलाधीशको कन्सुरीको रौं तात्यो । उनले प्रहरीलाई इशारा गरे । हल्ला मच्यो । प्रहरीले डन्डा वर्षाउन थाल्यो । प्रहरीले परदेसियालाई समातेर भ्यानमा बसायो र कुट्दै खोरमा पु¥यायो । बाँकी विरोध गर्नेहरू कुलेलम ठोके । शिलान्यासको पाँच दिनपछि प्रहरीले परदेसियालाई छाडिदियो । उसको हुलिया पञ्चायती व्यवस्था र प्रहरी बरबर्ताको नमूना बनेको थियो । सुखरातीलाई यसैमा खुशी थियो कि छोराको ज्यान बच्यो ।

परदेसियाको हुलिया ठीक भएपछि उसले पञ्जाब जाने विचार ग¥यो । तर फेरि सोच्यो कि अब त हामी सुकुमबासी भइसकेका छौं । पञ्जाबको पैसाले मात्र घरखर्च चल्दैन । उसले मलेशिया जाने निधो ग¥यो र गयो । त्यहाँ जानको लागि पनि सुखरातीलाई बतहु काकाबाहेक अर्को केही सहारा थिएन । तर बतहु काकाले यसपटक ऋण दिन मानेनन् । सुखरातीले बिन्ती गरे कि मसँग लेखाउनको लागि अब खेत छैन । तर छोरा त्यहाँ जुन पैसा कमाउनेछ, पहिले तपाईंको ऋण नै चुक्ता गर्नेछु । सुखराती उनको खुट्टा नै समातेर रुन थाल्यो । उसको आँसुले कम र पैसा चुक्ता हुने सम्भावनाले बढी बतहु काका स्वीकारको भङ्गिमामा आए । उनले सुखरातीलाई उठाएर भने– उठ कायर, मेरो भतिजले यसरी रुन सुहाउँदैन । परदेसिया मेरो पनि त रगत हो । बतहु काकाले दिएको एक लाख रुपैयाँ सुखरातीले छोरालाई दियो । परदेसियाले तीन वर्षमा पनि ऋण चुक्ता गर्न सकेन । बतहु काका मुर्मुरिएर बसे । तीन वर्षपछि परदेसियाको लाश कफीनमा बन्द भएर आयो । लाश गाउँमा पुगेपछि सुखराती उभिएकै अवस्थामा नै बेहोश भयो । जब होशमा आयो, तब बतहु काकाले उसको हातमा पाँच सय रुपैयाँ थमाएर भने– जाऊ कात्रो किनेर परदेसियाको सदगत गर । कात्रो र सद्गतिको लागि बतहु काका बडो उदार देखिए । अब के गर्न सकिन्छ ? सुखराती त सुकुमबासी हो । आफ्नै रगत हो । सुकुमबासी रगत अब बतहु काकाको खेतमा वफादार मजदूरको राम्रो रूपको निर्वाह गर्न थाल्यो । बतहु काकाले उसलाई शहर रिक्शा चलाउनको लागि जान दिएनन् । बूढो भइसक्यो रिक्शा तान्न सक्दैनौ । तेरो स्वास्नीले दिनभरिमा एक कट्ठा खेत पनि रोप्न सक्दिन भने आधा रोपाइँ गरिदिए पनि मैले केही भन्नेछैन । सुखराती बहु मेरो पनि बुहारी हो । खाली मेरो सेवा मात्र गरिदेओस् बस् । सुखरातीले बतहु काकातिर अचानक नजर उठाएर हे¥यो । सुखराती यस सत्यबाट राम्रोसित परिचित थियो । तर बूढो शरीर झट्कारेर रिक्शा चलाउन जान सकेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here