आस्थालाई अन्धविश्वास वा भ्रम जे आरोप लगाए पनि यसलाई कुनै न कुनै रूपमा सबैले मानेको पाइन्छ । यदि कसैले आफूलाई विज्ञान वा वैज्ञानिक तथ्य तथा तर्कलाई मात्र मान्ने गरेको भन्छन् भने पनि त्यो विज्ञानमाथिको आस्था हो । विज्ञानमाथिको अन्धविश्वास पनि हो । आफूले परीक्षण नगरी गरिने सबै विश्वासलाई अन्धविश्वास वा आस्था नै मान्न सकिन्छ । यसैले कतिपय कुन विचार त कतिपय कुन सिद्धान्तप्रति आस्थावान् रहेको बताउने गरेका छन् । यही आस्था कुनै प्रत्यक्ष (वा दिवङ्गत) व्यक्तिमाथि हुँदाको अवस्थामा वा कथित काल्पनिक व्यक्ति (देवीदेवता)माथि हुँदाको अवस्थालाई श्रद्धा भन्न पुग्छौं । श्रद्धा वा आस्थालाई अन्धविश्वास पनि भन्न नसकिने होइन तर यो कुनै एक क्षेत्रमा मात्र हुन्छ भन्ने होइन, सबै क्षेत्रमा हुने रहेछ ।
वीरगंजबाट एक स्वास्थ्यकर्मी आवश्यकता अनुसार रौतहटस्थित आफ्नो घर नियमितजसो आउने जाने गर्दा रहेछन् । उक्त स्वास्थ्यकर्मीको हरेक चाडपर्व आफ्नो घरमैं मनाइने भएकोले आवश्यकता पर्नासाथ बेलाकुबेला मोटरसाइकलमा घर आउने तथा वीरगंजमा पनि आवश्यकता पर्नासाथ बेलाकुबेला घरबाट जानुपर्ने रहेछ । एक/दुई पटक सामान्य दुर्घटना पनि भएछ । अनि घरका मान्यजनले गढीमाईलाई भाकल गरेछन्– तपाईंकै शरण छन्, अबेरसबेर, रातबिरात बाटो हिंडिरहनुपर्ने हुन्छ, स्वास्थ्यकर्मी हो, अरूको ख्याल गर्नुपर्ने र घरपरिवार पनि हेर्नुपर्ने हो, यसैले कृपया सुरक्षा गर्नुहोला, उचित समयमा बोका बलि दिऔंला । त्यसपछि कहिल्यै दुर्घटनाको सामना गर्नुपरेनछ रे ।
रातमा धेरै डराउने, जीउमा घाउखटिरा आइरहने एक बालकका हजुरबाको अनुभूतिमा विभिन्न ठाउँका अस्पताल र चिकित्सककहाँ धाएर हैरानी भोग्नुपरेको थियो । हजुरबा उच्च शिक्षित र धामीझाँक्रीभन्दा बढी विश्वास गर्ने थिए विज्ञानमा । चिकित्सकको सिफारिश बमोजिमको परीक्षण र औषधि खरीद तथा स्याहारमा कुनै कमी गरेका थिएनन् । एक दिन सडक भएर उनी कतै गइरहेका थिए । अचानक गाडी बन्द हुन्छ । उनी बाइकमा सवार थिए । त्यहाँ सडकछेउमा एउटा सानो मन्दिर थियो । उनलाई एक अपरिचित व्यक्ति, सम्भवतः त्यस मन्दिरसित सम्बन्धित वृद्ध थिए । उनलाई वृद्धले अचानक भने– तिम्रो नातिको समस्या यहाँ समाधान हुन्छ, यदि तिमी सवा एक किलो लड्डु चढाउने भाकल गर्छौं भने । अवाक भएका हजुरबाले हुन्छ भनेर तत्काल ढोगे र भाकल गरी मोटरसाइकल स्टार्ट गरे । अचानक आफैं बन्द बाइकमा पनि कुनै समस्या देखिएन । कालान्तरमा रोग निको भयो ।
अर्को शिक्षित परिवारको कथा । राम्रै पदमा सम्मानपूर्ण जिन्दगी व्यतीत गरिरहेको उक्त शिक्षित परिवारको खेत नदीको बगरमा छ । एकै ठाउँमा अढाई/तीन बिघा खेत छ । खेतमा जङ्गली जनावर तथा राँगा र साँढेले धेरै दुःख दिएको अवस्था । धेरै नै नोक्सान गरिरहेकोले सबै पीडित । अनि आमाले एउटा भाकल गर्नुभयो– मेरो खेतको रेखदेख गरिदिनू, धेरै नाश भइरहेको छ । म बोका बलि दिन्छु । जुन देउताप्रति त्यहाँ स्थानीयको विश्वास छ, सोही देउतालाई बोका बलि दिने वचन दिएपछि बालीको नोक्सान रोकिन्छ ।
एउटा कुरो सपनाको । यही गढीमाई मेलाको क्रममा एक महिला आफ्नी दिदीको घरमा गइन् । राति बास बसिन् । पति र छोरा पनि सँगै थिए । राति सपनामा एक राँगोले लखेट्न थाल्यो महिलालाई । असिनपसिन भइन् । राँगोले मार्नै खोज्यो । अति भयातुर अवस्थामा निद्रा खुल्यो महिलाको । महिलामा कहिल्यै नभएको डर थियो । डरले काम्दै गरेको अवस्थामा पनि एक छिन आफूलाई शान्त राखिन् । अनि त्यसपछि डरले निद्रा लागेन वा सुत्न सकिनन् । अरूको निद्रा किन बिगार्नु भनेर कसैलाई भनिनन् तर जब उज्यालो भयो, तब उक्त कुरा बताइन् । अनि सबैले भन्न थाले, पहिले कुनै भाकल गरेको हुनुपर्छ । अहिले पूजा आइसक्यो र भाकलको सम्झना छैन । भाकल त पूरा गर्नुपर्छ । यहाँको यो मान्यता हो कि जसले कहिल्यै भाकल गरेको होस्, पूजाको समयमा पूरा गर्नलाई अवसर प्रदान गरिन्छ । अनि धेरै सम्झने प्रयास गरेपछि आफ्नो खुट्टा भाँचिएको अवस्थामा अलिकति निको हुन थालेपछि गढीमाई मन्दिरमा पुगेर लड्डु चढाउने भाकल गरेको कुरो याद भयो ।
देउता नमान्न पनि पाइन्छ तर देउता मान्नै हुँदैन भन्न चाहिं पाइँदैन । आफूलाई लागेको विचार मान्ने स्वतन्त्रता हुनुपर्छ । यो विचार मान्नु पनि आस्था हो र आस्थामाथि धेरै किसिमले बन्देज सम्भव छैन । मलाई कुन खानेकुरा मनपर्छ र मलाई कुन खानेकुरा जुर्छ, यो फरक सन्दर्भ हुन सक्छ । मन पर्नु, रुच्नु र पच्नु तथा जुर्नुमा समन्वय भएर मात्र कसैलाई प्रिय भोजन हुन सक्छ । अर्काको भान्सामा किन खानेकुरा पाक्यो भनेर सोध्नु उचित हुँदैन । अनि कसले कसरी आस्था वृद्धि गर्न सक्छ वा कसरी आस्था घटाउन सक्छ, यस विषयमा अध्ययन गर्न सकिन्छ तर आस्था किन भयो र आस्था कहाँबाट आयो भन्ने प्रश्न गर्नु उचित हुँदैन । प्रश्नको अर्थ जिज्ञासा हो, जान्न चाहने इच्छा भने त ठीकै मान्नुपर्छ हैन भने प्रश्नको अर्थ यदि कसैलाई होच्याउनु हो वा हप्काउनु हो वा अपमानित गर्नु हो वा डराउनु हो भने प्रश्नलाई ठीक मान्न सकिंदैन । प्रश्नको पनि नियत हेर्नुपर्छ । हो, मानिसको आस्था परिवर्तनशील छ । आस्थाका आधार जब भत्किन्छ तर कुनै पर्खालभित्र कसैको आस्था कैद भएर बस्न सक्दैन । कैयौं परिवारले देउता परिवर्तन गरेका छन्, धर्म परिवर्तन गरेको छ र आफ्नो जात पनि बदलेको छ । यदि कसैलाई यसमा सन्तुष्टि हुन्छ भने ठीक छ । यत्ति हुनुपर्छ कि देशको नियम, कानून र समाजको सामाजिक स्थितिमाथि धावा बोल्ने काम नहोओस् । कानून र रीतिरिवाजलाई पनि मान्नु उचित हुन्छ । सबैले कानूनको पूर्ण पालना गर्नुपर्छ ।
मानिस भावनाप्रधान प्राणी हो । मानिसमा रहेको मनोविज्ञान निकै बलियो हुन्छ । मनोविज्ञानले मानेमा ढुङ्गामा देउता देखिन्छ र नजीकैको छिमेकीसित यदि राम्रो सम्बन्ध छैन भने जीवनभर केही पनि नभन्न पनि सक्छ । बरु ढुङ्गोसित कुरो गर्ला तर त्यस प्रकारको मानिससित कुरो गर्दैन । मेरो निजी मान्यता के छ भने मानिसभन्दा ठूलो अरू केही पनि हुनुहुँदैन । यसमा मानिसलाई उसको मानसिक तथा हार्दिक स्वतन्त्रता त्यहाँसम्म हुनुपर्ने निहित छ, जहाँ उसले अरूलाई कुनै कानून र सांस्कृतिक परिवेशलाई उल्लङ्घन गरिरहेको हुँदैन । यही मनोविज्ञानले उमार्ने आस्था हो र विश्वास हो । मानिसलाई जब कुनै समयमा लाग्छ कि कुनै मानिसमाथि कुनै निश्चित कामको लागि भरोसा छैन, विश्वास छैन, तब उसले आफ्नो कुरो सुनाउनको लागि एक अभौतिक वा अलौकिक तŒवलाई चुन्छ । बडो आरामले आफ्नो गुनासो सुनाउँछ र त्यहाँ उसको गुनासो सम्बोधन भएको अनुभूति गर्छ, मान्छ । जब मानिसले सन्तुष्टि प्राप्त गर्छ, तब ऊ खुशी हुनु स्वाभाविक हो । अनि सन्तुष्टि प्राप्त भएपछि उसले गरेको वाचा पूरा गर्छ । आस्थामा एक किसिमले अघोषित सम्झौता हुन्छ, शर्तहरू हुन्छन् । एकले शर्त पालन गरेपछि अर्कोले पनि शर्तलाई पूरा गर्नुपर्ने नैतिक दायित्व ठहर्छ । शायद यही आस्थाले भीड जम्मा गर्छ । जब समान आस्था हुनेहरू वा आस्था मिल्नेहरू एक ठाउँमा जम्मा हुन्छन्, तब भीड हुन्छ र सबैले मिलेर कुनै एक दिन सन्तुष्टि प्रकट गर्छन्, तब पर्व वा संस्कृति निर्माण हुन पुग्छ ।
अहिले धेरै चाडपर्वमा मानिसहरूको सहभागिता निकै बढ्न थालेको छ । यसका धेरै कारण छन् । मानिसका लागि उसको पर्व वा संस्कृति सुगम भएको छ । सजिलो तरीकाले मान्न सम्भव भएको छ । अर्को कारण हो, सहजता । सर्वसाधारणले सबै कुरो सहज प्राप्त गरिरहेका छन्, यदि हातमा रकम छ भने । बजारसित सबै पर्व जोडिएका छन् । अनि अरूलाई देखाउन चाहने प्रवृत्ति हाबी हुँदै गएको छ । यसले गर्दा म पनि के कुरामा कम भन्ने भाव भरिएको छ । यी सबैको समुच्च्य दृश्यमा देखिन्छ कि आस्थासित जोडिएको गतिविधिमा धेरै विस्तार भइरहेको छ । जुन समाजमा जसको बाहुल्य छ, उसको आस्थासित जोडिएको कुरामा निकै चहलपहल बढ्न थाल्छ । अनि आस्थाको मापन गर्न मुश्किल हुन्छ । कुन चाहिं निर्देशित आस्था हो र कसरी अभ्यन्तदेखि आस्था निस्सृत भइरहेको छ भन्ने छुट्याउन ।