• श्रीमन्नारायण

प्रत्येक तीन वर्षमा एकपटक हुने नेपाल पत्रकार महासङ्घको निर्वाचन आन्तरिक विवादका कारण निर्धारित समयभन्दा आठ महीना ढिलो हुँदैछ। आज नै देशभरिका पत्रकारहरूको निर्वाचन हुँदैछ। सम्भवतः पहिलोपटक नेपालका पत्रकारहरूले पार्टीको ह्वीपलाई नमानी स्वतन्त्ररूपमा पनि मतदान गर्ने अवस्था देखिएको छ। नेपाली काङ्ग्रेसनिकट नेपाल प्रेस युनियन तथा नेकपा एमालेनिकट प्रेस चौतारीले केन्द्रीय सरकारको गठबन्धनकै शैलीमा पत्रकारहरूको निर्वाचनमा पनि जाने सहमति गरेर संयुक्तरूपमा चुनावमा होमिएका हुन्। नेपालका अधिकांश पत्रकार नेपाली काङ्ग्रेसनिकटको 

नेपाल प्रेस युनियन तथा नेकपा एमालेनिकटको प्रेस चौतारीसँग आबद्ध रहेका कारण सबैले निर्वाचनमा जाने अनुमति अथवा अवसर पाउन सकेका छैनन्। यसको प्रत्यक्ष प्रभाव केन्द्र, प्रदेश र जिल्लाहरूका प्यानलमा पनि देखिएको छ। निर्वाचनमा क्रस भोटिङ हुने सम्भावना पनि धेरै छ। तसर्थ प्यानल नै चुनाव जितेर आउने सम्भावना देखिंदैन।

नेपाल पत्रकार महासङ्घको मर्यादालाई कायम राख्न यसप्रतिको विश्वासमा आएको कमीलाई पुनः आर्जन गर्नु र नेतृत्वमा पुगेकाले आफूप्रति अन्धभक्ति देखाउन नचाहनेलाई शत्रु कित्तामा राखी तिनलाई सदस्यता नै नदिने, तिनको नवीकरण नै नगर्ने र पर्याप्त कारणविना संस्थाबाट फाल्ने कामले अब स्थान नपाउने परिस्थितिको निर्माण गर्नुपर्ने महत्ती चुनौती नयाँ नेतृत्वको काँधमा रहनेछ। नेपाल पत्रकार महासङ्घले कसैलाई जागीर दिंदैन, कसैको घरपरिवारको पालनपोषण पनि गरिरहेको हुँदैन, न त निरन्तररूपमा आर्थिक सहायता दिने तथा ऋण प्रवाह गर्ने निकाय हो। नेपालका पत्रकारहरूको यो छाता सङ्गठन हो। देशभरिमा नेपाली पत्रकारहरूको अनेकौं सङ्गठन छन्। नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, प्रगतिशील जनता पार्टी, राप्रपा, आदिवासी–जनजाति, मधेसी, दलित, मुसलमान, महिला आदिहरूका पनि छुट्टाछुट्टै पत्रकार सङ्गठन अस्तित्वमा छन्। चुनावको बेलामा राजनीतिक दलको प्रचारप्रसार समितिमा बस्ने, पार्टीको झन्डा बोकेर भोट पनि माग्ने काम पत्रकारहरूबाट भइआएका छन् र आगामी दिनमा पनि हुने नै छ। तथापि सम्पूण पत्रकारको सिङ्गो सङ्गठन भनेकै नेपाल पत्रकार महासङ्घ नै हो। यो नेपालका पत्रकारहरूको अभिभावक हो भन्दा अतिशयोक्ति नहोला। तसर्थ पनि नेपालका सबै पत्रकार यस संस्थामा आबद्ध हुन चाहन्छन्। यस संस्थामा आबद्ध हुन चाहनेहरूको मार्ग खुला गरिनुपर्छ। सदस्यता प्राप्त गर्न न्यूनतम शर्तहरू केही थपघट गर्नुपर्ने अवस्था छ भने, त्यो गर्नुपर्छ। तर पत्रकारिताको धर्म, मर्म र कर्तव्यसित सम्झौता गर्नुहुँदैन। एउटा पत्रकारको गलत कृत्यले पनि देशभरिका पत्रकारहरू कलङ्कित हुन पुग्छन्। बदनाम हुन पुग्छन्। पत्रकारिताको मर्यादालाई कायम राख्ने दायित्व र जिम्मेवारी केवल नयाँ पत्रकारहरूको मात्रै हुँदैन, पुराना पत्रकारहरूको पनि हो, सबैको एकनास हो। 

यसपटकको निर्वाचनमा केन्द्रदेखि नै प्यानलबाजीको जाल च्यातिएको छ। प्रेस युनियन र प्रेस चौतारीको त एउटा घोषित प्यानल छ नै त्यसमा अटाउन नसकेकाहरू साझा प्यानलमा पनि स्थान पाउन भ्याएका छन्। नयाँ प्यानल बनाएका छन्। जिल्लास्तरमा त यो प्यानलबाजी छताछुल्ल नै भएको अवस्था छ। निर्वाचन परिणामहरू अनपेक्षित पनि आउन सक्छन्। नेपाल पत्रकार महासङ्घको चुनावमा पनि भोटको खरीद र बिक्री हुने गर्छ। खास गरीकन स्वतन्त्र उम्मेदवारहरूले यस्तो काम गर्छन्। नेपालमा जति दैनिक समाचारपत्र, अनलाइन र साप्ताहिक समाचारपत्रहरू छन्, त्यति भरसक भारतजस्तो विशाल देशमा पनि छैन होला। भारतमा भएपनि दक्षिण एशियाका अन्य देशहरूमा त अवश्य पनि छैनन्। च्याउझैं खुलेका यस्ता सञ्चारमाध्यमहरू आखिर कसरी टिकेका छन् ? जथाभावी अस्तित्वमा आएका यस्ता सञ्चारमाध्यमहरूको बाढीलाई रोक्न सकिएन भने स्तरीय समाचार र पत्रकारिताको अपेक्षा गर्नु गलत हुनेछ। नेपालमा पत्रपत्रिकाहरू कति बढी सङ्ख्यामा प्रकाशन–प्रसारणमा छन् भन्दा पनि महत्वपूर्ण कुरा हो यसको गुणस्तर कस्तो छ ? यसले निर्धारित मापदण्डको कति पालना गरेको छ, जनताको कति विश्वास जितेको छ ? भन्ने कुरा महत्वपूर्ण हो। सङ्ख्यामा होइन, यसको गुणस्तरमा जानु आवश्यक छ। समाचारपत्रको नाम पढ्ने बित्तिकै त्यसलाई छुन पनि नचाहने पाठकहरूको विश्वासलाई जित्ने काम त सञ्चारमाध्यमकै हो। यसको मेरुदण्ड मानिएका पत्रकारहरूको हो। पत्रकारहरूले आफ्नो छविलाई कायम राखेमा मात्रै सञ्चारमाध्यमको छवि पनि चम्किलो रहनेछ। 

नेपालका पत्रकारहरूको छाता सङ्गठनको रूपमा नेपाल पत्रकार महासङ्घलाई घोषित मान्यताप्राप्त छ तर राजनीतिक आस्थाको प्रभाव समयसमयमा देखा परेका छन्। केन्द्रीय नेतृत्वमा पुगेकाहरू आफू सम्बद्ध राजनीतिक दलनिकटका पत्रकारहरूप्रति बढी उदार साबित भएका छन्। यसको असर नेपाल पत्रकार महासङ्घको सदस्यता नवीकरणमा पनि देखिएको छ। नेपाल पत्रकार महासङ्घको केन्द्रीय नेतृत्व यसपटक जति बढी विवादमा आयो, त्यति बढी विवादमा विगतमा आएको उदाहरण छैन। सदस्यता नवीकरणको औचित्य साबित नहुँदा पनि आफ्ना सामर्थकहरूको भीड (मतदाता सङ्ख्या) बढाउन र विरोधीहरूलाई सिध्याउन कथित शुद्धीकरणरूपी अस्त्रको प्रयोग गरी एक किसिमले नेपाल पत्रकार महासङ्घमा कोतपर्व नै गरियो। पत्रकारहरूको सङ्गठनलाई राजनीतिक दल ठान्ने काम हुनुहुँदैनथ्यो। 

यस घटनाको प्रतिक्रिया पनि हुनु स्वाभाविक नै थियो। देशभरिका जिल्ला शाखाहरूमा तालाबन्दीको क्रम शुरू भयो। ज्ञापन, धर्ना र अनशन हुँदै तालाबन्दीसम्मको अवस्था आउन नदिने काम नेपाल पत्रकार महासङ्घको निवर्तमान नेतृत्वले ग–यो। तालाबन्दी केन्द्रीय कार्यालयसम्म गर्ने अवस्था आयो। तालाबन्दी पनि भयो। निर्धारित समयमा महाधिवेशन सम्पन्न गराउन असफल भएका निवर्तमान अध्यक्षहरूले आफ्नो पदबाट राजीनामा गरे। उनीहरूले आफ्नो उत्तराधिकारी घोषित गरेका पदाधिकारीले पनि राजीनामा दिने अवस्था आयो। अन्ततः नेपाल पत्रकार महासङ्घले कथित शुद्धीकरणमा परेका पुराना पत्रकारहरू जो गलत निर्वाचनमा पनि मतदाता थिए, तिनीहरूमध्ये सक्रिय रहेका पत्रकारहरूको सदस्यता नवीकरण गरिएपश्चात् महाधिवेशन सम्भव भएको हो। आजको निर्वाचनपश्चात् जिल्लादेखि केन्द्रसम्ममा नेतृत्वको टुङ्गो लाग्नेछ। निर्वाचनपश्चात् आउने नयाँ नेतृत्वले अहिलेसम्म देखिएका कमीकमजोरी र विकृतिहरूबाट सबक लिई विनाईष्र्या, द्वेष र पूर्वाग्रह एक समान व्यवहारले सबैको विश्वास जित्ने काम गर्नुपर्नेछ। अब पनि पुरानै प्रवृत्तिलाई महत्व 

दिने काम भयो भने यसको परिणाम झन् बढी प्रत्युत्पादक हुन सक्छ। नेपाल पत्रकार महासङ्घ केवल नाम मात्रको छाता सङ्गठन होइन, चर्को घाम र साउनको झरीमा सबै पत्रकारलाई छाया र आवरण प्रदान गर्ने काम गर्नुपर्छ। आजको निर्वाचनमा सहभागी सबैलाई शुभकामना।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here