युद्धमा अमेरिकी स्वार्थ

रूस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय राजनीति र अर्थतन्त्रमा गहिरो प्रभाव पारेको छ। यो युद्ध केवल दुई देशबीचको सङ्घर्ष मात्र नभई प्रमुख शक्तिहरूबीचको रणनीतिक प्रतिस्पर्धाको मैदान पनि हो। विशेषगरी अमेरिका जसले यो युद्धलाई आफ्नो आर्थिक, सामरिक र रणनीतिक हितका लागि उपयोग गर्ने मौका पाएको छ। अमेरिका विश्वकै सबैभन्दा ठूलो हतियार निर्यातकर्ता मुलुक हो। युद्ध शुरू भएयता अमेरिकाले युक्रेनलाई व्यापक मात्रामा हतियार आपूर्ति गर्दै आएको छ। मिसाइलदेखि मल्टिपल रकेट सिस्टमसम्मका आधुनिक हतियार युद्धभूमिमा पठाएको छ। यसले अमेरिकालाई दुई किसिमका फाइदा दिएको छ। आर्थिक लाभ र प्रभावकारी परीक्षण। युक्रेनलाई दिइएका हतियारमध्ये धेरैजसो ठूला अमेरिकी सैन्य कम्पनीहरूले उत्पादन गरेका हतियार हुन्। युद्धग्रस्त क्षेत्रमा अरबौं डलरको कारोबार भइरहेको छ। त्यसैगरी, युक्रेनमा प्रयोग भएका हतियारहरूको प्रभावकारिता र सीमाहरू विश्लेषण गर्न अमेरिकाले यो युद्धलाई ‘फिल्ड टेस्टिङ’को रूपमा उपयोग गरेको छ। यस क्रममा हिमार्स जस्ता हतियारको सफल प्रदर्शन भएपछि अब अन्य देशहरूसँग पनि यो हतियारको सम्झौताका लागि ढोका खुल्यो। 

युद्ध शुरू भएपछि अमेरिकालगायत पश्चिमी मुलुकहरूले रूसी व्यापारिक र उच्च पदस्थ व्यक्तिहरूका सम्पत्ति रोक्का गरे। अमेरिकाले मात्रै ३०० अर्ब डलरभन्दा बढीको रूसी सम्पत्ति फ्रीज गरेको छ। यसले रूसको अर्थतन्त्रलाई दबाब दिन सक्यो। फ्रीज गरिएका रकमलाई विभिन्न परोपकारी वा पुनर्निर्माण प्रयोजनका लागि उपयोग गर्न पाएको छ। त्यस्तै, अमेरिकाले रूसी र चिनी उत्पादनमाथि युरोपमा प्रतिबन्ध लगाएर आफ्ना उत्पादनको लागि बजार खोलेको छ। विशेषगरी, ऊर्जा र प्रविधिका क्षेत्रमा अमेरिकाले युरोपेली देशहरूसँग सम्झौता गरेर अमेरिकी उत्पादनलाई प्राथमिकता दिन बाध्य पा–यो। युद्धको कारण युरोपले ऊर्जा सङ्कटको सामना गर्दा अमेरिकाले आफ्नो तरल प्राकृतिक ग्याँस (LNG) युरोपमा आपूर्ति गर्ने अवसर पाएको छ। रूसी ग्याँसको विकल्प खोजिरहेका युरोपेली देशहरूसँग यतिबेला अमेरिकी एलएनजी खरीदको विकल्प छैन। यसको मूल्य र बिक्री दुवै अमेरिकाले तय गर्ने एकाधिकार पाएको छ। युद्धका कारण अमेरिकी प्रविधि र उपकरणको माग बढ्दै गएको छ। यसले अमेरिकी उत्पादनलाई विश्व बजारमा थप मजबूत बनायो।

युद्धले रूसमाथि मात्र होइन, अमेरिकाको प्रतिद्वन्द्वी चीनमाथि पनि प्रभाव पारेको छ। अमेरिका र पश्चिमी देशहरूले चीनका केही उत्पादनमा प्रतिबन्ध लगाएर त्यसको व्यापार विस्तार रोक्ने प्रयास गरेका छन्। युक्रेनलाई सैन्य र आर्थिक सहयोग पु–याउने नाममा अमेरिका एशिया–प्रशान्त क्षेत्रमा चीनविरोधी गठबन्धनलाई सशक्त बनाउँदै छ। अमेरिकाले युक्रेनलाई दिएको सैन्य सहायता र त्यसका लागि आवश्यक हतियारको आपूर्तिले अमेरिकी सैन्य उद्योगलाई अभूतपूर्व लाभ मिलेको छ। अमेरिकाले यो युद्धलाई आफ्नो फाइदाको लागि भरपूर उपयोग गरिरहेको छ, चाहे त्यो हतियार बिक्री होस् वा ऊर्जा आपूर्ति तथा अन्तर्राष्ट्रिय व्यापारमा आफ्नो दबदबा कायम गर्न होस्। यो रणनीतिक खेलको दीर्घकालीन परिणाम सोचनीय छ। रूसजस्तो शक्तिशाली राष्ट्रलाई कुनामा पु–याउने प्रयासले विश्वव्यापी अस्थिरता र नयाँ प्रकारको शक्ति सङ्घर्ष जन्माउन सक्छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्