प्रस, पर्सागढी, २१ मङ्सिर/
पर्सागढी नगरपालिका–४ बर्वाटाँडीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बर्वाछौटैलीमा सरस्वतीमाताको मन्दिर निर्माणको लागि शुक्रवार शिलान्यास भएको छ । मन्दिरको शिलान्यास गर्दै नगरप्रमुख गोकर्ण पाठकले विद्याकी देवी सरस्वतीमाताको मन्दिर विद्यालयमा आवश्यक भएकोले स्थापना गरिन लागेको बताए ।
उनले शिक्षाकी देवीको रूपमा चिनिने सरस्वतीमाताको मन्दिर स्थापनाले विद्यालयमा वार्षिकरूपमा मनाइने सरस्वती पूजामा मूर्ति ल्याउने र सेलाउनुपर्ने समस्या नहुने र विद्यार्थीहरूले दैनिकरूपमा सरस्वतीमाताको दर्शन गर्न पाउने वातावरण बन्ने बताए ।
विद्यालयमा सरस्वतीमाताको मन्दिर सोही विद्यालयको २०५६ सालको एसएलसी ब्याचका विद्यार्थीहरूको खर्चमा निर्माण हुन लागेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओसियर हवारीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा मन्दिर निर्माणको जिम्मेवारी वहन गरेका २०५६ सालको एसएलसी ब्याचका राजेश्वरप्रसाद चौधरी, सुरेन्द्रप्रसाद चौधरी, चेतराज चौधरी, रामकृष्ण चौधरी, भोजराज महतो, लालबाबू चौधरीसमेत प्रअ रामनारायण पटवारी, भूतपूर्व प्रअ रामबहादुर चौधरी, समाजसेवी गोकर्ण मैनालीलगायतको सहभागिता थियो ।