• सञ्जय मित्र

जानकीको जन्म भएको ठाउँ बिहारको सीतामढी जिल्लाको सीतामढी रेलवे स्टेशनभन्दा करीब सात किलोमिटर दक्षिण–पश्चिममा अवस्थित पुनौराधाम हो भन्ने मान्यता रहेको छ । ‘पुण्य अरण्य’ भनिने उक्त स्थान त्यस बेला जनकपुर राज्य अन्तर्गत पर्दथ्यो । सोही ‘पुण्य अरण्य’बाट अपभ्रंश भई पुनौरा नाम रहन गएको हो र पछि धाम शब्द थपिएको हो । यसैगरी ‘सीता मडई’बाट सीतामढी शब्दको निर्माण भएको मानिन्छ । सीतामढीमा बोलिने स्थानीय बज्जिका भाषामा ‘मडई’ शब्दको अर्थ ‘छाप्रो’ हुन्छ । सीताको धरतीबाट प्रादुर्भाव भएपछि जनकहरूको अस्थायी बास रहेको ठाउँ जहाँ मडईहरू बनाइएका थिए, सोही मडईमा ल्याएर राखियो । जुन स्थानमा जनकको मडई अर्थात् मण्डप आकारको छाप्रो थियो, त्यस स्थानमा जानकी मन्दिर रहेको छ । सीतामढीको जानकी मन्दिर पनि एउटा प्रसिद्ध तीर्थस्थल हो । जानकी जन्मेको ठाउँ पुनौराधाम झनै भव्य छ । भनिन्छ, वर्षा भएपछि राजा जनक अर्थात् सिरध्वजसहितको टोली जनकपुरी फर्किएको थियो ।

जानकीको जन्म धरणीबाट भएको र जानकी धरणीपुत्री भएको कुरा जानकीको धरणीसमाधिले पनि पुष्टि गर्छ । मिथकहरूले यही स्वीकार गरेको पाइन्छ कि जानकी आफ्नो जीवनको अन्तिममा धरतीमा समाहित भएकी थिइन् । यसको धरतीदेखि धरतीसम्म जानकीको जीवनमा अनेक उतारचढाव पाइन्छ । वास्तवमा जानकी कसकी पुत्री हुन् ? यो प्रश्नको उत्तरको खोजी रहस्य नै रहेको छ । केही हदसम्म तुलसीकृत रामायणमा यसको सङ्केत पाइन्छ, यद्यपि यसलाई धेरै रामायणकारले रहस्य नै रहन दिएका छन् वा खोज–अनुसन्धानतिर ध्यान दिन चाहेका छैनन् । जानकीको जन्म रहस्यमय त छ तर जानकीको विवाहको विषयमा खासै मतभिन्नता रहेको पाइन्न । हो, दृष्टिकोणले केही भिन्नता ल्याउनु स्वाभाविक हो । कुन दृष्टिकोण लिएर रामायणको परिचर्चा वा रामायण घटनाको परिलेखन भइरहेको छ, लेखकले चाहेको के हो ? भन्ने कुरो पनि प्रमुख हुन्छ । आफ्नो उद्देश्यलाई पूरा गर्नको लागि लेखकले कतिपय घटनालाई साधन मात्र बनाएका हुन्छन् । यद्यपि विचारणीय अर्को सत्य यो पनि हो कि जुन ठाउँमा कुनै घटना घटेका हुन्छन्, त्यसको वरपर केही बढी मिथक तथा किंवदन्तीहरू प्रचलनमा रहेका हुन्छन् । जानकीको विवाहसम्बन्धी पनि हाम्रो समाजमा केही किंवदन्तीहरू प्रचलनमा रहेका छन् ।

रावण आएका थिए, सीताको स्वयंवरमा । रावणले चाहेको भए शिवधनुको विधि पूरा गर्न सक्थे रे । तर रावणकी छोरीको नाता पर्ने वा कुनै किसिमले रावण र सीताको सम्बन्ध पिता–पुत्रीको रहेको थियो । यसले गर्दा रावणले जति चाहे पनि उक्त शिवधनुलाई हल्लाउनसमेत सकेनन् । रावणले शिवधनुलाई हल्लाउनसमेत नसक्नुमा रावणको बल वा पराक्रमको कमीले होइन, उनको आध्यात्मिक शक्तिको कारणले हो रे । रावणले जब धनुलाई तत्काल हल्लाउनसमेत सकेनन्, तब उनले विचार गरे अनि उनलाई ज्ञात भयो वास्वविक कारण । रावणले वास्तविक कारण ज्ञात भएपछि दुनियाँलाई देखाउन यो प्रण गरे– म जानकीलाई कुनै पनि मूल्यमा लङ्कासम्म पु¥याउँछु । जानकी विवाहको समयमा रावणले गरेको प्रतिज्ञा पूरा गर्न उनले पञ्चवटीबाट अपहरण गरी लङ्का पु¥याएका थिए ।

जानकी विवाहको सम्पूर्ण सन्दर्भबाट भगवान् परशुराम अनभिज्ञ थिए । भगवान् परशुरामलाई औपचारिक निम्तो यस्तो काममा कमै जान्थ्यो । उनी क्षत्रीयविरोधी थिए । तर जानकी विवाहको शर्तबारे पनि उनी मौन थिए । शिवधनुर्भङ्ग नै विवाहको शर्त थिएन । उक्त धनुषमा ताँदो चढाइ बाण सन्धान गर्नु थियो । सोही क्रममा धनुर्भङ्ग भएको थियो । धनुर्भङ्ग हुँदा त्यसको ध्वनिले, भनिन्छ, भगवान् परशुरामलाई ब्यूँझाएको थियो । उनी क्रोधावतार थिए, यसैले उनले सहन सकेनन् । रामायणका विभिन्न सन्दर्भमा रामले शिवलाई र शिवले रामलाई आराध्य मानेको प्रसङ्ग पाइन्छ । रामेश्वरको स्थापनाको सन्दर्भ पनि यसको ज्वलन्त दृष्टान्त हो । अनि धनुर्भङ्गको ध्वनिले आत्तिएका भगवान् परशुरामलाई रामले नै शान्त पार्न सक्थे । यहाँ आफूले आफूलाई शान्त पार्ने भाव पनि निहित छ । राम र परशुराम दुवै विष्णुकै अवतार हुन् । भनिन्छ, विवाहकै कारणले विष्णुका दुई अवतारको दुर्लभ भेट हुन पाएको थियो । यही भेटको चिनोको रूपमा देकुलीधाम (द्विकुलधाम)को निर्माण हुन पुगेको छ, जुन अहिले पनि चर्चित धार्मिकस्थलको रूपमा रहेको छ ।

सर्लाहीको बलराभन्दा केही सय मिटर भारतको सीतामढी जिल्लाको बसबिटा बजार रहेको छ । बजारमा एउटा मन्दिर छ– बाबा सुकेश्वरनाथको । भनिन्छ, यस मन्दिरको सम्बन्ध पनि जानकी विवाहसित रहेको छ । त्यस समयमा बाग्मती नदी त्यहाँ थियो । बाग्मती नदी तरेर एकजना सन्त जनकपुर विवाहमा सहभागी हुन जाँदै थिए । सीमाको अन्तिम स्वागतद्वार निर्माण गरिएको थियो । जनकपुर राज्यको अन्तिम सीमा त्यहींसम्म थियो । सन्तलाई अनुमति नभएको भनी जान दिइएन । सन्तको परिचय सोधेर एक घोडसवारलाई सोध्नको लागि पठाइयो । तबसम्म सन्तलाई आफ्नो कर्म गर्नुपर्ने समय भयो । बाग्मती नदीमा स्नान गरे र एक शिला स्थापना गरी भगवान् शिवको विधिवत् पूजाअर्चना गरे । उताबाट उक्त सन्तलाई ससम्मान विवाहयज्ञमा सहभागी गराउन दूत पनि आए । जनकपुर राज्यको सीमाबाहिर बाग्मती नदीको किनारमा साधुले स्थापना गरेको शिवमन्दिर अझै पनि छ ।

जानकी विवाहको लागि जुन शिवधनुमा ताँदो चढाइ बाण सन्धान गर्ने शर्त राखिएको थियो, त्यसलाई जानकीले देब्रे हातले उठाइसकेकी थिइन् । भनिन्छ, हरेक दिन उक्त शिवधनुको पूजा गर्ने गरिन्थ्यो । पूजा प्रायः आमाले गर्नुहुन्थ्यो । एक दिन जानकीलाई नै पूजा गर्न आमाले भनेपछि जानकीले पूजा गर्नुभन्दा पहिले धनुष राखिएको ठाउँ वरिपरि बढारिन्, सफा गरिन् । त्यसपछि लिप्नुपर्ने थियो । दाहिने हातमा पोत्ने कुरोले पोत्दै जाँदा धनु राखिएको ठाउँको मुनिको जमीनलाई पोत्न सजिलो भएन । अनि जानकीले देब्रे हातले धनुषलाई उचालेर दाहिने हातले त्यहाँको भुइँ पोतिन् । यो यसरी भइरहेको थियो, मानौं जानकीले आफ्नो हातमा कुनै तृण राखेकी थिइन् । कपासजस्तै हलुको वस्तु उचालेको अवस्थामा माताले देख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here