ग्रामीण जीवनलाई कलाको दृष्टिकोणले निकै महŒवपूर्ण मानिन्छ । हो, वर्तमान आधुनिक युगमा सञ्चारको अत्याधुनिक साधनका साथै जीवनशैलीमा पनि परिवर्तन ल्याइसकेको छ । मानवीय चेतना तथा विभिन्न संस्कृतिसितको सोझो सम्पर्कले पनि जीवनशैलीमा परिवर्तन स्वाभाविक हो । विश्वव्यापी प्रभाव नै मान्नुपर्छ कि मानिसहरू एकलकाँटे हुँदै गएका छन् । एक मानिसले अर्को मानिसको हृदयलाई स्वाभाविकरूपमा निकट ल्याउने साधनहरूको अभाव हुँदै गएको छ । त्यस्ता साधनहरू पातलिंदै, खिइँदै गइरहेका छन् । त्यसको ठाउँमा आधुनिकताको नाममा विभिन्न किसिमका साधनहरू आइरहेका छन् वा लोप हुनलाई सहयोग गर्ने विभिन्न साधनहरूको विकास भइरहेका छन् ।
पहिले गाउँमा सजिलै ढोल बाजा बज्थ्यो, ठेकैचा तथा हारमोनियम बजाउनेको सम्मान आफ्नै किसिमको थियो । आजभोलि ती बाजाहरूको ठाउँमा आधुनिकता आइसकेको छ । अनि मानिसहरू कण्ठले अरूका गीत गाउने र नाच्ने गर्थे, जुन लगभग हराइसकेको छ । मुख्यगरी, जाडोको महीनामा हरेक बिहान परातीको स्वर सुुनिन्थ्यो, अब पराती गीत कतै सुनिन्छ कि ? यस्तै हरेक मौसममा हरेक बिहान गाउने गीतहरू पृथक स्वरका हुन्थे । सबैलाई सम्झना नै होला, कात्तिक महीनाभरि पूर्णतः गीत नै गाइन्थ्यो । छठ नहुँदासम्म यसको गीतले गाउँको वातावरण अति नै रमणीय बनाउँथ्यो भने त्यसलगत्तै सामाचकेवा । अनि मङ्सिरमा विवाहका गीतहरू गाउँमा गुञ्जन्थे । विवाहपञ्चमीसित सम्बन्धित गीतहरूको सङ्ख्या पनि पर्याप्त हुन्थ्यो । माघमा शिवजीका लाचारी, फागुनमा फगुआ गीत र चैतमा चैतावर तथा त्यसपछि बा¥हमासा । यी गीतहरूले गाउँको जीवनमा आफ्नै किसिमको लय थपिएको अनुभव हुन्थ्यो । पहिलेको सरस ग्राम्य जीवनलाई अन्य कलाले पनि निरश बनाइसकेको छ ।
पहिले पहेंलो माटो अर्थात् कमेरो माटोले घर लिपपोत गरिन्थ्यो । अरू समयमा त्यत्ति ध्यान नदिए पनि छठको लागि दीपावलीको दिनसम्म घरलाई पूर्णतः लिपपोत गरिन्थ्यो । दीपावलीको भोलिपल्ट हरेक घरमा विभिन्न किसिमका चित्र बनाइने गरिन्थ्यो । ती चित्रहरू परम्परागत शैलीका हुन्थे । चित्र बनाउनमा मुख्य भूमिका महिलाको हुने गरेको थियो । महिलाहरूले विभिन्न आकृति बनाउँथे घरको भित्ता अर्थात् टाटीमा । अनेक रङ्गमा चित्रहरू रङ्गाइन्थ्यो । चित्रले विभिन्न अर्थ दिएको मानिन्थ्यो । धेरै मानिसले आफ्नो आँगनमा बाघ, भालु जस्ता हिंस्रक जनावरको चित्र बनाउँदैनथे तर यस्ता चित्र बनाउन घरको बाहिरी भित्तामा भने कुरो रोकावट हुँदैनथ्यो । मयुरको चित्र धेरै घरमा बनाइन्थ्यो । सक्नेले विभिन्न देवीदेवताका चित्र पनि बनाउँथे । हात्तीको चित्र पनि सजिलो हुन्थ्यो । बिस्तारै मानिसहरूको घर पक्की हुँदै गयो । पक्की घरमा बाँच्ने तथा बस्ने शैली र माटोको भित्ता भएको घरमा बाँच्ने तथा बस्ने शैलीमा पार्थक्य आउनु स्वाभाविक हो । पक्की घरको भित्तालाई आकर्षक बनाउनको लागि चित्रको आवश्यकता महसूस गर्न सकेन समाजले । पहिलेदेखि नै हरेक पक्की घरमा पहिलेको जस्तै विभिन्न चित्राकृति बनाउने चलन चलेको भए कति राम्रो हुन्थ्यो ?
चित्रकला घरका भित्ताभन्दा अन्यत्र पनि बनाइन्थ्यो । मानिसले खरिहानलाई गोबर लिप्दालिप्दै पनि चित्र बनाउँथे । आँगन र घरअगाडिको दुरालाई लिप्दा तथा लिपेपछि पनि चित्र बनाउँथे । यस्ता चित्रमा चाहिं कलश र अन्य शुभ जनाउने चित्रहरू बढी हुने गर्थे । विभिन्न चाडपर्वमा रङ्गोली बनाउने चलन थियो । अहिले पनि रङ्गोली बनाइन्छ, दीपावलीको दिन । कतिपय ठाउँमा अझै पनि दीपावलीको भोलिपल्ट पनि रङ्गोली बनाउने चलन रहेकै छ । तर अब सायदै कुनै गाउँमा घरका भित्तामा चित्र देखिन्छ । पहिले त कलाप्रेमी र चित्रकारको घर आफैंमा एउटा पहिचान हुन्थ्यो । त्यो पहिचान नै हराएको छ । आजभोलि आधुनिक चित्रकला र विभिन्न विज्ञापनको चित्र हेर्न पाइन्छ । साथै फ्लेक्स प्रिन्टमा छापिएका चित्रकलाले मात्रै बजार लिएको देखिन्छ । चित्रकलासँगै गाउँको एक कला पनि लोपोन्मुख अवस्थामा पुगेको हो भन्ने कुरोतिर सायदै कसैको ध्यान गएको हुनुपर्छ । ग्रामीण चित्रकलालाई कसरी जोगाउन सकिन्छ होला ?
पहिले गाउँघरमा ढकियाको प्रयोग हुन्थ्यो । डलिया तथा मौनी पनि बुनिन्थे । यी बुन्ने काम महिलाकै हुन्थ्यो । यसमा पनि कला हुन्थ्यो । पहिले गाउँघरमा महिलाले बुन्ने सुइटरको पनि यदि सम्झना होला भने सुइटरको बुनाइमा पनि कला रहन्थ्यो । अहिले त सुइटरको प्रयोग नै घट्न थालेको छ । तिनै सामग्रीलाई उही तरीकाले बुन्दा पनि त्यसमा विभिन्न आकृति बनाइन्थ्यो । ढकिया, डलिया, मौनी आदिको चलन अहिले पनि तुलनात्मकरूपमा बाजी समाजभन्दा थारू समाजमा केही बढी छ । थारू समाजले भने यस्ता घरायसी उपयोगका सामान र सामग्रीमा विभिन्न कलाको उपयोग गरेको अझै पनि देख्न सकिन्छ । एक त सामानहरूकै आकर्षणमा कला हुन्छ, दोस्रो बुन्ने सामग्रीले पनि कलाको सिर्जन गरेको हुन्छ । यस्ता सामग्री गाउँघरबाट पूर्णतः लोप भइसकेका भने छैनन् । पूर्णतः लोप हुनेमा मौनी पर्छ तर अन्यलाई चाहेमा अझै पनि बचाउन सकिन्छ ।
धान र गहुँको समयमा भने अर्को कला थियो । धानको झोंटी बनाउने गरिन्थ्यो । धानको झोंटी बनाउँदा त्यसमा पनि विभिन्न कलाको उपयोग गरिएको हुन्थ्यो । झोंटी बनाउनु र झुन्ड्याउनु आफैंमा पनि कला हो । अहिले सायदै कतै कुनै गाउँमा एकाध घरमा धानको झोंटी बुनेर झुन्ड्याइएको पाइन्छ । अहिलेको पुस्ताले नै त्यो बिर्सिसक्यो । मुख्यगरी, ग्रामीण आइमाईले यस कलालाई बिर्संदा हाम्रो संस्कृतिमा रहेको यसको उपयोगिता पनि लगभग समाप्त भइसकेको छ । उपयोगिता नै सबैले बिर्सिइसकेका छन् । हाम्रो संस्कृतिको यो ज्यादै नराम्रो पक्ष हो कि हामीले हाम्रा कतिपय कुरालाई पूर्णतः उपयोगविहीन ठान्ने गरेका छौं ।
जब गाउँघरमा झोंटीको चलन थियो, तब गाउँघरमा बिहान र बेलुका भँगेरा चराको आवाजले मानिसको कानलाई पवित्र बनाउँथ्यो । झोंटीको धानलाई खानको लागि भँगेरो चरो आउँथ्यो । जहाँ बढी झोंटी हुन्थ्यो, त्यसकै वरपर भँगेरोले गुँड लगाउँथ्यो, बच्चो कोरल्थ्यो । एउटा जीवनचक्र पनि रहेको थियो । अहिले गाउँघरमा भँगेरोको दर्शन निकै मुश्किल भइसकेको छ । भँगेरोले धान मात्र खाँदैनथ्यो । यसले साना मसिना धेरै कीरालाई पनि खान्थ्यो । अहिले यिनै कीराहरूले धानलाई खाइरहेका छन् र त्यसलाई मार्नको लागि खेतमा जहरको उपयोग बढेको छ । त्यो जहर फेरि हामीले नै खाइरहेका छौं । हाम्रो स्वास्थ्यमाथि असर गरिरहेको छ । झोंटी नहुँदाको प्रभाव पनि केही हदसम्म हुन सक्ने अनुमानलाई निराधार भन्न सकिन्न । झोंटी बुन्नु पनि कला हो । हाम्रो संस्कृतिको एउटा अङ्ग हो । अर्थात् संस्कृति पनि हो । झोंटीले संस्कृति बचाएको थिएन तर यसले कलालाई भने बचाएको थियो ।
अझै पनि ग्रामीण क्षेत्रमा होलिका दहनमा गहुँ र लहर पोल्ने चलन छँदैछ । गाउँले अझै पनि यसको उपयोगिता देखिरहेको छ । गाउँमा हरेक घरमा अझै पनि कम्तीमा पोलेको गहुँ झुन्ड्याएको देख्न सकिन्छ । कतिपयको घरमा एकै ठाउँमा दुई/चार वर्षको गहुँ पनि पाइनु नौलो नहुन सक्छ । यसमाथिको विश्वास छँदैछ । त्यो आस्थासित जोडियो र लोकजीवनमा जीवित रहिरह्यो तर झोंटीले आस्थासित सम्बन्ध गाँस्न सकेन । यस कारण झोंटीको जीवन धेरै लामो समयसम्म जान सकिने अवस्था छैन । कलालाई हाम्रो समाजले कुनै मूल्यको वस्तु नै ठान्दैन । कलालाई सम्मान नगर्दा लोकजीवनबाट कलासित सम्बन्धित धेरै जिनिस हराइसकेका छन् । हराउनै लागेको एउटा कला झोंटी पनि हो ।
बुद्धिजीवीहरू, कलाका प्रेमीहरू तथा मुख्यरूपमा जनप्रतिनिधिहरूले आफ्नो घरमा एक/दुई झोंटी झुन्ड्याउन शुरू गर्ने हो भने लगभग बिर्सिइसकेको झोंटीले पुनः उत्थान पाउने थियो । अलिकति बुझ्न थालेको समाजले लोककलाका विभिन्न प्रतियोगिता तथा प्रतिस्पर्धाहरू पनि गराइरहेका छन् । यसलाई सकारात्मक मान्नुपर्छ र लोककला तथा लोकजीवनमा जीवनशैलीका अन्य पक्षको पनि संरक्षणको लागि त्यससित सम्बन्धित प्रतियोगिताको संस्कार बसाउने हो भने निकै हदसम्म झोंटी कलालाई पनि जोगाउन सकिन्छ । यो कलालाई जोगाउँदा सामान्य मानिसले देख्न नसक्ने अनेक फाइदा पनि हुने रहेछ । मलाई त के लाग्छ भने कतिपय फाइदा हामीलाई थाहा हुँदैन होला तर भइरहेको होला, जुन हाम्रो समाजमा परम्परादेखि चलिरहेका वा बाँचिरहेका कलाहरू छन् ।