• सञ्जय मित्र

हाम्रो लोकजीवनको एउटा अङ्गको रूपमा रहेको सामाचकवा कात्तिक महीनाको छठको पारन भएसँगै मनाइन्छ । सामान्यतया गोवर्धन पूजाको दिनदेखि नै मनाइने भएपनि गाउँघरमा भने छठ पबनी सकिएको दिनको साँझमा पहिलो रौनक देखेको छु । सामाचकवामा विभिन्न मूर्तिहरू हुन्छन् र मूर्तिहरूप्रति श्रद्धा रहेको हुन्छ । एउटा मूर्ति, जसलाई सबैले चुङला भन्ने गर्छन्, प्रति भने घृणाको भाव व्याप्त ।

साँच्चिकै भन्ने हो भने म गाउँमा धेरै बस्न पाएको छैन । कक्षा ९ उत्तीर्ण गरेपछि पिताजीबाट आदेश भयो– अब तिमी घरको कामबाट मुक्त भयौ ।

कक्षा चारमा पढ्दा नै मैले भैंसी किनेर ल्याएको थिएँ । भैंसी चराउन जाँदा म सधैं आफूसित किताब बोकेर गएको हुन्थें । भैंसीको ढाडमा बसेर चराउँदै मैले पढ्नुपर्ने वा याद गर्नुपर्ने धेरै पाठ पढ्ने गर्थें ।

घरमा बसेर हरेक साँझ म पढ्ने गर्थें, सानैदेखि । अलिकति ठूलो हुँदै जाँदा भने मसित बसेर पढ्नेहरू बढ्दै गएका थिए । मसित दर्जनौं साथीहरू बसेर साँझमा पढेको सम्झना मलाई छ । पछि यी कुराहरू कुनै समयमा मलाई नै काम लाग्ला कि ?

रातिको खाना खाएपछि भने पढ्ने बानी भएन । गर्मी महीनामा राति कबड्डी तथा गिधवा गुडकान खूब खेलिन्थ्यो । जब दाहाको महीना आउन थाल्थ्यो अनि झाराको धुन सवार हुन्थ्यो । त्यो सामूहिक झारा त अहिले लोप नै भइसकेको छ । भदौ महीनामा भने जरजटिनको रौनक हुन्थ्यो । एकातिर दिदीबहिनीहरू जरजटिन खेलिरहेका हुन्थे, अर्कोतिर नजीकै हामी कबड्डी मच्चाएका हुन्थ्यौं । अहिले सम्झन्छु, लाग्थ्यो, दिदीबहिनीहरूको सुरक्षाको जिम्मेवारी हामीमाथि थियो ।

असोजमा भगतई देखिन्थ्यो । मेरो गाउँमा झिझिया वर्जित थियो र अझै पनि छ । यथार्थमा झिझियाको माहोल मलाई थाहा छैन । मेरो गाउँमा झिझिया चल्दैन भन्ने मान्यता रहेकोले यसबाट वञ्चित भएको हुँ तर कात्तिकको सामाचकवासित भने मेरो विशेष अनुराग थियो ।

सामाचकवा खेल्दै जब रात छिप्पिन थाल्थ्यो, तब चराउनको लागि खेल्नेहरू जान्थे । हामी केही भलाद्मी केटाहरू पनि जान्थ्यौं । अझ रमाइलो हुन्थ्यो लुकाडीको । हरेक दिन बाँसको सुपलीलाई एउटा करचीमा उनेर कोही न कसैले राखेका हुन्थे । जब सामाचकवालाई चराएर सकिएको गीत पूरा हुन्थ्यो, तब लुकाडीमा आगो लगाएर गज्जबले नचाउन थाल्थ्यो । म पनि कहिलेकाहीं यसरी नै गर्थें । प्रायः म किन पनि जान्थें भने जहाँ दिदीबहिनीहरू सामाचकवालाई चराउन भनेर गाउँभन्दा अलिक बाहिर जान्थे, त्यहाँ हाम्रो खरिहान थियो । खरिहानमा त खोलापारि पनि थियो तर मेरो भने वारि नै थियो । खोलाको भित्री किनारमा लुकाडी नचाएको दृश्य अहिले पनि सम्झना छ । कतै कसैको परालतिर आगो नजाओस् र कसैलाई कुनै हानि नगरोस् भनेर मुख्यरूपमा खोलाको भित्री किनार र कहिलेकाहीं पानीमा पनि उभिएर कसैकसैले लुकाडी नचाउँथे ।

सामाचकवाका सबै गीतको सम्झना छैन । वास्तवमा भन्ने हो भने अहिले जब कतै अलिकति गाएको सुन्छु तब लाग्छ कि यो गीत पनि सुनेको छु । गीतले मलाई तान्छ । कतिपय गीत जब सुन्छु, तब लाग्छ कि अब यसपछि यो कुरो आउँछ र कतिपय अवस्थामा मेरो अनुमान मिल्छ ।

कक्षा १० मा पुगेपछि पढाइको बोध हो कि बोझ भएको थियो । यस्ता कुरामा खासै ध्यान दिने कुरा भएन । अनि एसएलसी पास गरेपछि त गाउँ नै छाडें । अहिलेसम्म गाउँ फर्किन सकेको छुइनँ । अब गाउँ फर्किन पाउँछु कि पाउँदिनँ, ठेगान छैन । यससँगै सामाचकवा पनि करीब छुटिसकेको थियो र अझै पनि निकट हुन सकिरहेको छैन ।

मेरी बहिनी जुन उमेरमा सामाचकवा खेल्थी, मेरी छोरीले सो उमेरमा सामाचकवाको खेलौना एक/दुई वर्ष खेल्न पाएकी हो । जमाना कहाँबाट कहाँ पुगिसक्यो ? कति सहज थियो सामाचकवा ? अहिले कति जटिल हुन पुगेको छ यही । अहिले म जुन बस्तीमा छु, यहाँ मुश्किलले १०/२० घरका केटाकेटीको चिनजान हुन्छ, त्यो पनि आफ्नै उमेरका सँग । प्रतिस्पर्धाको मारमा व्यस्तताको बोझले अहिलेका बालबालिकाको बालापन थिचिइसकेको छ । हामी कति फुक्का थियौं, आफ्नो जमानामा । हामीले पनि प्रगति नगरेका होइनौं, शहरले अलिक प्रगति गरेको होला बढी तर समग्रमा बालापन नै बुझ्न नपाएको पुस्ता तयार भइसकेको जस्तो लाग्छ, अहिले हाम्रो तुलनामा । हाम्रो जमाना अहिलेको जस्तो बदमाश थिएन, बदनाम थिएन, सोझो थियो र त गाउँभरिमा ५०औं घरका दिदीबहिनीहरूको समूहले सामाचकवाको गीत एकसाथ गाउँदा टोलकै वातावरण सुरम्य हुन्थ्यो । यदि कोही सामाचकवाका गीतहरू सुनेका होलान् भने बुझ्छन्, कति शान्त, सौम्य र सुन्दर । आफ्नै भाकाभित्र अनेक गीतहरू ।

सबैभन्दा रमाइलो दिन हुन्थ्यो पूर्णिमाको । यस दिन सामाचकवा सेलाइन्थ्यो । यसको तयारी दिउँसोदेखि नै हुन्थ्यो तर खासै फरक दिन भने हुँदैनथ्यो । पूर्णिमाको दिन आउँदा गाउँका करीब साठी प्रतिशत मानिस नदीमा नुहाएका हुन्थे । मेरो गाउँको दुईतिर भएर चानी नदी बहेको छ तर शिवनगर गएर लमाहा नदीमा नुहाउनेको सङ्ख्या बढी हुन्थ्यो । नुहाउने पनि र दर्शन पनि गर्नेहरू बढी हुन्थे । अहिले बाग्मती गएर नुहाउने चलन बढेको छ ।

बिहानै नुहाएपछि दिन त धेरै लामो लाग्थ्यो । रातिको प्रतीक्षा हुन्थ्यो । पहिलेदेखि नै, मलाई जहाँसम्म सम्झना छ, कात्तिक पूर्णिमाको राति अलिकति मीठो खाना पाक्थ्यो । कम्तीमा तरुआ त पाक्थ्यो नै । आज पनि मलाई तरुआ धेरै मन पर्छ । तरुआ अलिकति सामाचकवालाई पनि खुवाइन्थ्यो । ठेकुआसित सम्बन्धित त गीतहरू थिए नै सामाचकवाका । अनि खाना खाएपछि दिदीबहिनीहरूमा पनि उत्साह हुन्थ्यो । आज सेलाउने दिन । अलिकति पीडा पनि हुन्थ्यो । जब गाउँटोलका सामा खेल्नेहरू एक ठाउँमा भेला हुन्थे तब गाउँ नै एक किसिमले गुञ्जायमान हुन्थ्यो । आजको दिन साँच्चिकै बडो मनोरम हुन्थ्यो । खेल्दाखेल्दै जब निकै रात पथ्र्यो, मूलतः आमाबुबा उमेर समूहका मानिसहरूले रोक्नुपर्ने आग्रह गर्थे, तब सामाचकवाका सबै सामग्रीलाई तोडफोड गर्ने पालो आउँथ्यो । अहिले के कस्तो चलन छ, भन्न सकिन्न तर त्यत्ति बेला सामाचकवा खेल्ने दिदीबहिनीका दाजुभाइले नै पहिले सामाचकवाका प्रतिमूर्तिहरू तोड्ने गर्थे । तोड्नु अघि दिदीबहिनीलाई उपहार दिनुपथ्र्यो, जसलाई हामी दानदहेज भन्थ्यौं । बच्चामा हामीसित कहाँबाट केही आउनु र दिनु तर आमाले भनेजस्तै सकार हुन्थ्यो र बहिनी मान्थी । त्यस बेला सकार गरिएका कुराहरू दिन सकियो वा सकिएन अहिले केही पनि सम्झना छैन । यो विधान हो रे ।

अनि नजीकैको खोलामा सेलाउन लगिन्थ्यो । जहाँसम्म सम्झना छ, सामाचकवा सेलाउँदा पनि दिदीबहिनीहरूले अर्को वर्ष फेरि पनि सामाचकवा खेल्ने वाचा गर्थिन्, गीतमैं । सामाचकवा गीतप्रधान संस्कृति नै हो । शायदै कुनै काममा गीतको उपयोग नहुँदो हो । यद्यपि यो ठाउँविशेषमा केही भिन्नता पनि देखिएला तर म आफ्नो सम्झना प्रस्तुत गर्दैछु । हरेक दिन सामाचकवाको सुरुआत गीतबाट हुने गथ्र्यो र गीतमैं गएर समापन हुने गथ्र्यो ।

सामाचकवा शान्तिको संस्कृति थियो गाउँमा । कतै कतै ठूलो मेला लाग्ने गरेको पनि सुनिन्थ्यो तर हामी भने सामाचकवाको मेला हेर्न कतै जाँदैनथ्यौं । विद्यालय बन्द हुँदैनथ्यो र राति धेरै टाढा जाने कुरा भएन । अहिलेको जस्तो न त सडक थियो, न त यातायात नै । साइकलको प्रचलन त खासै चलिसकेको थिएन । अनि केटाकेटी मानिस, रातिको समयमा कुन गाउँमा कति टाढा मेला लागेको छ भनेर कसरी हेर्न जाने ? यो कुरा मनमा पनि आउँदैनथ्यो ।

सामाचकवा खेल्ने समूहका दिदीबहिनीहरूबीच हुने चिनापर्ची र यसको पुनर्नवीकरणको संस्कृतिमा ¥हास आएको छ । समय बदलिएर अहिले मोबाइलमा प्रवेश गरिसकेको छ । मोबाइलबाट जमाना अलिकति बाहिर आउन खोजुन्जेल हाम्रा कतिपय संस्कृति कहाँ पुग्ने हो निश्चित छैन । यस प्रकारको चिन्ता पनि समाजलाई रहेको पाइँदैन । मलाई अहिले पनि के लाग्छ भने हाम्रो समाजमा सबैभन्दा विकृतिरहित कुनै संस्कृति छ भने त्यो सामाचकवा हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here