प्रस, वीरगंज, १ कात्तिक/
मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले बिहीवार मैथिली विकास कोषको जनकपुरधाम उपमहानगरपालिका–८ स्थित निर्माणाधीन भवनको अवलोकन गरेका छन् ।
सो क्रममा कोषका अध्यक्ष जीवनाथ चौधरी, नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री रामसरोज यादव, नेका धनुषाका उपसभापति गणेश झा, प्रमोद चौधरी, श्याम शशिलगायतले मुख्यमन्त्री सिंहलाई स्वागत गरेका थिए ।
प्रदेश सरकारले रु सात करोडको लगानीमा पाँच कट्ठा क्षेत्रफलमा कोषको भवन निर्माण शुरू गरेको छ । निर्माणाधीन कोषको भवनमा सांस्कृतिक सङ्ग्रहालय, पुस्तकालय, मिथिला लोक चित्रकला प्रशिक्षण केन्द्र, कला प्रदर्शनी कक्ष, श्रव्यदृश्य कार्यसम्पादन कक्ष, सेमिनार हललगायत छन् ।
तत्कालीन जिल्ला विकास समिति धनुषाले गत २०५८ सालमा स्थापना गरेको कोषले दुई वर्षको अन्तरालमा जनकपुर साहित्य महोत्सव तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको आयोजना गर्दै आएको छ । कोषले गत तीन वर्षयता मासिक कथा एवं कवि गोष्ठी आयोजना गरिरहेको छ । मैथिली भाषा एवं साहित्यसँग सम्बन्धित एक दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरिसकेको कोषले ५१/५१ हजार राशिको पुरस्कारसमेत स्थापना गरेको सो अवसरमा मुख्यमन्त्रीलाई जानकारी गराइएको थियो ।