प्रस, सिराहा, ९ असोज/
बुबाको हत्या गरेको आरोपमा प्रहरीले सिराहा जिल्लाको सीमावर्ती क्षेत्र, औरही गाउँपालिका–३ खजनपुरबाट एकजनालाई पक्राउ गरेको छ ।
घरायसी विवादमा ६५ वर्षीय वृद्ध बुबा भालेश्वर यादवलाई उनको छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र बुहारी ३५ वर्षीया रेणुकुमारीले कुटपिट गर्दा ज्यान गएको प्रहरीको ठहर छ । हत्या अभियोगमा मृतक भालेश्वरका छोरा शैलेन्द्रलाई घरबाटै पक्राउ गरेको र बुहारी रेणु भने फरार रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, सिराहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाका अनुसार शैलेन्द्रकी पत्नी रेणुकुमारी र सासूबीच झगडा भएपछि वृद्ध भालेश्वर छुटाउन गएका थिए । वृद्ध यादवलाई छोरा–बुहारी मिलेर निर्घात कुटपिट गरेका थिए ।
घटना सोमवार साँझको हो । कुटपिटबाट गम्भीर घाइते भालेश्वरलाई प्रहरीले उद्धार गरी जिल्ला सदरमुकामस्थित प्रादेशिक अस्पतालमा पु¥याएको थियो ।
थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालतर्फ लैजाने क्रममा बाटोमैं घाइते भालेश्वरको मृत्यु भएको थियो । कुटपिटमा संलग्न मृतकका छोरा शैलेन्द्र सोमवार राति नै पक्राउ परेका थिए ।
प्रहरीका अनुसार बुबाको हत्या आरोपमा पक्राउ परेका छोराविरुद्ध कर्तव्य ज्यान मुद्दा अन्तर्गत अनुसन्धानका लागि सिराहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइएको बुधवार सञ्चारकर्मीलाई जानकारी गराइएको थियो । ससुराको हत्यामा संलग्न रेणु कुमारीलाई प्रहरीले पक्राउ गर्न नचाहेको स्थानीयको आरोप छ । प्रहरीले भने सो कुराको खण्डन गरेको छ ।