प्रस, वीरगंज, २९ भदौ/
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आयोजना गरिएको ६०औं राष्ट्रिय बाल दिवसको अवसरमा नेशनल इन्फोटेक माध्यमिक विद्यालयले विद्यालयको सभाकक्षमा विविध कार्यक्रम गरी बाल दिवस मनाएको छ ।
कक्षा ९ का विद्यार्थी आर्या यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक अनन्तकुमारलाल दासले विसं २०२२ सालदेखि तत्कालीन बडामहारानीको जन्म दिवसको अवसर पारेर भदौ ४ गते मनाइँदै आएको बाल दिवस २०६२/६३ को राजनीतिक परिवर्तनपछि राजपरिवारका सदस्यको जन्मदिनमा बाल दिवसलाई निरन्तरता दिनु सान्दर्भिक नभएकोले २०४७ भदौ २९ गते नेपालले बाल अधिकार महासन्धिलाई अनुमोदन गरेको दिनलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने निर्णय अनुसार २०६३ सालदेखि भदौ २९ गते नै राष्ट्रिय बाल दिवस मनाइन थालिएको बताए ।
कार्यक्रममा स्वागत मन्तव्य दिंदै कक्षा १० की मनीषा यादवले बालबालिकाहरूले गलतीबाट समेत सिक्नुपर्ने औंल्याएकी थिइन् ।
कार्यक्रममा बालबालिका कसलाई भनिन्छ, बाल अधिकार अन्तर्गत के के कुरा पर्छन् भन्नेबारे जानकारी दिइएको थियो । विज्ञान शिक्षक अभय मिश्रले बाल अधिकारसहित बालबालिकामा जिम्मेवारीबोधसमेत हुनुपर्ने भन्दै राज्यले हरेक तहका बालबालिकामा लगानी गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बालबालिकाहरूले नृत्य, गीत, मन्तव्य, क्वीज र खेलको समेत आयोजना गरेका थिए ।
वक्तृत्वकला प्रतियोगिता
प्रस, परवानीपुर/
राष्ट्रिय बाल दिवसको अवसरमा शनिवार वीरगंज महानगर–२१ पटेलनगर स्थित द ग्रेट पिस इगलिश बोर्डिङ स्कूलले विद्यार्थी जीवनमा शिक्षाको महŒवबारे वक्तृत्वकला प्रतियोगिता गरेको छ । कक्षा ५, ६ र ७ का विद्यार्थीहरू प्रतियोगितामा सहभागी थिए । कार्यक्रममा कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरूले साङ्गीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
यसैगरी, राष्ट्रिय बाल दिवसको अवसरमा लिभिङ विथ इन्भायरन्मेन्ट नामक संस्थाले “ओजन फर लाइभ” शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । वीरगंज पब्लिक कलेजको सभाकक्षमा आयोजित प्रतियोगितामा वीरगंजका ११ वटा विद्यालय सहभागी थिए । प्रतियोगितामा गौतम माविका स्पन्दन चौधरी प्रथम, आनन्द चौधरी द्वितीय र माईस्थान विद्यापीठकी रूपा गिरी तृतीय भएका थिए । प्रतियोगितामा विजयी प्रतियोगीहरूलाई पुरस्कार तथा मेडल प्रदान गरिएको थियो ।