प्रस, वीरगंज, २८ भदौ/
वीरगंज महानगरपालिकाको शिक्षा महाशाखाले गत साउन ११ गते गरेको शिक्षक दरबन्दी मिलानपछि सिर्जित विवाद शुक्रवारदेखि मत्थर भएको छ ।
शिक्षक दरबन्दीबारे महानगरको निर्णयविरुद्ध निरन्तर आन्दोलनरत नेपाल शिक्षक महासङ्घ वीरगंज महानगर समिति र महानगरबीच शुक्रवार पाँच बुँदे सहमतिपछि विवाद सुल्झिएको अनुमान गरिएको छ ।
तर शिक्षक महासङ्घ वीरगंज महानगर समितिले उठान गरेका मुद्दालाई भने आजको पाँच बुँदे सहमतिमा सम्बोधन गरिएको छैन, जसबाट शिक्षक महासङ्घसँग आबद्ध अधिकांश शिक्षक रुष्ट देखिएका छन् ।
महानगरको तर्फबाट नगरप्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम, शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण र नेपाल शिक्षक महासङ्घ वीरगंज महानगरका अध्यक्ष प्रदीप जैसवाल सहभागी थिए । आजको पाँच बुँदे सहमतिमा शिक्षक महासङ्घले उठान गरेको शिक्षक दरबन्दी, भ्रष्टाचार, अनियमितताका बारेमा कुनै कुरा उल्लेख छैन ।
महानगरले यस अघिदेखि भन्दै आएको कुरालाई मात्र प्राथमिकता दिइएको छ र शिक्षक दरबन्दीका विषयमा उठान भएका समस्याहरूमा दरबन्दी अनुसारको प्रअ, शिक्षक, बालविकास, कर्मचारीहरू तोकिएका विद्यालयमा हाजिर भएर काम गर्ने र त्यस उप्रान्त समस्या आएको खण्डमा सोको नीतिगत समाधान गरिने भनिएको छ ।
जबकि शिक्षक महासङ्घले महानगरको आग्रहमा आन्दोलन स्थगित गरेर समस्याग्रस्त शिक्षकहरूसँग निवेदन माग गरेको थियो । जसमा शिक्षक महासङ्घमा ८९ वटा र शिक्षा महाशाखामा २५ वटा निवेदन परेका थिए ।
महानगरले साउन ११ गते एकमुस्ट ४६८ जना प्रअ, शिक्षक, बालविकास शिक्षिका, कर्मचारीहरूको सरुवा गरेको थियो । सो सरुवामा समस्या भएकाहरूबाहेक केही तोकिएका स्थानमा सरुवापत्र बुझेर गइसकेका छन् । समस्याग्रस्त ११४ जना भने महासङ्घको निर्णयको पर्खाइमा थिए ।
आजको सहमतिबारे नेपाल शिक्षक महासङ्घ वीरगंज महानगर समितिका अध्यक्ष जैसवालले शिक्षकको हकमा सहमति गरेको दाबी गरे । उनले भ्रष्टाचार, अनियमितताको कुरा अख्तियारले हेर्ने र शिक्षकहरूको हकमा आज छलफल हुँदा ३३ जनामा समस्या देखिएको र उनीहरूको हकमा आगामी आइतवार छलफल हुने बताए । सबैकुरा सहमतिपत्रमा लेख्न नसकिने उनको भनाइ थियो ।
तर आज भएको सहमतिमा चित्त नबुझेरै भदौ २९ गते शनिवार नेपाल शिक्षक महासङ्घ, पर्साले बैठक आह्वान गरेको छ ।