प्रस, जनकपुरधाम, २८ भदौ/
मधेस प्रदेशसभाबाट खेलकूद विधेयक सर्वसम्मतिले पारित भएको छ । शुक्रवार बसेको प्रदेशसभा बैठकले प्रदेशमा खेलकूद विकास गर्न बनेको विधेयक पारित गरेको हो ।

प्रदेश सरकारका खेलकूद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले प्रदेशसभामा खेलकूद विधेयक प्रस्तुत गरेका थिए । उक्त विधेयक प्रदेशसभा बैठकबाट ध्वनि मतले पारित भएको प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले घोषणा गरेका हुन् ।

सभाबाट पारित हुनु अघि विधेयकका विषयमा सदस्यहरूले राखेका जिज्ञासाहरूका बारेमा प्रदेशका खेलकूद तथा समाज कल्याण मन्त्री जयसवालले जवाफ दिएका थिए । उनले मधेस प्रदेशमा खेलकूदको स्तर माथि उठाउन, खेलाडीको मनोबल बढाउन, खेल संस्कृतिको निर्माण गरी प्रदेशमा खेलकूदमैत्री वातावरण निर्माण गर्नका लागि विधेयकले महŒवपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

यस अघि छलफलमा भाग लिंदै नेकपा एमाले प्रदेश संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले मधेसमा खेलकूदको वातावरण निर्माण गर्न तथा खेलाडीको मनोबल बढाउनका लागि ऐन आवश्यक भएको बताउँदै ढिलो गरी भएपनि ऐन आएकोमा खुशी व्यक्त गरे ।

विधेयकमाथि बुधवारदेखि नै छलफल शुरू भएको थियो । शुक्रवारको बैठकमा प्रदेशसभाका सदस्यहरू जिवछी यादव, शारदादेवी थापा, बिनादेवी शर्मालगायतले सुझाव दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here