मानिसलाई चाहिने पहिलो अधिकार बाल अधिकार हो । बाल अधिकारमा जन्मपूर्व गर्भमा नै संरक्षणको अधिकार, जन्म लिन पाउने अधिकार, नाम प्राप्त गर्न पाउने अधिकार तथा जन्मपश्चात् संरक्षण र पूर्ण सुरक्षाको अधिकार पर्छन् । वास्तवमा बालबालिकाले थाहा नपाई पाउने अधिकार हुन्, जन्मसित सम्बन्धित अधिकारहरू । यी अधिकारहरू बालबालिकाको तर्फबाट हेर्दा मात्र थाहा हुन्छ, अन्यथा अभिभावकको दृष्टिबाट हेर्दा अधिकारभन्दा कर्तव्य बढी देखा पर्छ । बालिबालिकालाई बाँच्न पाउने अधिकार, लेखपढ गर्न पाउने अधिकार र अन्य दृश्यमा जे जति अधिकार देखिन्छन्, सम्भव भएसम्म तिनीहरू पाउने अधिकार हुन्छन् । फेरि पनि, जन्म लिनुभन्दा पहिलेदेखि शिशु र बाल्यावस्थासम्म बालबालिकाले जे जति अधिकार पाउनुपर्ने हुन्छ वा जन्मजात अधिकार जे जति पाउनुपर्ने हुन्छ, अधिकार शब्दको व्याख्या हुनुभन्दा धेरै पहिलेदेखि बालबालिकाले पाउँदै आएका छन् । परिवेश फरक हुन सक्छ तर हरेक बालबालिकाले मातापिताको क्षमता अनुसार ती नैसर्गिक अधिकारहरूको प्राप्ति गर्दै आएका छन् ।
जसरी कतिपय अधिकार बालबालिकाले थाहा नै नपाई प्राप्त गरिरहेका वा गरिसकेका हुन्छन्, त्यसरी नै आजभोलिका बालबालिकाले थाहा नै नपाई मोबाइल चलाउन थालिसकेका हुन्छन् । जन्म दिन पाउँदा आमाबुबालाई खुशी लाग्छ, गर्वको अनुभूति हुन्छ । सम्भवतः यही समानतामा अहिले मोबाइल चलाउन थालेपछि आमाबुबालाई अनुभूति भइरहेको छ । शैशवावस्थामा नै मोबाइल थमाइदिन्छन् हातमा । हातले समाउन सक्ने क्षमता प्राप्त गरिसकेको हुँदैन कि मोबाइलका फोटो र कार्टुनका भिडियोहरू देखाउन शुरू गर्छन् । अनि मोबाइलमा जुन लाइट हुन्छ, सम्भवतः त्यसको कारणले पनि बालबालिका बढी आकर्षित हुन पुग्छन् । बिस्तारै अबोध बालबालिका एकछिन भोक सहन सक्छ तर मोबाइलविना रहन सक्दैन । रुन थाल्नुको अर्थ मोबाइल खोज्नु हो भन्ने पनि बुझिन थालिएको हो । जबकि पहिले अबोध शिशुले रुनुको अर्थ आमालाई खोज्नु हो भन्ने हुन्थ्यो । अहिले उसको आँखा सजिलै पुग्न सकिने ठाउँमा मोबाइल राखिदिनुपर्छ, मोबाइलमा कुनै कार्टुन हुुनुपर्छ, चलिरहेको भिडियो, त्यसको सङ्गीत र लाइटले शिशुलाई आकर्षित गरिरहेका हुन्छन् । यसरी अबोध शिशुलाई अनजानमैं मोबाइलको लत बसाल्नु वैज्ञानिक तथा स्वास्थ्यको दृष्टिले राम्रो हो कि होइन भन्ने विचार पु¥याउनु उचित हुन्छ ।
मानिसको सिकाइ गर्भदेखि नै हुन्छ भन्ने उदाहरण दिनको लागि धेरै ठाउँमा अभिमन्युको दृष्टान्त दिइन्छ । अभिमन्युले गर्भमा हुँदा नै चक्रव्यूहको कुरा सुनेका थिए । सुनेर धेरै कुरा सिकेका थिए । भनिन्छ, मानिसको सिकाइ गर्भबाटै हुन्छ । आधुनिक युगमा पनि यस कुरालाई केही हदसम्म सबैले मानेका छन् कि गर्भदेखि नै बालबालिकालाई स्वस्थ राख्नुपर्छ । मस्तिष्कको विकास, शरीरको विकास आदि कतिपय आधारभूत गुण पनि गर्भमैं विकास हुन्छ । यसैले चिकित्सकहरूले पनि बताउने गरेका छन् र समाजमा भनाइ पनि छ कि कतिपय गुण वा विशेषता जन्मजात हुन्छन् । जन्मजात हुने कतिपय गुणलाई परिवर्तन गर्न निकै कठिन हुन्छ वा असम्भव हुन्छ । यस कारण गर्भमा नै पनि सिकाइ हुन्छ भन्ने कुरालाई प्रत्यक्ष वा परोक्षरूपमा समाजले मानेको हुन्छ ।
बालबच्चा रहरले कि करले जन्माउने हो ? रहरले जन्माउने वा करले जन्माउने सवाल फरक हुन सक्ला तर सन्तानको मायामा पनि यसरी भेद ल्याउन उचित होला ? सन्तानलाई त हरेक मातापिताले उत्तिकै प्रेम गर्छन् । मातापिताले गर्ने प्रेमले नै बालबालिका केही हुन पाउँछन्, केही बन्न पाउँछन् । अनि यो पनि सत्य हो कि कोही पनि अभिभावक आफ्ना सन्तानलाई कमजोर होओस् भन्ने चाहँदैनन् तर जानी नजानी मोबाइलको कुलतमा फसेको कसरी देखिरहन्छन्, देखिसहन्छन् । कतिपय देशले अहिले सामाजिक सञ्जाल चलाउन पाउने उमेरबारे विचार गरिरहेका छन् । हो, हाम्रो समाजको लागि मोबाइल नयाँ हो । यसैले अहिले पनि प्रौढ पुस्ताले मोबाइलबारे धेरै जानकारी राख्दैन, जति नयाँ पुस्ताले राख्छ । यो फरक विषय अवश्य हो तर अभिभावकले विचार गर्नुपर्ने पक्ष चाहिं बालबालिकालाई कसरी मोबाइलको कुलतबाट बचाउने ? मोबाइलको कुलतबाट हुन सक्ने हानिनोक्सानीबारे पनि जानकारी लिनु उचित हुन्छ । आजभोजि बाल स्वास्थ्यसम्बन्धी जानकारीहरूमा अबोध बालबालिकालाई मोबाइलबाट टाढा राख्नुपर्ने सन्दर्भहरू आइरहन्छन् र मोबाइलको कुलतमा फसेपछि बालबालिकाहरूमा विभिन्न समस्या आउने गरेको पनि सन्दर्भहरूमा आइरहन्छन् । यसैले सम्भव भएसम्म बालबालिकालाई मोबाइलको कुलतबाट अभिभावकले टाढा राख्ने प्रयास गर्नुपर्छ ।
आजभोलिका बालबालिकालाई मोबाइल नसिकाउने होइन, अझ हामी उनीहरूबाटै सिक्नुपर्छ तर उपयोग र दुरुपयोगमा भिन्नता छ । बालबालिकालाई मोबाइलमा अभ्यस्त बनाउनु र मोबाइलको कुलतमा फस्न दिनुमा पनि आकाश–जमीनको भिन्नता छ । बालबालिकालाई मोबाइलबाट बचाउनेभन्दा पनि मोबाइलको कुलत वा दुरुपयोगबाट बचाउनुपर्छ । मोबाइलको कुलतले बालबालिकालाई मोबाइलविना केही पनि राम्रो नलाग्ने बन्दै जाने हुन्छ । कतिपय बालबालिका तथा किशोरलाई पनि मोबाइलको गेम खेल्न यति धेरै मन लाग्छ कि त्यो गेमबाहेक अरू केही पनि मन पर्दैन । गेम खेलेको कुरोलाई अभिभावकले किन खेलेको भन्ने प्रश्न गर्ने हो भने झ्वाट्टै रिसाउँछ । भनिन्छ, मोबाइल धेरै खेलेर नै यस प्रकारको रिसाउने बानी परेको हो । कतिपय त पढाइभन्दा बढी मोबाइल चलाएको र पढाइलाई ध्यानै नदिनेसम्मको कुलतमा परिसकेका हुन्छन् । पढाइलाई बिगारेर मोबाइललाई प्राथमिकता दिनु भनेको साँच्चीकै कुलतमा परिसकेको हो भन्ने कुरा अभिभावकले पनि बुझ्नुपर्छ । यस प्रकारको कुलतबाट बालबालिकालाई जोगाउनु अभिभावकको कर्तव्य हो । वास्तवमा अहिलेको समयको लागि भन्ने हो भने धर्म हो । उसो भए बालबालिकालाई मोबाइलबाट जोगाउन के के गर्न सकिन्छ त ? केही उपायबारे पनि विचार गरिरहनुपर्छ अन्यथा आफ्नो घरमा मोबाइल चलाउन नदिएपछि अरूको घरमा वा अरू साथीसित मोबाइल चलाउन पल्किन बेर लाग्दैन ।
मोबाइलले राम्रो कुरो पनि सिकाउँछ र खराब कुरो पनि । राम्रो र खराब छुट्याउन नसकिने बानीको विकास पनि गराउँछ । यसबाट जोगाउनको लागि बालबालिकालाई साहित्य सुनाउन सकिन्छ । बालबालिकालाई मन पर्ने किसिमको साहित्य पढाउन सकिन्छ । हो, हाम्रो क्षेत्रमा बालसाहित्यको अवस्था निकै कमजोर छ तर समाजमा बालसाहित्यको अवस्था कमजोर छैन । अहिलेका प्रौढहरूसित लोककथाको अक्षय भण्डार छ । यदि अभिभावकले चाहने हो भने यस प्रकारका कथाहरूको पुनर्कथन शुरू हुन सक्छ । र अझ यदि चाहने हो भने पत्रपत्रिकाहरूले प्रकाशन गर्न सक्छन् र यदि पढ्नलाई फुर्सद हुँदैन भने हाम्रो समाजको होइन, अन्यत्रका बालकथाहरू इन्टरनेटमा पर्याप्त छन् । यदि आफ्ना बालबालिकालाई सपार्न खोज्ने हो भने हरेकले अध्ययन गर्न सक्छौं । सक्नेले लेख्न सक्छौं । भनिन्छ, विकृतिको गति निकै तीव्र हुन्छ । हाम्रो समाजमा मोबाइलको विकृति निकै तीव्र गतिमा फैलिइसकेको छ र यस विकृतिले बालबालिकालाई निकै हानि गरिरहेको छ । कुनै पनि विकृतिलाई समाजबाट हटाउन सजिलो हुँदैन । हाम्रो समाजमा विकृतिको रूपमा पसिसकेको मोबाइलको बानीलाई हटाउन अलिकति कडा परिश्रम नै गर्नुपर्छ ।
आफूसित फुर्सद नभएको बेलामा मोबाइल दिएर फकाउने वा अल्झाउने बानी अभिभावकलाई पनि परिसकेको छ । सबैभन्दा पहिले त यसै बानीलाई सुधार गर्नुपरेको छ । बानीलाई सुधार गर्नु भनेको अलिकति आत्मसंयम पनि हो । अलिकति सङ्घर्ष पनि हो र अलिकति आत्मानुशासनको पालना गर्नु पनि हो । जब आफू यी कुरामा ध्यान दिन थाल्छौं, तब बालबालिकालाई पनि यस्ता कुरामा ध्यान दिन सजिलो हुन्छ । बालबालिकाहरूलाई मोबाइलमा जतिधेरै पल्किन प्रेरित गर्छौं, त्यो दलदलमा फसेजस्तै फस्दै जाने अवस्थाको सिर्जना हुन्छ तर बालबालिकाहरू आनन्द मानिरहन्छन् । यसको विकल्प पत्रिका नै हो, पुस्तक नै हो । पत्रिका र पुस्तकमा आफू पनि अल्झिने र बालबच्चालाई पनि अल्झाउने हो भने मात्र केही हदसम्म घरमा नै देखेर बालबच्चा सिक्न थाल्छन् अन्यथा आफूले नै भन्ने एकथोक र गर्ने अरूथोक हो भने उही एकातिर जान अर्कोतिर हिंडेको ठहरिन्छ । अहिले हामी अध्ययनलाई यसरी ठानेका छौं कि त्यो एक जमानाको कुरो हो । यदि कुनै पनि शिक्षित समुदायलाई देख्ने वा विचार गर्ने हो भने अध्ययन जहिले पनि वर्तमानको पक्ष हुन्छ र बालसाहित्यको अध्ययन त हरेक अभिभावकको लागि सदैव वर्तमानको सरोकार हुन्छ । युग सुहाउँदा कथाहरू र बालरुचिका अन्य पक्षहरूको जानकारीको लागि बालसाहित्यको अध्ययन गर्नु तथा गराउनु अनिवार्य छ ।
बालसाहित्यका आधुनिक पक्ष पनि निकै बलियो छ । यदि विचार गर्ने हो भने देश र विदेशमा बालसाहित्यका कृतिहरू निरन्तर प्रकाशन भइरहेका छन् । र अलिकति सुखद पक्ष कहाँनेर भेटिन्छ भने बालसाहित्यका कृतिहरू नेपालीमा पनि पर्याप्त प्रकाशन भइरहेका छन् । बालबालिकाहरू पनि बाक्लो मात्रामा साहित्यतिर आकर्षित भइरहेका छन् । नेपाली साहित्यको एउटा अङ्गको रूपमा बालसाहित्य स्थापित भइसकेको छ । बालबालिकाहरूमा मोबाइलको कुलतभन्दा साहित्यको लत राम्रो हो भन्ने कुरा कतिपय सन्दर्भमा परिसकेको पाइन्छ, कतिपय जिल्लामा यो प्रवृत्ति देखिन्छ । यसैले सम्भव भएसम्म बालबालिकालाई उनीहरूको मनपर्ने विधाको साहित्यमा अभ्यस्त बनाउने प्रयास हरेक अभिभावकले गर्नुपर्छ ।