– अनन्तकुमार लाल दास
कुनै समय साक्षरतालाई साहित्य र सिकाइसँग जोडेर हेर्ने गरिन्थ्यो। त्यस समयको बुझाइमा साक्षर भन्नाले ‘टु बी फेमिलियर विद् लिटरेचर’ वा ‘वेल एजुकेटेड’ भन्ने लाग्थ्यो। १९ औं शताब्दीको अन्त्यतिर साक्षरतालाई अक्षर पढ्ने र लेख्ने क्षमतासँग सम्बन्धित गरिएको पाइन्छ। त्यस समयमा साक्षरतालाई कुनै खास विधा वा विषयको ज्ञानसँग सम्बन्धित गराइन्थ्यो। साक्षर हुनु भनेको अङ्क र अक्षर चिन्नु मात्र हैन, यसलाई फराकिलोरूपमा हेर्नुपर्ने र भाषा र स्थान अनुसार यो फरक हुने भनाइ युनेस्कोको रहेको छ। यस प्रकार २० औं शताब्दीको बीचमा आइपुग्दा साक्षरता केवल अङ्क र अक्षरसँग मात्र सम्बन्धित नभएर विभिन्न विधासँग जोडिन पुगेको पाइन्छ। साक्षरताले मानिसको क्षमता विकास गर्ने मात्र नभई विभिन्न अवसरमा पहुँच स्थापित गर्दछ र त्यसलाई सामाजिक र प्रजातान्त्रिक पद्धतिमा आबद्ध गराई त्यसको अधिकतम उपभोग गर्न सक्ने बनाउनुका साथै आय आर्जनको ढोका समेत खोल्ने गर्छ। कतिपय विद्वान्हरूले साक्षरतालाई चेतना वृद्धि र विभिन्न प्रकारका दासताबाट मुक्ति पाउने माध्यमका रूपमा लिने गरेका छन्। त्यसैगरी साक्षरतालाई रोजगार र आर्थिक गतिविधिसँग जोड्नेहरू पनि छन्। तिनीहरू साक्षरताबाट मानिसलाई आय आर्जन र कार्यमूलक सीप प्रदान गर्नुपर्छ भन्ने सोच राख्छन्। यस प्रकार साक्षरता संस्कृति, राजनीति, अर्थ सबै विधासँग सम्बन्धित भएकोले यो सम्बन्धित विधाको अभ्यास र नीति निर्माण तहमा समेत पुगेको पाइन्छ।
आजकल साक्षरता पढाइ–लेखाइ र गणितमा मात्र सीमित नगरी यसमा अधिकार, दायित्व, सम्बन्ध र मनोरञ्जनसमेत थप गरी परिभाषित गर्ने गरिएको पाइन्छ। यसरी साक्षरतालाई विभिन्न आयामबाट हेर्ने गरिन्छ। साक्षरतालाई अधिकारको रूपमा, सबै प्रकारको सिकाइको आधारको रूपमा, व्यक्तिगत र सामाजिक विकासको जगको रूपमा, गरीबी निवारणको माध्यमको रूपमा, सहस्त्राब्दी विकास लक्ष्यको सशक्त माध्यमको रूपमा पनि लिइने गरिन्छ।
सन् १९९८ मा युनेस्कोले साक्षरतालाई लेखाइ–पढाइ र गणितसँग सम्बन्धित गरी सामान्यतया पढ्न–लेख्न र दैनिक जीवनमा आइपर्ने गणीतीय जोडघटाउ गर्न सक्ने भनी परिभाषित गरेको पाइन्छ। नेपालको सन्दर्भमा सन् १९५६ निकै महत्वपूर्ण वर्ष हो किनभने यसै वर्ष साक्षरता शिक्षाको शुरूआत भएको थियो। हालसम्म प्रचलित साक्षरताको परिभाषा अनुसार ‘प्रत्येक व्यक्तिले आफ्नो मातृभाषा वा राष्ट्रभाषामा पढाइ, लेखाइ वा अङ्कहरू र दैनिक जीवनमा प्रयोग हुने सामान्य हरहिसाब, कार्यमूलक विषय र दैनिक जीवनसँग सम्बन्धित साना वाक्यहरू बुझेर लेखपढ गर्न सक्ने, बुझेका कुरा एकआपसमा राम्ररी सम्प्रेषण गर्न सक्ने तथा साधारण हरहिसाब गर्न सक्ने बुझ्नुपर्छ। यस प्रकार पढ्न र लेख्न सक्ने क्षमता तथा लेखिएका कुरा अन्य व्यक्तिले अर्थपूर्ण ढङ्गबाट बुझ्न सक्ने गरी सञ्चार गर्न सक्ने सीपलाई नै सामान्य अर्थमा साक्षरता भनिन्छ। यद्यपि साक्षरतासम्बन्धी अवधारणा जटिल तथा बहुआयामिक रहेको विभिन्न अध्ययनबाट पाइन्छ। यसलाई भिन्न परिवेशमा विभिन्न तरीकाले व्याख्या र परिभाषित गरिंदै आएको छ। साक्षर वा निरक्षर भन्ने आम मानिसको बुझाइ तथा धारणालाई राष्ट्रिय परिवेश, सांस्कृतिक मूल्य–मान्यता तथा व्यक्तिगत अनुभवहरूले प्रभाव पारिरहेको हुन्छ। विश्वमा आएको सामाजिक, राजनीतिक, प्राविधिक र आर्थिक परिवर्तन तथा त्यससम्बन्धी गतिविधि र अभ्यासका कारण सारक्षरतासम्बन्धी बुझाइमा पनि परिवर्तन आएको छ। साधारण लेखपढ र हरहिसाब गर्न सक्नु, दैनिक जीवनमा आइपर्ने समस्या हल गर्न सक्नु, पेशागत नयाँनयाँ सूचना तथा जानकारी प्राप्त गरी जीवनोपयोगी बनाउन सक्नु नै साक्षरता हो भन्ने एउटा फराकिलो बुझाइ छ।
शिक्षाको समानार्थक अङ्ग्रेजी शब्द एजुकेशन हो। यो शब्द लैटिन भाषाबाट आएको हो। लैटिन शब्दको अर्थ सिकारुमा अन्तर्निहित प्रतिभा बाहिर ल्याउनु, विकसित गर्नुलाई शिक्षा भनिन्छ। सामान्यतया शिक्षा भनेको सिक्ने र सिकाउने प्रक्रियाद्वारा उत्तरदायित्व वहन गर्न सक्ने मानिस बनाउनका लागि ज्ञान, सीप र अभिवृद्धि प्राप्त गर्ने प्रक्रिया हो। शैक्षिक प्रक्रियाबाट ज्ञान, सीप र मूल्य एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ। शिक्षाको कारण नै मानिस सामाजिक, आर्थिक र सांस्कृतिकरूपमा सचेत बन्छ र दैनिक जीवनमा आइपर्ने समस्या समाधान गर्न सक्ष्Fम हुन्छ। शिक्षालाई ज्ञान, पढाइने विषय र प्रक्रियाको रूपमा हेरिन्छ। उदाहरणका लागि कसैले स्नातकोत्तर तहको उपाधि प्राप्त गरेको छ भने उसले उक्त तहको ज्ञान प्राप्त गरेको मानिन्छ। शिक्षालाई नै पठनपाठनको विषय बनाइएको छ भने त्यहाँ शिक्षा एउटा अध्ययनको विधा भयो। यसैगरी कुनै विषयवस्तु सिक्नका लागि जे जस्ता क्रियाकलाप अवलम्बन गरिन्छ त्यसलाई शिक्षाको प्रक्रियाको रूपमा लिइन्छ। शिक्षाले मानिसको सिकाइ प्रक्रियालाई बढाउने काम गर्दछ।
वर्तमान समय विज्ञान र प्रविधिको युग बन्न पुगेको छ। विज्ञान र प्रविधि हाम्रो जीवनको अभिन्न अङ्ग बनिसकेको छ। अहिलेको समयमा मानिसको बाँच्ने शैलीमा आएको व्यापक परिवर्तनको श्रेय नै विज्ञान र प्रविधिलाई जान्छ। मानव जीवनशैलीलाई गतिशील बनाउन सहयोग गर्ने साधन नै प्रविधि हो। प्रविधिको विकासले शिक्षा, सिकाइ र शिक्षण तीनवटै प्रक्रियामा परिवर्तन ल्याइदिएको छ। विभिन्न विद्वान्हरूले यही बदलिएको परिस्थितिको आलोकमा शिक्षाबारे भिन्न–भिन्न चिन्तन र मान्यता अगाडि ल्याइराखेका छन् र विगतको सिकाइ र बुझाइलाई परिष्कृत गर्दै लगेका छन्। शिक्षालाई बालबालिका र वयस्कहरूको प्रणालीगत जानकारी, पढाइ अर्थात् तालीम भनिएको छ। यो मान्यता अनुसार शिक्षालाई विस्तृतरूपमा परिभाषित गर्दा वयस्कले जीवनमा प्राप्त गरेका जानकारी, वा जनकारीको सम्पूर्ण भाग हो। कतिपयले जन्मदेखि मृत्युपर्यन्त पर्ने सबै प्रभावलाई शिक्षा भनेका छन् अर्थात् मानिसको हेराइ, बुझाइ र गराइमा आउने फेरबदललाई शिक्षासँग जोड्न पुगेका छन्। त्यसैले होला शिक्षालाई मानिसको पूर्ण विकास भनिएको छ। शिक्षाले मानिसको आन्तरिक शक्तिको स्वाभाविक, सुव्यवस्थित र प्रगतिशील विकास गर्छ भन्ने मानिएको छ।
शिक्षाको सन्दर्भमा महात्मा गाँधीको बुझाइ पनि कम रोचक र प्रेरक छैन। महात्मा गाँधीले शिक्षाबाट बालक र मानिसको शरीर, मन र आत्मामा रहेका असल कुरा सम्पूर्णरूपमा बाहिर ल्याउन सकिन्छ भनेका छन्। स्वामी विवेकानन्दले शिक्षाको उद्देश्य चरित्र निर्माण हुनुपर्छ भनेका छन्। व्यक्तिमा रहेका सम्भावनाहरू बाहिर ल्याउन सक्नुलाई नै शिक्षा मान्नुपर्छ भन्ने मान्यता बढेर गएको छ। शिक्षा एउटा प्रक्रिया भएको र यसले बालबालिकाको आन्तरिक गुण प्रकाशमा ल्याउने कुरामा विश्वास गर्दछ। यहींनिर पूर्वीय सभ्यता अनुसार हजारौं वर्ष पहिले ‘सा विद्या या विमुक्तये’ भन्ने दृष्टि ल्याइएको थियो। उपनिषद्का अनुसार शिक्षाले मानिसलाई मोक्ष प्राप्त गर्न सघाउँछ। नेल्सन मन्डेलाले भनेका छन् शिक्षा त्यस्तो सशक्त हतियार हो जसले संसार बदल्न सक्छ। शिक्षा जीवनपर्यन्त चलिरहने प्रक्रिया भएकोले मानिस पनि जीवनपर्यन्त सिकिरहेको हुन्छ। यस प्रकार मानिसको जन्म देखि मृत्युपर्यन्तका सम्पूर्ण सिकाइलाई तीन प्रकारमा छुट्याउन सकिन्छ। त्यो भनेको औपचारिक शिक्षा, अनौपचारिक शिक्षा र अरीतिक शिक्षा हो। औपचारिक शिक्षामा साधारण शिक्षा र प्राविधिक शिक्षाका साथै व्यावसायिक तालीमहरू समावेश हुन्छन्। अरीतिक शिक्षा भनेको विनाउद्देश्य र विनापाठ्यक्रम दैनिक जीवनको अनुभवबाट सिक्ने शिक्षा हो। मानिसले दैनिक जीवनमा विभिन्न ज्ञानेन्द्रियहरूको प्रयोग गरी हेरेर, सुनेर, सुँघेर, चाखेर, छामेर जुन ज्ञान, सीप र धारणा प्राप्त गर्छ त्यही नै अरीतिक शिक्षा हो। अनौपचारिक शिक्षा भन्नाले विद्यालय संरचनाभन्दा बाहिरका निरक्षर, शिक्षाको अवसरबाट वञ्चित बालबालिका र युवाहरूलाई दिइने साक्षरता शिक्षा र निरन्तर शिक्षाका कार्यक्रम भन्ने बुझिन्छ।
शिक्षाको बदलिंदो मान्यता र साक्षरताको बदलिंदो परिभाषाबारे यति गन्थनमनथन गर्नुको पछाडि हामीले नयाँ नेपालमा शिक्षासम्बन्धी कस्तो बुझाइ राख्ने ? शिक्षकबारे कस्तो धारणा राखिएको छ ? पूर्वीय मान्यता अनुसार शिक्षाले मुक्ति दिन्छ भन्ने कुरा नै मलाई नयाँ नेपालको लागि बढी उपयोगी लाग्छ। उसो त साक्षरता, शिक्षा र शिक्षकबारे दार्शनिक, सिद्धान्तकार र शिक्षाविद्हरूको आफ्नै मत र परिभाषा छ। हरेकले आआफ्नो तरीकाले परिभाषित गरेका छन्। अवश्य पनि ती परिभाषाहरू मननीय छन् तर मेरो व्यक्तिगत बुझाइ एउटा लामो समयदेखि शिक्षा विषयमा कलम चलाइराख्ने स्तम्भकारको रूपमा हेर्दा शिक्षाले मुक्ति दिन सक्नुपर्छ। त्यो मुक्ति भनेको अभावबाट, असमानताबाट, अवसरको वञ्चितिबाट मुक्त हुनु हो। शिक्षा प्राप्त गरिसकेपछि त्यो व्यक्ति स्वाभिमानी, स्वविवेकी, स्वावलम्बी, स्वाध्यायी बन्न सक्नुपर्छ। नयाँ नेपालमा शिक्षाबारे यस्तो दृष्टिकोण नराखेसम्म हामी विगतका विसङ्गतिबाट टाढा जान सक्दैनौं। यसैगरी एउटा शिक्षकको रूपमा करीब चार दशकको अनुभवबाट शिक्षण पेशालाई परिभाषित गर्दा पढेलेखेको व्यक्ति जागीरको सिलसिलामा शिक्षक पदमा आसीन हुँदैमा शिक्षक हुँदैन। शिक्षक हुन सबभन्दा बढी बालबालिकाप्रति समर्पण भाव हुनुपर्छ। शिक्षक त्यो हो, जसले हरेक बालबालिकालाई राम्ररी पढ्छ, बुझ्छ अनि उसको प्रतिभा, क्षमता र सम्भावना उजागर गर्ने अवसर निर्माण गर्न सतत प्रयत्नशील हुन्छ र सफल नभएसम्म प्रयत्न जारी राख्छ। एउटा शिक्षकमा समर्पण भाव मात्र पर्याप्त हुँदो रहेन छ। यससँगै विषयवस्तुको ज्ञान र प्रस्तुत गर्ने कला पनि उत्तिकै महत्वपूर्ण हुन्छ। यस आलेखमार्फत साक्षरता, शिक्षा र शिक्षकबारे परम्परागत बुझाइको जगमा उभिएर अलि उन्नत र परिष्कृत विमर्शतिर लम्किनु हो। कुनै पनि राष्ट्र र समाजका लागि शिक्षा प्राथमिक पक्ष हो तर विडम्बना के छ भने नयाँ नेपालको संविधान बनाउन लाग्दा शिक्षाबारे मूल बुझाइ नै अपूर्ण र एकाङ्गी छ।