तर्कको अभावमा अज्ञातको डरबाट अन्धविश्वास जन्मिन्छ• बैद्यनाथ श्रमजीवी

यसै हप्ता काठमाडौंबाट पोखराको लागि उडेको जहाज दुर्घटनाग्रस्त हुँदा १८ जना नेपालीले ज्यान गुमाए । त्यसभन्दा केही दिन अघि दुईवटा रात्रिबस त्रिशूली नदीमा पहिरोले गर्दा खस्दा ६५ जनाले ज्यान गुमाए । अहिलेसम्म जति प्रयास गरे पनि नदीमा खसेको बस फेला पार्न सकिएको छैन । यसरी प्रत्येक वर्ष लगभग १० हजार नेपालीको ज्यान सडक दुर्घटना (सवारी दुर्घटना)मा हुने गर्छ । यो हामी नेपालीको लागि सबैभन्दा दुःखद कुरा हो । तर यस प्रकारका दुर्घटनाहरूलाई नभएको काल्पनिक भाग्यसँग जोडेर व्याख्या गर्नु तथा त्यस्तो आधारहीन अवैज्ञानिक व्याख्याहरूलाई झन् कुनै मूर्तिविशेषमा पसिना आएकोले यस्तो अनिष्ट हुन गएको भनी प्रचार गर्नु कानूनी अपराध पनि हो । हाम्रो समाजमा पढेलेखेका तथा नपढेका दुवै वर्ग समुदायका मानिसहरूमा अन्धविश्वासको दर उच्च रहेको देखिन्छ । आखिर किन मानिसहरू अन्धविश्वासबाट यतिधेरै प्रभावित छन् ? के हो अन्धविश्वास ? के साँच्चिकै भीमेश्वर महादेवलाई पसिना आएर हवाई दुर्घटना भएको हो त ? आउनुस्, यसबारे केही चर्चा गरौं ।

अन्धविश्वास भनेको अन्धोहरूले गर्ने विश्वास हो भन्दा पनि हुन्छ । अर्थात् ज्ञान नभएका मानिसहरूले गर्ने विश्वास हो । तर यसको मतलब यो होइन कि ज्ञान नभएका मानिसले मात्रै अन्धविश्वास मान्छ । वास्तविकता यो हो कि पढेलेखेका मानिसहरू पनि अन्धविश्वास मान्छन् ।
अन्धविश्वास जसलाई अङ्ग्रेजी भाषामा ‘सुपरस्टिसन’ भनिन्छ, यो शब्द ल्याटिन भाषाबाट आएको हो । यसको अर्थ ‘परमेश्वरबाट डराउनू’ हो । वास्तवमा अन्धविश्वास भनेको त्यस्तो अभ्यास हो, जसको आधार भाग्य वा परम्परागत अवैज्ञानिक विश्वास हो । अन्धविश्वास जागरूकता र शिक्षाको अभावका कारण मात्र मानव समाजमा अस्तित्वमा रहेको होइन । यो अज्ञातको डरबाट पैदा भएको हुन्छ ।

अन्धविश्वासको जग परम्परा, संस्कृति र पुस्तौंदेखि गरिएको अभ्यास नै हो । यो समाजभित्र अनपढ वा पढेलेखेका विद्वान्हरूमा समेत जरा गाडेर बसेको हुनाले यसलाई हटाउन निकै गाह्रो छ । खासगरी कुनै व्यक्तिसँग तार्किक जवाफ छैन भने उसले अन्धविश्वासको सहारा लिएको देखिन्छ । संसारमा अझै पनि धेरै मानिस अन्धविश्वासमा भर पर्ने गरेका देखिन्छन् ।

मानिसहरूले किन अन्धविश्वासमा विश्वास गर्छन् भनेर दुई शब्दमा भन्ने हो भने यो पुष्टीकरण पूर्वाग्रह (कन्फरमेसन वायस) हो । यो नयाँ प्रमाणलाई आफ्नो अन्तरमनमा अव्यस्थित विश्वास वा सिद्धान्तहरूको पुष्टिको रूपमा व्याख्या गर्ने प्रवृत्ति हो । मानिसहरूले सफलतालाई मिहिनेत र परिश्रमसँग मात्र नभएर भाग्यसँग जोडेर हेर्ने गर्छन् । यस्तो प्रवृत्ति हाम्रो समाजमा मात्रै नभई विश्वव्यापी नै रहेको देखिन्छ ।

उदाहरणका लागि यदि एक विद्यार्थीले एउटा खास कलमले परीक्षा दिन्छ र ऊ राम्रो नतीजा ल्याउँछ भने उसलाई के लाग्छ भने उसले गरेको मेहनतले होइन भाग्यशाली उसको कलम हो । जसबाट लेख्दा उसको नतीजा राम्रो आएको हो । यो पनि अन्धविश्वास नै हो ।

हाम्रो समाजमा मात्र होइन संसारभरिका विभिन्न भागका मानिसले अन्धविश्वास राखेको देखिन्छ । जस्तो कि अमेरिकामा आफूले भनेको कुरा सत्य नहोस् भनेर मानिसले काठमा टकटक पार्छन् । अमेरिकी तथा अन्य पश्चिमाहरूले १३ अङ्कलाई नराम्रो मान्ने र यसले दुर्भाग्य निम्त्याउँछ भन्दै यसबाट सधैंभरि जोगिन प्रयास गर्छन् । त्यसैगरी, रूसमा कसैलाई जोडा सङ्ख्याको फूल दिएमा फूल लिने मानिसलाई दुर्भाग्यको कामना गरेको रूपमा लिइन्छ भने आयरल्यान्डमा ‘म्याक पी’ नामको चराको सङ्ख्या अनुसार भाग्य र दुर्भाग्यको निर्णय गरिन्छ । जापान र कोरियामा रातो मसीले नाम लेखेमा नाम लेखिने मानिसको मृत्यु हुन्छ भन्ने विश्वास गरिन्छ । यसलाई ‘ट्रिस्केडेकाफोफिया’ पनि भनिन्छ ।

यसरी नेपाल र भारतको सन्दर्भमा उल्टो चप्पलले दुर्भाग्य ल्याउँछ र कालो हाडी वा पुराना जुत्ता नयाँ गाडी वा निर्माण गर्न लागेको ठाउँमा झुन्ड्याएमा नराम्रो नजरबाट जोगिन्छ भन्ने विश्वास गरिन्छ । कालो बिरालोले बाटो काट्यो भने नराम्रो हुन्छ र हत्केला चिलाएमा पैसा खर्च हुने भन्ने विश्वास गरिन्छ । नेपाल र भारतमा विशेषगरी मानिसहरूले विधवा र कमजोर महिलालाई बोक्सीको आरोप लगाएर यातना दिने गरेका छन् । उनीहरूलाई अनेक दोष लगाएर फोहोर खुवाउने र नाङ्गो पारेर गाउ ँघुमाउने जस्ता अमानवीय काम प्रत्येक वर्ष हुने गरेको समाचारमाध्यमहरूमा प्रसारण भएको सबैले सुनेकै हो ।

समाजमा छुवाछूत नामक कुप्रथा विद्यमान छ । छुवाछूत कुप्रथाको कारण मानिसलाई कुटेर मारेको जस्ता जीउ सिरिङ हुने घटना भएका छन् । मानिसहरू आफ्नो घरभित्र कुकुरलाई राख्छन्, सोफामा बसाउँछन् तर तल्लो जात भनेर मानिसलाई घरभित्र आउन दिंदैनन् । हेला होचो गर्छन्, यो पनि अन्धविश्वासकै परिणाम हो । महिलाहरूलाई मासिक धर्म भएको बेला अशुद्ध मानी छाउपडीमा राख्दा कतिको छाउपडीमैं मृत्यु हुने गरेको छ ।

यी सबै अन्धविश्वासका उदाहरण हुन् । बोक्सी, छुवाछूत, छाउपडी जस्ता कुप्रथाहरू कानूनविरुद्धका प्रचलन हुन् । तर पनि के सुगम के दुर्गम, के गाउँ के नगर सबै क्षेत्रमा यस किसिमका अमानवीय कार्य अनपढ तथा विद्वान्हरूका घरभित्र व्यापकरूपले भएको देखिन्छ ।

अन्धविश्वासले मानिसहरूलाई आधुनिक विज्ञान र प्रविधिमा भन्दा अलौकिक शक्तिमा निर्भर हुन सिकाएको छ । विज्ञानले बनाइदिएको मोटरसाइकल, ट्रक, बस, जीप,कार, हवाईजहाज आदि चलाउने चालकले चलाउनुभन्दा पहिले मेशीनलाई ढोग्ने गरेको देखिन्छ । उसलाई राम्ररी थाहा छ, ढोगेर केही हुँदैन । उसले राम्ररी चलाउन सके मात्रै दुर्घटनाबाट जोगिन्छ तर चलाउने बेलामा जाँडरक्सी खाएर चलाउने वा अनिदो भएर चलाउने अनि दोष भाग्यलाई दिने यस प्रकारको अवस्थाले अन्धविश्वासलाई मलजल गरेको छ । यसले हाम्रो समाजमा नराम्रो असर पारिरहेको छ । हाम्रो समाजमा अझै पनि अन्धविश्वास जारी रहेकोले समाजको आधुनिकीकरणमा समेत अवरोध पु¥याइरहेको छ । यसले विकासमा बाधा पु¥याउँछ र समाजको उन्नतिमा गतिरोध ल्याउँछ । गाउँशहरमा रहेका विद्यालय तथा अस्पतालहरूको गुणस्तर कसरी उकास्ने हो ? के गरेर राम्रो उत्पादन गर्ने हो ? यसतर्फ ध्यान दिनुको सट्टा भएका मन्दिरहरूको सौन्दर्यीकरण कसरी गर्ने अझै ठूलाठूला मन्दिर कसरी बनाउने विभिन्न खालका झाँकी यात्राहरूको सुरुआत गर्ने जस्ता अन्धविश्वासी कुराहरूमा लाखौं लाख खर्च गर्ने बानीले गर्दा समाज विकास गर्नुभन्दा पतनको बाटोमा अघि बढिरहेको स्पष्ट हेर्न सकिन्छ ।

अन्धविश्वास उन्मूलन गर्नको लागि जनताभित्रबाट जबसम्म डर भन्ने चीज हट्दैन, तबसम्म यसको उन्मूलन सम्भव छैन ।

जनतामा चेतना जगाउनुपर्छ । शिक्षा र चेतनाको स्तर बढ्दै जाँदा तर्क र तथ्यमा विश्वास गर्ने प्रवृत्ति बढ्छ । यस प्रवृत्तिले अज्ञातबाट पैदा हुने डरबाट बच्न अन्धविश्वास हैन, आत्मविश्वासको विकास गर्न प्रेरित गर्छ । त्यसैले हामीले अन्धविश्वासको सट्टा वैज्ञानिक तथ्यहरूमा विश्वास गर्नुपर्छ । भाग्यभन्दा कार्यमा विश्वास गर्नुपर्छ । श्रम र परिश्रममा विश्वास गर्नुपर्छ । तसर्थ हामीले अन्धविश्वास त्यागेर विज्ञान र तर्कको बाटोमा लाग्नुपर्छ । आफ्नो गाउँनगरमा भएका विकास बजेट विद्यालयहरूमा रहेका विज्ञान प्रयोगशालाको अवस्था के कस्तो छ, त्यसको प्रयोग के कस्तो छ, यी कुराहरूको नियमित अनुगमन र निरीक्षण, दण्डसजाय पुरस्कार आदिको माध्यमबाट जाने हो भने समाजभित्रबाट अन्धविश्वास हटाउन सजिलो हुन्छ । न कि टोलटोलमा मन्दिर बनाउने, मस्जिद बनाउने, चर्च बनाउने यस्ता धार्मिक संस्थाहरू बनाएर धर्ममा मान्छेलाई लिप्त गराएर अन्धविश्वासलाई बढाएर विज्ञानलाई पछाडि पारेर कहिले पनि समाज अगाडि बढ्न सक्दैन । यो कुरो सबैले बुझ्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here