धान उत्पादन बढ्ने सङ्केत

यस वर्ष धानबालीको समयमा पर्सेली किसानहरूले रोपाइँका लागि सिंचाइ र मलको समस्या भोग्नुपरेको छैन । बर्सेनि यो समस्या भोग्दै आएका यहाँका किसानहरूले अहिले धान रोपाइँको बखत र त्यसपछिका समयमा आवश्यक सिंचाइ र मलको समस्या बेहोर्नुपरेको छैन । अगहनी धान रोपाइँका बखत यस वर्ष आकाशे सिंचाइसँगै गण्डक नहरले पनि समयमा पानी दिएको छ । गण्डक नहरमा बर्सेनि दुईपटक भारतले पानी छाड्दै आएको छ । यस अघि नहरमा पानी बाली रोप्ने समयमा नछाडिने गरेको कारण समस्या हुने गरेको थियो । असारको १५ र माघको १५ मा गण्डक नहरमा पानी दिनुपर्ने भारतसँगको सम्झौता छ । गण्डक नहर पर्सा, बारा र रौतहट गरी तीन जिल्लासम्म करीब ८१ किलोमिटर लामो छ । अहिले भारतले गण्डक नहरमा असार १३ गतेदेखि नै नेपालको राष्ट्रिय धान दिवसलाई लक्षित गरेर पानी दिएको छ । औसतमा साढे ८५० क्युसेक पानी दिनुपर्ने सम्झौता भएपनि अहिलेसम्म भारतले ६५० क्युसेकभन्दा बढी पानी दिएको छैन ।

अहिले भारतले दिएको पानी पर्सा र बाराका किसानहरूसम्म मात्र पुग्न सकेको छ भने रौतहटका किसान गण्डक नहरबाट यो वर्ष अहिलेसम्म लाभान्वित हुन सकेका छैनन् । बाराको जमुनिया खोलासम्म मात्र ६५० क्युसेक पानी पुगेको छ । पर्साका ४५ हजार र बाराका ६० हजार हेक्टर जमीन गण्डक नहरको पानीबाट सिञ्चित भएको छ । धानबालीका लागि असार र गहुँबालीका लागि माघमा गण्डक नहरमा सिंचाइका लागि पानी आउँछ । तर यस्तो यस वर्ष मात्र सम्भव भएको छ । धानबालीको बखत समयमा गण्डक नहरमा पानी छ । अब माघमा गहुँबालीको लागि समयमा गण्डक नहरमा पानी आउने कुरामा भने सन्देह नै छ । पर्सामा गण्डक नहरदेखि उत्तर पश्चिम क्षेत्र थारुवानमा सिंचाइका विभिन्न विकल्पहरू छन् । डीप बोरिङ, कुलोको व्यवस्था पर्याप्त मात्रामा रहेकाले थरुहट क्ष्Fेत्रमा धान, गहुँ र चैते धानबाली समयमा हुने गरेको छ । यसका अतिरिक्त अन्य बालीहरू पनि थरुहट क्षेत्रमा हुँदै आएका छन् । थरुहटमा बर्सेनि तीन बाली पर्याप्त सिंचाइ सुविधाका कारण हुँदै आएको छ । तर जिल्लाको गण्डक नहरदेखि दक्षिणपश्चिम बझियान क्षेत्रमा भने सिंचाइको लागि गण्डक नहर र आकाशे पानीबाहेक सिंचाइका अन्य व्यवस्था छैनन्, जसले गर्दा बझियानमा बर्सेनि दुई बाली धान र गहुँ मात्र हुन्छ ।

यस वर्ष पर्सामा सिंचाइको अवस्था राम्रो रह्यो भने मलको पनि खासै समस्या नभएको किसानहरूको भोगाइ छ । किसानहरूलाई धान रोपाइँको बखत युरिया, डिएपी र पोटास गरी तीनैथरीका मल आवश्यक हुन्छ । धान रोपाइँ सम्भवतः अन्तिम अवस्थामा छ । यो बखतसम्म मल सहज उपलब्ध भएको किसानहरूको भनाइ छ । अन्यथा प्रत्येक वर्ष पर्सेली मात्र होइन देशभरका किसानले बाली लगाउने बेलामा मलको अभाव झेल्दै आएका छन् । देशभर करीब ७० लाख मेटन मल आवश्यक पर्छ तर सरकारले भने ४० लाख मेटन मात्र आयात गर्दै आएकोले मलको समस्या भएको हो । यस वर्ष भने मलको आयात समयमा भएको र सिंचाइ सुविधा पनि किसानले समयमा पाएकाले धानको उत्पादन वृद्धि हुने सङ्केत देखा परेको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्