विद्यार्थीहरूको लागि पौष्टिक खाजा र खाना धेरै आवश्यक हुन्छ तर यस तर्फको ज्ञानको कमीले गर्दा उनीहरू पौष्टिक खाजा र खाना खाइरहेका हुँदैनन्। पढाइको बोझ र त्यसबाट उत्पन्न हुने तनावले गर्दा पनि उनीहरूको ध्यान खाजा र खाना तर्फ बढी हुँदैन। अभिभावकमा पनि यस सम्बन्धी ज्ञानको कमीले यसमा बढी ध्यान दिएको पाइँदैन। शरीरलाई चाहिने एक तिहाई पोषण हामीलाई बिहानको खाजाबाट प्राप्त हुनुपर्छ, किनभने हाम्रो दिनको खानामा खाजा धेरै महत्वपूर्ण हुन्छ। पौष्टिक खाजा खानाले पढाइबाट ध्यान भङ्ग हुँदैन। विद्यार्थीहरूले ध्यान दिनुपर्ने कुरो के हो भने जति मात्रामा उनीहरूले पौष्टिक खाजा खान्छन् त्यतिकै मात्रामा उनीहरू पढाइमा राम्रो प्रदर्शन गर्न सक्छन्। यस कारण विद्यार्थीहरूले बढी खाजा, त्यसभन्दा कम दिनको खाना र सोभन्दा पनि कम रातिको खाना खानुपर्छ। खाजा यस्तो हुनुपर्छ जसबाट पेट भरिएको अनुभव होस् तथा अल्छी पनि नलागोस्।
खाजामा कम्प्लैक्स कार्बोहाइड्रेटको रूपमा जौ र अन्य खाद्यान्न वस्तु मिसाएर बनेको दलियाको सेवन विद्यार्थीहरूको तनाव कम गर्न धेरै सहायक हुन्छ। यसको सेवनले मस्तिष्कलाई सेरोटोनीन रसायन उत्पन्न गर्न प्रोत्साहित गर्दछ। सेरोटोनीनलाई ‘फील गुड’ रसायन पनि भनिन्छ। अध्ययनले के देखाएको छ भने जुन केटाकेटीहरूले खाजामा यस्तो दलिया प्रयोग गर्छन्, उनीहरू बिहानभरि उत्साहित रहन्छन्। यसमा बीटा ग्लूकन नामक एउटा घुलनशील फाइबर हुन्छ जसले अन्य खाद्यान्नभन्दा बढी तृप्ति प्रदान गर्छ। खाजामा यदि ब्रेड खान्छन् भने ब्राउन ब्रेड नै खानुपर्छ। यसबाहेक प्रत्येक दिन परिवर्तन गरेर खाजा खानुपर्छ। खाजामा दूध, अन्डा, उमालेको चना, फलको रस, पोहा (च्यूरा), मक्खन वा कैयन प्रकारको आटा मिसाएर बनाएको रोटी वा पराठा आदि खानुपर्छ।
यसबाहेक धेरै यस्ता फलहरू छन् जो मस्तिष्कको विकासको लागि धेरै सहयोगी हुन सक्छन्। यस्ता फलहरूमध्ये केरा, अंगुर, चेरी, सुन्तला, अनार, तरबुज, एवोकाडो आदि प्रमुख हुन्। केरामा ट्रिप्टोफान हुन्छ जसले विद्यार्थीहरूको मूड बनाउनुका साथै डिप्रेशन पनि कम गर्छ। यसमा भएको विटामिन बी–६ ले स्मरण शक्ति बढाउँछ। अंगुरमा फ्लेबोनायड नामक एउटा तत्व हुन्छ, जसले दिमागसँग सम्बन्धित बीमारीहरूबाट जोगाउँछ, साथै दिमागको विकासमा पनि सहायक हुन्छ। चेरी, प्रकृतिको सबैभन्दा शक्तिशाली एन्टी इन्फ्लेमेटरी सिपाही हो। यसमा भएको मेलाटोनिन हार्मोनले हाम्रो निद्रा नियन्त्रित गर्दछ। विटामिन–सीको पावरहाउस सुन्तलाले हाम्रो अशान्त मनलाई शान्त गर्ने काम गर्छ। अनारमा चाहिए जति फाइटोकेमिकल्स, फ्लेबोनायड र पालिफिनोल हुन्छ जसले तनाव कम गर्नमा धेरै महत्वपूर्ण भूमिका निर्वाह गर्छ। तरबूजमा विटामिन–ए, बीटा कैरोटीन र विटामिन–सी धेरै मात्रामा हुन्छ। यसमा पोटेशियम पनि भएकोले मस्तिष्कलाई धेरै आक्सीजन प्राप्त हुन्छ। एवोकाडो एउटा यस्तो फैटी एसिड हो जसलाई ओलेइक एसिड भनिन्छ। यस एसिडले मस्तिष्कमा भएको सेतो पदार्थ ‘माइलिन’लाई बढाउँछ। माइलिनले न्यूरान्समार्फत हुने सूचना आदानप्रदानलाई गति दिने काम गर्दछ। माइलिन कम भएको विद्यार्थीहरू नै मन्दबुद्धि हुन्छन्।
हुनत विद्यार्थीहरूले अनेकौं प्रकारका तरकारीहरू खान्छन्। फलहरू जस्तै कैयन तरकारी पनि मस्तिष्कको राम्रो साथी हुन सक्छ। खासगरी पालक र हरियो पात भएका तरकारीहरू, टमाटर, ब्रोकाउली–फूलगोभी, हरियो केराउ, चुकन्दर, लौका आदि विद्यार्थीहरूले नियमित आफ्नो खानामा सामेल गर्नुपर्छ। पालकमा विटामिन–के पाइन्छ जुन दिमाग र नसाका लागि धेरै उपयोगी हुन्छ। यसले रोग प्रतिरोधक क्षमता बढाउँछ। पालकले मस्तिष्कलाई स्वस्थ राख्न पनि प्रमुख भूमिका निर्वाह गर्छ। यसले न्यूरोट्रान्समिटर्सको निर्माणमा पनि मदत गर्छ, जुन हाम्रो चिन्तन क्षमता र स्मरणशक्तिको लागि जिम्मेवार हुन्छ। टमाटरमा विटामिन–सी, ए, बी–६, नियासीन, फोलेट, सोडियम, कार्बोहाइड्रेट, आयरन, कैल्सियम, प्रोटिन, फाइबर आदि भएकोले अल्जाइमर रोगको जोखिम कम गर्नुको साथै कोशिकाको शत्रु फ्री रेडिकल्ससँग पनि लड्छ। ब्रोकाउली(फूलगोभीमा भएको सल्फोराफेन नामक रसायनले मस्तिष्कमा ब्लड ब्रेन बैरियरलाई बलियो बनाउँछ। ब्लड ब्रेन बैरियर एक प्रकारको प्लाज्मा हो जुन रगतमा भएको नराम्रो तत्वबाट मस्तिष्कलाई सुरक्षा प्रदान गर्छ। हरियो केराउमा भएको मैग्निशियम, आयरन, प्रोटिन र फाइबरले मस्तिष्कमा भएको रसायन निर्माणमा प्रमुख भूमिका निर्वाह गर्छ। हरियो केराउमा भएको पेंटोथेनिक एसिडले सुतिरहेको बेला मस्तिष्कको कार्यप्रणालीलाई नियन्त्रित गर्छ। चुकन्दरले शरीरमा नाइट्रेट्सलाई बढाउँछ जसले रगतको प्रवाह सन्तुलित पार्छ। लौकामा पर्याप्त मात्रामा प्रोटिन, कार्बोहाइड्रेट, फाइबर र मिनरल हुन्छ जसले शरीरबाट पित्तलाई बाहिर झिकेर शरीरको तनाव कम गर्छ। यसले हाम्रो हाम्रो कोशिकातन्त्रलाई सञ्चालित राख्छ।
विटामिन–बीले मस्तिष्कसम्बन्धी परेशानीमा विशेष फाइदा पु–याउँछ। विटामिन–बी ६ ले मस्तिष्कको विभिन्न न्यूरोट्रान्समिटर्स निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ। यो दूध, अन्डा, विशेषरूपले मुग र मसुरीको दाल, ब्राउन राइस, गहुँ, मासु आदिमा पाइन्छ। यसले हाम्रो मुड ठीक पार्छ, राम्रो निद्रा लाग्छ, स्मरण शक्ति बढाउँछ, कोशिकाहरूलाई ऊर्जा प्रदान गर्छ, दिमागलाई स्वस्थ राख्छ। यसबाहेक मस्तिष्कलाई पानीको धेरै आवश्यकता हुन्छ। विद्यार्थीहरूले सधैं पढाइ गर्नु पूर्व र पढिराखेको बेला पानी खाइरहनुपर्छ। यसबाहेक दिनभरि पानी खाइरहनुपर्छ। जुन विद्यार्थीले कम पानी खान्छ उनीहरूमा ध्यान केन्द्रित गर्ने क्षमता कम हुन्छ। पानीले शरीरमाथि पर्ने दबाब कम गर्छ र हाम्रो ध्यानलाई केन्द्रित गर्ने क्षमता बढाउँछ। माइग्रेन र टाउको दुःखाइको कारण शरीरमा पानीको कमी हुनु पनि हो। विशेषज्ञहरूका अनुसार यदि कसैलाई माइग्रेनको शिकायत छ भने महिलाले दिनभरिमा कम्तीमा ९ गिलास र पुरुषले १३ गिलास पानी खानुपर्छ। यहाँ विद्यार्थीहरूले ध्यान दिनुपर्ने कुरो के हो भने शरीरलाई पानी दिने चक्करमा सोडा र धेरै चिनी भएका पेय पदार्थ जस्तै कोल्ड ड्रिङ्क, चिया, कफी वा जूससँग टाढा बस्नु नै बेस हुन्छ। यसले माइग्रेनलाई कम गर्नुको साटो बढाउँछ। पानीको विकल्पमा नरिवल पानी लिन सकिन्छ।
नेपाली समाजमा अतिथि वा साथीभाइ घर आउँदा चिया खुवाउने चलन छ। यदि चिया नै खुवाउनुछ भने शरीरलाई फाइदा हुने ग्रीन टी वा हर्बल टी खुवाउनुपर्छ। ग्रीन टीमा पालिफिनोल नामक एन्टिआक्सीडेन्ट हुन्छ, जसले बढिरहेको उमेरमा लगाम लगाउँछ। ग्रीन टीले स्मरण शक्ति बढाउने काम पनि गर्छ। यो दिमागको लागि राम्रो हो भने अल्जाइमर र पार्किन्सन रोगको शत्रु हो। ग्रीन टी एकातिर कैंसरविरुद्ध लड्छ भने दिमागलाई खुशी पनि प्रदान गर्छ। हर्बल चियाका लागि अतिरिक्त पैसा खर्च गर्न आवश्यक छैन। घरमै भएका सामग्री प्रयोग गरेर हर्बल चिया बनाउन सकिन्छ। हर्बल चिया बनाउन २०० ग्राम धनिया पाउडर, ५० ग्राम जीरा पाउडर, ५० ग्राम सुठो र एक चम्चा कालो मरीचको पाउडर मिसाएर हर्बल चिया बनाउन सकिन्छ। अब यस पाउडरको एक चम्चा डेढ कप पानीमा हालेर त्यसमा तुल्सीको दुईचार पात, सानो इलायची र अलिकति सौंफ हालेर एक मिनेट उमाल्नुपर्छ। शुरूमा यसमा कम मात्रामा चियापत्ती पनि हाल्न सकिन्छ। आधा चम्चा चीनी र मिश्रण उमालेपछि दूध पनि हाल्न सकिन्छ। यसमा भएको सौंफ आन्द्राको लागि, सानो इलायची मस्तिष्कको लागि, तुलसीले ज्वरो र खोकी कम गर्नुको साथै जीउ दुखेकोमा फाइदा पु–याउँछ।
विद्यार्थीहरूले आफूलाई चुस्त–दुरुस्त राख्नको लागि केही खानेकुरा त्याग्नु पनि त्यतिकै आवश्यक छ। जुन बेला उनीहरूले आफ्नो दिमागलाई चुस्त राख्न चाहन्छन् त्यस बेला बढी कार्बोहाइड्रेट भएका खाना कम खानुपर्छ किनभने बढी कार्बोहाइड्रेटको सेवनले मस्तिष्कलाई अल्छी बनाउँछ। कार्बोहाइड्रेटको रूपमा बढी चिनी भएको, आइसक्रीम वा अन्य सेचुरेटेड फैट भएको कुरो बढी खानुहुँदैन। यसबाट ब्लड सुगरको स्तर बढ्छ र मस्तिष्कमा भ्रमको स्थिति वा बेचैनी बढ्छ। ध्यान केन्द्रित गर्न गा–हो हुन्छ। विद्यार्थीहरूले बढी प्रोसेस्ड फूड जस्तै नुनिलो स्नैक्स, चिप्स, सास, सूप र बट्टाबन्द खाद्यपदार्थ खानुहुँदैन किनभने यसमा मोनोसोडियम ग्लूटामेट भएकोले माइग्रेनलाई बढाउँछ। पिज्जा, मोमो, कुरकुरे, नमकीन, बिस्कुट आदिमा भएको यिस्ट, प्रोसेस्ड मीट वा सुंगुरको मीटमा भएको टाइरामाइन र प्रिजरवेटिभ र फुल क्रीम भएको दूधमा पाइने चोलाइन र केसिनजस्ता तत्वले पनि दिमागमा गडबडी ल्याउन सक्छ।
यसबाहेक विद्यार्थीहरूका लागि प्रतिदिन २० ग्राम ओखर र १० ग्राम किसमिस खानु उपयोगी हुन्छ। मह प्रतिदिन कुनै न कुनै रूपमा खानुपर्छ। खानु अघि बोक्रासहितको स्याउ, एक चम्चा ब्राह्मीको रस, भटमासको पीठो, चिसो याममा गाजर, १० ग्राम दालचीनी वा धनियाको पाउडर, मह मिलाएर, अदुवा जीरा र मिश्री कुटेर तथा तुलसीको नौवटा पात, गुलाबको पात र एउटा कालोमरीच मिसाएर खाँदा मस्तिष्क र स्मरण शक्ति विकासको लागि धेरै फाइदाजनक हुन्छ। अन्त्यमा विद्यार्थीहरूले बुझ्नुपर्ने कुरो के हो भने मस्तिष्कलाई चाहिने पौष्टिक खाजा र खाना नखाँदा न लगातार परिश्रम गर्न सकिन्छ, न कुराहरू राम्ररी बुझ्न नै सकिन्छ। यस कारण विद्यार्थीहरूले एउटा स्वस्थ जीवन शैली विकास गर्नुपर्छ अर्थात् सन्तुलित आहार खानुपर्छ। यदि तपाईं आफ्नो नाम टापर्सको सूचीमा सामेल गर्न चाहनुहुन्छ भने खाजा र खानामाथि ध्यान पु–याउनु उपयोगी साबित हुन्छ।