– राकेश अधिकारी

असार १३ गते निस्केको माध्यमिक शिक्षा परीक्षा (एसइई)को रिजल्टले शैक्षिक दुरवस्थालाई सतहमा ल्याइदिएको छ। प्राप्त यस्तो परिणाममा एकअर्कामा आरोप–प्रत्यारोप लगाउनुभन्दा पनि आगामी दिनमा यसबाट पाठ सिकेर कसरी सुधार गर्न सकिन्छ, सोबारे गहन अध्ययन गरी युद्ध गतिमा काम गर्नुपर्ने हुन्छ। नभए पुनः अर्काे वर्ष पनि यही नियति हुन जाने बेर छैन।

यसपालि सबैभन्दा धेरै गणित विषयमा एक लाख ७७ हजार ९८५ जना परीक्षार्थी असफल भए। त्यसैगरी, विज्ञान र अङ्ग्रेजी विषयमा क्रमशः एक लाख २६ हजार ९३३ र एक लाख १३ हजार ३८३ जना परीक्षार्थी असफल भए। त्यस्तै, नेपाली तथा सामाजिक विषयमा क्रमशः ७९ हजार ६१ र ७३ हजार ८७७ जना परीक्षार्थी अनुत्तीर्ण भएका तथ्याङ्कले देखाएको छ।

अब प्रश्न उठ्छ कि मुख्य विषयमा नै विद्यार्थीहरू किन कमजोर भए ? यसमा कसको गलती छ ? यस्ता विद्यार्थीहरू उत्तीर्ण भएपनि भविष्यको प्रतिस्पर्धामा आफूलाई कसरी प्रस्तुत गर्न सक्छन् ?
यसको मूल कारण जबसम्म पत्ता लगाइ समाधान गर्न सकिन्न, तबसम्म समस्या जहाँको त्यहीं रहन जान्छ र आउँदा दिनमा पनि अवस्था जस्ताको त्यस्तै रहन्छ। त्यसका लागि निम्न उपाय गर्दा केही हदसम्म सुधार हुन्थ्यो कि–

१)नर्सरीदेखि नै प्रयोगात्मक शिक्षा दिने, जसबाट विद्यार्थीको पूर्णरूपले क्षमता विस्तार होस्।

२)सबै विद्यार्थी पास हुनुपर्ने नीति खारेज गरी तल्लो कक्षामा पनि विद्यार्थीलाई रोक्ने।

३)एउटा जिल्लाको शिक्षकलाई अर्काे जिल्ला वा प्रदेशमा पठाउने।

४)जुन विषयमा विद्यार्थी कमजोर छन्, त्यसको लागि अतिरिक्त कक्षा सञ्चालन गर्न लगाउने र त्यसको लागि अभिभावकसँग पनि केही शुल्क लिने।

५)सकेसम्म स्थानीय तहलाई शिक्षाको जिम्मेवारी नदिने।

६)देशभरमा दरबन्दी खाली शिक्षकको तथ्याङ्क सङ्कलन गरी एकैपटक पदपूर्ति गर्ने।

७)शिक्षकको पदपूर्तिको लागि पूर्णरूपले लोकसेवा आयोगलाई संलग्न गराउने।

८)शिक्षकको तलबमान समयसापेक्ष बढाइ उनीहरूलाई अन्यत्र पढाउन नदिने व्यवस्था गर्ने।

९)लगातार तीन वर्षसम्म रिजल्ट राम्रो नआउने विद्यालयको हकमा प्रधानाध्यापक तथा विषयगत शिक्षकलाई कारबाईको दायरामा ल्याउन कडा कानून बनाउने।

१०)शैक्षिक संस्थालाई शून्य राजनीतिमा राख्ने।

११)शिक्षकलाई राजनीतिबाट टाढा राख्ने कानून जतिसक्दो चाँडै कार्यान्वयनमा ल्याउने।

१२)आफ्नालाई भन्दा राम्रालाई अवसर दिने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here