हाथरस, भारत, १९ असार/एएफपी

उत्तरी भारतमा आयोजित हिन्दू धार्मिकसभामा मङ्गलवार भएको घातक भागदौडका कारण घाइते भएका थप २४ व्यक्तिको मृत्युसँगै बुधवारसम्म मृत्यु हुनेको सङ्ख्या १२१ पुगेको छ।

प्रहरी प्रतिवेदन अनुसार भारतको उत्तर प्रदेश राज्यमा भएको सभामा दुई लाख ५० हजारभन्दा बढी धर्मावलम्बीले भाग लिएका समय एक्कासि भागदौड हुँदा ठूलो सङ्ख्यामा हताहत भएको थियो।

घटनाको केही समयपश्चात् बुधवार बिहान प्mयाँकिएका कपडा र हराएका जुत्ताहरू राजमार्गको छेउमा रहेको खुला मैदानमा छरिएका थिए।

अधिकारीहरूका अनुसार उपासकहरूले प्रचारकको पाइलाबाट माटो सङ्कलन गर्ने प्रयास गर्दा भागदौड शुरू भएको बताएका छन् भने कतिपयले धूलोको आँधी आउँदा भागदौड मच्चिएको बताएका छन्।

“महिला र बालबालिकासहित सम्पूर्ण भीड एकैचोटि कार्यक्रम स्थलबाट निस्किए। निकासका लागि पर्याप्त ठाउँ थिएन र मानिसहरू एकअर्कामाथि थिचिएका थिए”– सुरक्षा सेवामा खटेका प्रहरी अधिकारी शीला मौर्यले बताइन्।

धेरैको एकले अर्कालाई कुल्चिएर, एकमाथि अर्को ढलेर र केही मानिस भागदौडमा सडक किनारको नालीमा खसेर मृत्यु भएको थियो। मृत्यु हुनेमा सात बालबालिका, एक पुरुष र बाँकी महिला थिए।

उत्तर प्रदेश राज्य विपद् व्यवस्थापन केन्द्र, राहत आयुक्तको कार्यालयले बुधवार बिहान मृतकको सूची जारी गरेको छ। यसले घटनामा १२१ जनाको मृत्यु भएको बताएको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here