परिपक्व पत्रकारिताका लागि सम्पादकीय स्वतन्त्रता आवश्यक’

काठमाडौं, १९ असार/रासस

प्रेस काउन्सिल नेपालले परिपक्व पत्रकारिताका लागि सञ्चारमाध्यममा सम्पादकीय स्वतन्त्रता प्रदान गरिनुपर्ने आवश्यकता औंल्याएको छ।

काउन्सिलद्वारा बुधवार आयोजित ‘समाचार सम्पादनमा पत्रकार आचारसंहिताको सवाल’ विषयक अन्तत्र्रिmयामा पत्रकारिताको महत्व र आकर्षण कायम राख्न सूचना तथा समाचार छुट्याएर सम्प्रेषण गर्न सक्नुपर्नेमा जोड दिइयो।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मर्यादित र विश्वसनीय पत्रकारिताका लागि प्रत्येक सञ्चारगृहले आआफ्नो आचारसंहिता लागू गर्न सक्ने बताए। उनले भने, “समाचार कक्षमा सम्पादकीय स्वतन्त्रता हुनुपर्छ। बजारमा सूचनाको बाढी छ तर ती सबै सूचना समाचार होइनन्। यसमा ध्यान दिन पत्रपत्रिकालगायत परम्परागत सञ्चारमाध्यमलाई जोगाइराख्न प्रविधिमैत्री बनाउनुपर्छ।”

शेयर बजार र आर्थिक गतिविधिसँग जोडिएका विषयलाई विशेषरूपमा अध्ययन गर्ने बताउँदै उनले पत्रकारिता क्षेत्रलाई सशक्त बनाउन काउन्सिल क्रियाशील रहेको जानकारी दिए।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले समाचार कक्षमा आउने सूचनालाई गुणस्तरीय बनाउन समाचारमा सम्पादकीय सीप झल्कनुपर्ने सुझाव दिए। उनले समाचार सामग्रीलाई सम्प्रेषणयोग्य बनाउनाका साथै सम्पादकले तत्काल सामग्री जुटाउने, योजना बनाउने, सहयोग र समन्वय गर्ने क्षमता तथा सक्रियातामा पनि ध्यान दिनुपर्ने बताए।“हामीले दिएका तथ्य र सूचना गलत भएमा न्याय मर्न सक्ने भएकोले स्रोत उल्लेख र पुस्ट्याइँलाई पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता छ। यसमा सम्पादक र सञ्चारमाध्यम गम्भीर बन्नुपर्छ,” अध्यक्ष पोखरेलले भने।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले आचारसंहिता पालनामा र पत्रकारको क्षमता अभिवृद्धि गर्न/गराउन मिडियालाई सुझाव दिए।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका सम्पादन शाखामा कार्यरत पत्रकारले समाचार सत्यतथ्यमा आधारित हुनपर्ने तथा दिइएका सामग्री भरसक गलत हुन नदिन आफूहरू सचेत रहेको बताए। सही सूचना प्रवाह गर्ने समाचार कक्षमा कार्यरत व्यक्तिको भूमिका पर्दा पछाडिका खेलाडीजस्तै हुने भन्दै उनीहरूले सम्पादकको समयसापेक्ष क्षमता विकासमा सञ्चारमाध्यम र सरोकारका निकायले ध्यान दिनुपर्ने बताए।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्