पूँजी बजारमा पछिल्लो तीन दिनको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार घटेको छ। गत मङ्गलवार र बुधवार लगातार ओरालो देखिएको नेप्से परिसूचकले बिहीवार पनि निरन्तरता पाएको हो। यो साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक आठ दशमलव २४ अङ्कले घटेर दुई हजार ५१ दशमलव ९२ को बिन्दुमा कायम भएको हो।
आज ३३३ कम्पनीका ८९ लाख एक हजार १९५ कित्ता शेयर ५० हजार २८१ पटक खरीद–बिक्री हुँदा कारोबार रकम रु तीन अर्ब ७१ करोड ५९ लाख तीन हजार ८२४ मा खुम्चिएको छ। आजको कारोबारपछि कुल बजार पूँजीकरण रु ३२ खर्ब ५३ अर्ब ७४ करोड ४७ लाख ७० हजार बराबर कायम भएको छ।
बैंकिङ, म्युचुअल र अन्य समूहको उपसूचक सामान्य बढेका छन् भने अरू सबै समूहका उपसूचक घटेका छन्। सबैभन्दा धेरै वित्त समूह दुई दशमलव २३ र व्यापार समूह एक दशमलव ३९ प्रतिशतले घटेका छन्। विकास बैंक शून्य दशमलव ४३, होटल तथा पर्यटन शून्य दशमलव ५१, जलविद्युत् शून्य दशमलव ४५, लगानी शून्य दशमलव २०, जीवन बीमा शून्य दशमलव ९९, उत्पादन तथा प्रशोधन एक दशमलव १७, लघुवित्त शून्य दशमलव ९५ र निर्जीवन समूह शून्य दशमलव ६६ प्रतिशतले घटेका छन्।
त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै सात दशमलव ०९ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु २२ अर्ब ७६ करोड ४१ लाख ८०९ बराबरको शेयर कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चार लाख दुई हजार ४९९ कित्ता शेयर किनबेच भएका छन्।