यो सातामा कारोबारको अन्तिम दुई दिन पूँजी बजारमा कारोबार रकम उल्लेख्यरूपमा बढेको छ। बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढ्दा कारोबार रु पाँच अर्ब ८९ करोड नाघेको थियो। नेप्से परिसूचक बिहीवार नौ दशमलव ३२ अङ्कले घट्दा कारोबार करीब रु छ अर्ब ५० करोड नजीक पुगेको हो।
नेप्से परिसूचक आज शून्य दशमलव ४३ प्रतिशतले घटेर दुई हजार ११२ दशमलव २९ को बिन्दुमा कायम भएको छ। ३१३ कम्पनीका एक करोड ४२ लाख ९४ हजार ७१२ कित्ता शेयर ७७ हजार चार सयपटक खरीद–बिक्री हुँदा रु छ अर्ब ४४ करोड ३० लाख २९ हजार बराबरको कारोबार भएको हो।
आजको कारोबारमा विकास बैंक समूह एक दशमलव तीन र वित्त समूह दुई दशमलव ०३ प्रतिशतले बढेका छन् भने अरू सबै समूहका उपसूचक घटेका छन्। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह र व्यापार समूह समान एक दशमलव तीन प्रतिशतले घटेका छन्।
त्यस्तै, बैंकिङ शून्य दशमलव ४३, होटल तथा पर्यटन शून्य दशमलव १५, जलविद्युत् शून्य दशमलव १५ र लगानी शून्य दशमलव ६४ प्रतिशतले घटेका छन्। जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ५१, लघुवित्तको शून्य दशमलव ३८, म्युचुअल फन्डको शून्य दशमलव ११, निर्जीवन बीमाको शून्य दशमलव ८२ र अन्य समूहका उपसूचक शून्य दशमलव ८१ प्रतिशतले घटेका छन्।
समृद्धि फाइनान्स कम्पनी लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु २८ करोड ४७ लाख ३९ हजार बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमालयन बैंक लिमिटेड प्रमोटर शेयर सात लाख ५० हजार ३९४ कित्ता शेयर किनबेच भएका छन्।