– सञ्जय मित्र

सुख नितान्त निजी अनुभूति हो। सुखको कुनै परिभाषा छैन। सुखको कुनै मापन छैन। सुख देखिने कुरो पनि होइन र सम्पूर्ण सुख वर्णन गरेर पनि साध्य हुँदैन। यसैले सबैभन्दा बढी खोजिने सुख भए पनि यस विषयमा मतैक्य कमै देखिन्छ। अन्ततः एउटै कुरामा गएर सबै बहस पूरा हुन्छ ः जसले जे गरेको छ, सुखकै लागि गरेको छ। यसै भनाइले सुखको विशालता बुझ्न सहयोग गरेको छ। तर सुखको सीमा खोज्ने सामथ्र्य कसैको पनि छैन। गाउँघरमा एउटा उखान प्रचलनमा छ–केहु काहु में मगन केहु काहु में मगन अर्थात् कोही केमा मग्न त कोही केमा। मग्न हुनु अर्थात् सुख वा आनन्दको अनुभूतिमा रल्लिनु नै हो।

सुखलाई नितान्त निजी भनिए पनि यसबारे शास्त्रहरूले केही चर्चा गरेका छन्। भगवान् श्रीकृष्णले गीतामा तीन सुखको चर्चा गरेका छन् ः तामसी, राजसी र सात्विक।

तामसी सुखलाई पहिलो सुख भनिन्छ। तामसी सुखलाई आलसी सुख पनि भनिन्छ। यो भनेको अल्छी सुख हो अर्थात् काम नगरेर, त्यत्तिकै समय बिताएर, सुतेर आनन्दित भएर तथा काम गर्न नपरोस्, सुतीसुती खान पाइरहूँ भनेर आनन्दित हुने सुखलाई तामसी सुख भनिन्छ। धेरै मानिस यस्ता हुन्छन् जो कामै नगरी सुखी हुन चाहन्छन्। यसले मानिसलाई कमजोर बनाउँछ। कर्म गर्नबाट जोगिन चाहने वा भाग्न चाहने तथा कर्म गर्दै नगरी बसेर खान खोज्ने सुखको पक्षमा रहनेहरूले आफ्नो प्रगति रोकेका हुन्छन्। आफ्नो प्रगति नै हुन नदिने किसिमको यो सुखलाई रोगी–सुख पनि भनिएको पाइन्छ।

राजसी सुख भनेको भोगविलासको सुख हो। उपभोगको सुख भौतिक साधनबाट प्राप्त हुन्छ। राजसी सुखलाई भौतिक सुख पनि भनिन्छ। अरूको नजरमा शान र शौकतको जिन्दगी, ऐश आराम र मोजमस्तीको जिन्दगी देखिनु राजसी सुख हो। आवश्यकता महसूस भएको सामग्री उपलब्ध हुनु तथा तिनको उपभोग गरिनु अलग्गै आनन्द हो। अपेक्षा पनि पर्याप्त हुन्छ। आधुनिक वा भोगिरहेको जीवनशैलीमा निरन्तर प्रगति हुुनु पनि राजसी सुखकै परिभाषामा आउँछ। यसको सीमा हुँदैन। कुनै पनि भौतिक वस्तुको प्राप्ति वा पद तथा प्रतिष्ठाको प्राप्तिमा सुख अनुभूति गर्नु राजसी सुख हो। राजसी सुखको एउटा विशेषता यो पनि हुन्छ कि यसमा एउटा डर हुन्छ। डर यो हुन्छ कि कतै यो खुशी वा भौतिक सुख कम त हुँदैन ? कतै सुख हराइ त हाल्दैन ? अझै कतै कतै अरूको प्रगति बढी भइदिंदा खुशीमा कमी हुन्छ। आफ्नो कारणले मात्र नभई आफू पहिलेकै अवस्थामा रहँदा अरूको कारणले सुखमा कमी अनुभूत हुन पुग्छ। यसमा मानिस सुखको चरमोत्कर्षमा रहन चाहिरहन्छ। राजसी सुखलाई अस्थायी पनि भनिएको पाइन्छ किनभने यो एकै किसिमले रहिरहँदैन। भोग विलासमा आनन्दित रहने यस सुखलाई भोगी–सुख पनि मानिएको पाइन्छ।

सात्विक सुखलाई आत्मिक सुख  भनिन्छ। यसलाई कतिपयले आध्यात्मिक सुख पनि भनेका छन्। यस सुखलाई त्यागको सुख पनि भनिन्छ। कसैको लिनुभन्दा कसैलाई दिनुमा प्राप्त हुने आनन्द सात्विक सुख हो। यसमा लोभ, मोह, ईष्र्याबाट मुक्त रहिन्छ। आसक्ति रहँदैन। यो सुख प्राप्त गर्न कठिन हुन्छ। कठिन यस अर्थमा कि अधिकांश मानिस भौतिक सुख चाहन्छन्। अनि त्यागको सुख कहाँबाट पाउँछन् ? लोभ र मोहमा परेकालाई यो सुख जहर पिउनुजस्तै हुन्छ। भौतिक सुखभन्दा यो सुख विपरीत हुन्छ। अरूको सुखमा खुशी हुनुलाई सात्विक सुख भनिन्छ। सात्विक सुखलाई शाश्वत सुख पनि भनिन्छ। त्यागमा आउने आनन्दको कुनै सीमा नहुने हुँदा र यसलाई आत्मानुभूति गर्न सकिने भएकोले यस सुखलाई प्राकृतिक सुख पनि भनिन्छ। यस सुखलाई दिव्य सुख पनि भनिन्छ। अनि वैराग्य उत्पन्न गर्ने भएकोले यस सुखलाई जोगी–सुख पनि मानिएको पाइन्छ।

समाजले मान्ने रोगी, भोगी र जोगी सुख सबै आफ्नो ठाउँमा सही छ। कतिपय मानिस यी तीनै सुखलाई एकै ठाउँमा राखेर हेर्दछन्। आनन्दले सुत्न चाहन्छन्, सम्पत्ति उपभोग गर्न चाहन्छन् र त्याग गरेको देखाउन चाहन्छन्। भनिन्छ, यस्ता मानिसले कुनै सुख पाउँदैनन्। वास्तविक सुख त्यागमा छ अर्थात् जोगी–सुखमा छ। इतिहास हेर्ने हो भने पनि भगवान् गौतम बुद्धले गरेको त्यागले उनलाई अनन्त सुख दिएको देखिन्छ। विश्वको सम्राट बन्ने चाहना राखेका अशोकले त्यागपछि जुन सुख प्राप्त गरे, त्यो आनन्दको अनुभूति उनले सम्राट भएको बेला गर्न पाएका थिएनन्। महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि यही कुरा भन्छन्–आफू मिटाई अरूलाई दिनुमा नै सुख छ। अर्थात्, त्याग नै सबैभन्दा ठूलो सुख हो।

रोगी, भोगी र जोगी सुखमध्ये, माथि भनिए अनुसार रोगी सुख र भोगी सुख चाहिं दैहिक सुख हो। दैहिक सुख शरीरले उपभोग गर्ने हो। जोगी सुखलाई आत्मिक सुख भनिन्छ। आत्मिक वा सात्विक सुख दैहिक सुखले उपभोग गरेको सुखभन्दा पृथक हुन्छ। यस सुखमा लोभ, मोह, स्वार्थ हुँदैन। यीभन्दा पृथक हुने हुनाले दैहिक सुखमा लागेकाले आत्मिक सुखको अनुभूति गर्न पाउँदैनन्।

दैहिक सुखको खोजीगर्नेहरू बाहिरी दुनियाँमा भौतारिइरहेका हुन्छन् तर आत्मिक सुखको खोजी गर्नेहरू बाहिरका विषयलाई महत्व दिंदैनन्। दैहिक सुख अरूलाई पनि देखिन्छ भने आत्मिक सुख अभ्यन्तरमा निःसृत भएर अभ्यन्तरमैं रहने हुनाले बाहिरको जगमगाहटसित खासै सम्बन्ध राख्दैन। जहाँ बाह्यमा त्याग र अभ्यन्तरमा प्राप्ति हुन्छ त्यहीं मनमा यो सुखको दियो बलेको हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here