नेपाली परिवेशमा परीक्षामा बढी अङ्क कसरी ल्याउन सकिन्छ भन्ने विषयमाथि लामो अध्ययनपश्चात् मैले के पाएँ भने स्वाध्याय विद्यार्थीहरूको लागि अति नै आवश्यक रहेको छ। स्वाध्यायको अभावले गर्दा नै विद्यार्थीहरू परीक्षामा बढी अङ्क ल्याउन सकिरहेका छैनन्। स्वाध्याय भनेको कसैको सहयोगबेगर आपूmले सिक्ने प्रक्रिया हो, जसले विद्यार्थीहरूको बुझाइलाई स्पष्ट पार्छ। यो जुनसुकै ठाउँमा जुन बेला पनि गर्न सकिन्छ। यसले विद्यार्थीहरूलाई कल्पनाशील बनाउँछ। उनीहरूलाई आफ्नो जिम्मेवारीप्रति स्वतन्त्रतापूर्वक लाग्न सिकाउँछ र शिक्षकबेगर पनि रुचि अनुसारका क्षेत्रहरूको पहिचान र खोज गर्न प्रेरित गर्छ।
यस आलेखमार्फत अध्ययन सम्बन्धमा गरिएको शोधबाट प्राप्त आप्mना अनुभवहरूलाई विद्यार्थीसमक्ष प्रस्तुत गरिएको छ। यदि अध्ययन प्रक्रियामा यसलाई समावेश गर्नुभयो भने यो सबैका लागि धेरै लाभदायी हुनेछ। अध्ययन सम्बन्धमा विन्स्टन चर्चिलले एकपटक भनेका थिए– म सधैं सिक्न चाहन्छु तर मलाई सधैं पढाइयोस् भन्ने चाहँदिनँ। यसैगरी, मैल्कम फाब्सले “अध्ययनको उद्देश्य खाली मस्तिष्कको ठाउँमा खुल्ला मस्तिष्क निर्माण गर्नु हो” भनेका थिए। त्यहीं रैल्फ वाल्डो इमर्सनले भनेका छन्– विद्यालयमा जे कुरो पढाइन्छ, त्यो ज्ञान होइन, ज्ञानको माध्यम मात्र हो। यहाँ भन्न के खोजिएको हो भने तपाईंको मस्तिष्कमा कुनै किताबलाई किन पढिरहेको छु भन्ने कुरा स्पष्ट हुनुपर्छ।
तपाईं यस आलेखलाई पढिरहनुभएको छ। यसको अर्थ के हो भने तपाईं अध्ययन गर्न रुचाउनुहुन्छ तर अध्ययन गर्नु एउटा “कला” पनि हो भन्ने कुरा तपाईंलाई कसैले भनेको छ वा छैन भन्ने कुरा मलाई थाहा छैन। अध्ययन गर्नु “कला” मात्र हैन, “विज्ञान” पनि हो। मैले जति विद्यार्थीहरूसँग यस सम्बन्धमा कुरा गरेको छु, सबैले मलाई निराश नै गरेका छन् किनभने उनीहरूको जवाफ थियो, “हामी पढ्ने गर्छौं। यसमा बुझ्ने कुरा के नै छ र ?”
प्रायः हामी सबैले “कला” र “विज्ञान”लाई बेग्लाबेग्लै विषय ठान्छौं तर मेरो गहिरो अध्ययनले के देखाएको छ भने यी दुईटै विषय एउटै सिक्काका दुईवटा पाटा हुन्। कलाको अर्थ हो, कुनै पनि कामलाई राम्रो तरीकाले गर्ने जानकारी। जस्तै, हामी सबै गीत गुनगुनाउँछौं तर जुन बेला गाइने कलाको ज्ञान प्राप्त हुन्छ, हामी “गायक” कहलिन्छौं। हामी सबै केही न केही खेल खेल्छौं तर जब राम्ररी खेल्न थाल्छौं, हामी खेलाडी कहलिन्छौं। हामी सबै पढ्छौं तर के हामी यो भन्न सक्दैनौं, जुन बेला हामी राम्ररी पढ्छौं भने परीक्षामा राम्रो अङ्क पनि प्राप्त गर्न सक्छौं।
विज्ञान के हो ? ज्ञानको व्यवस्थित रूप नै विज्ञान हो। वैदिक ग्रन्थमा विज्ञानलाई व्यावहारिक ज्ञान (एप्लाइड नलेज) भनिएको छ। अर्थात् प्राप्त ज्ञानलाई जुन बेला हामी प्रयोगमा ल्याउन थाल्छौं, त्यो विज्ञान हुन्छ। विज्ञान भनेको रसायन, भौतिक वा जीव विज्ञान मात्र होइन। विज्ञानको अर्थ धेरै व्यापक छ। जुन ठाउँमा एउटा निश्चित व्यवस्था हुन्छ, त्यहाँ विज्ञान हुन्छ। अर्थात् हाम्रो जीवन पनि एउटा विज्ञान हो किनभने सास फेर्नु, भोक लाग्नु, खाना खानु, आराम गर्नु, राति सुत्नु यी सबै जीवनका व्यवस्थित रूप हुन्।
प्रकृति र जीवनमा घट्ने सबै खाले घटनाहरू एउटा निश्चित वैज्ञानिक नियम अनुसार नै हुने गरेका छन् भने अध्ययन गर्नु कसरी विज्ञानबाहिरको विषय हुन सक्छ ? यो त विज्ञानको पनि विज्ञान अर्थात् अद्भुत विज्ञान हो। अद्भुत यस कारणले हो किनभने हामी पहिला किताब पढ्छौं। त्यसपछि पढिएका कुराहरूको चित्र मस्तिष्कमा बन्छ। तत्पश्चात् मस्तिष्कले त्यसको सम्पादन गर्छ। कहिलेकाहीं त मस्तिष्कले त्यसमा आप्mनो कुरालाई समावेश गरी त्यसको रूप नै परिवर्तित गरिदिन्छ। एउटा निश्चित अवधिसम्म त्यसलाई आप्mनो मस्तिष्कमा नै राख्छ। केही समयपश्चात् त्यसमध्ये केहीलाई नष्ट पनि गरिदिन्छ तर कहिलेकाहीं यस्तो पनि हुन्छ, जरुरी परेको बेला पुनः त्यसलाई खोजेर हामीलाई सुम्पिन्छ पनि।
यहाँ तपाईंले यसको तुलना कम्प्युटरमा हुने प्रक्रियासँग पनि गर्न सक्नुहुन्छ। तपाईंले कम्प्युटरमा जे टाइप गर्नुहुन्छ, त्यो “मेमोरी”मा जान्छ। त्यसपछि तपाईंले त्यसलाई “एडिट” गरेर त्यसलाई “सेभ” गर्नुहुन्छ। जुन बेला तपाईंलाई त्यसको आवश्यकता पर्छ, त्यस “फाइल”लाई खोजेर पुनः “स्क्रीन”मा ल्याउनुहुन्छ। मेरो प्रश्न तपाईंहरूसँग के छ भने यदि कम्प्युटर विज्ञान हो भने के हाम्रो मस्तिष्क विज्ञान हुन सक्दैन ? मस्तिष्क भनेको एउटा विलक्षण कम्प्युटर हो। यो त कम्प्युटरको पनि कम्प्युटर हो। यस कारण मैले अध्ययनलाई “विज्ञानको विज्ञान” भनेको हुँ।
अध्ययन विज्ञान मात्र होइन किनभने अध्ययन गर्ने तरीका विद्यार्थीपिच्छे बदलिन्छ। विज्ञानमा यस्तो हुँदैन। विज्ञानको निष्कर्ष सधैं एकनासको हुन्छ तर अध्ययनको हुँदैन। स्वामी विवेकानन्दका लागि कुनै किताबलाई एकपटक पढ्नु नै पर्याप्त थियो तर आम विद्यार्थी त्यसलाई कैयौंपटक पढेर पनि याद राख्न सक्दैनन्। यस कारण अध्ययन कला पनि हो। कुनै कामलाई गर्ने नियम एकनासको भए तापनि गर्ने तरीका जब विद्यार्थीपिच्छे फरक भएमा त्यो प्रक्रिया कला बन्छ। अर्थात् “कसरी हुन्छ” भन्ने कुरा विज्ञान हो भने “कसरी गरिन्छ” भन्ने कुरा कला हो।
अध्ययनको एउटा निश्चित वैज्ञानिक पद्धति हुन्छ तर जुन बेला यस पद्धतिको उपयोग गरिन्छ, विद्यार्थीपिच्छे फरकफरक परिणाम देखा पर्छ। भन्न के खोजिएको हो भने पढ्ने पद्धति एउटा हुन्छ भने पढ्ने विद्यार्थी एकनासका हुँदैनन्। प्रकृतिले हरेक विद्यार्थीलाई हरेक दृष्टिकोणले फरक बनाएको छ। हरेकको रुचि फरक छ। हरेकको मानसिक र शारीरिक क्षमता पनि फरक हुन्छ। हरेकको परिस्थिति र वातावरण फरक छ। यस कारण अध्ययनको नियम एक भए तापनि परिणाम बेग्लाबेग्लै प्राप्त हुन्छ।
विद्यार्थीहरूले अध्ययनको कलालाई बुझ्न सके भने राम्रो परिणाम हासिल गर्न सक्छन्। यदि कुनै कामलाई व्यवस्थित तरीकाले गरियो भने परिणाम पहिलाभन्दा राम्रो हुन्छ भन्ने प्रकृतिको नियम हो। जस्तै रूखलाई यदि व्यवस्थित तरीकाले रोपियो र त्यसको उचित तरीकाले स्याहारसुसार गरियो भने ती रूखहरू ठूलो व्यास भएको लामो रूखमा छिट्टै परिणत हुन्छन्।
अध्ययनको सरल अर्थ हो– पढ्नु। व्यापक अर्थमा अध्ययनको सम्बन्ध मात्र किताब पढ्नुहुँदैन। तपाईंले एउटा व्यक्तिले गर्ने व्यवहारको अध्ययन गर्न सक्नुहुन्छ। पुतलीले गर्ने गतिविधिको अध्ययन गर्न सक्नुहुन्छ। तपाईं पर्यावरणको अध्ययन गर्न सक्नुहुन्छ। पर्यवेक्षण पनि एक प्रकारको अध्ययन नै हो। तर हामी यहाँ जुन कुरोको चर्चा गर्दैछौं, त्यसको सम्बन्ध पुस्तक अध्ययनसँग नै रहेको छ तर व्यापकतामा अध्ययनको अर्थ कुनै कुराको जानकारी प्राप्त गर्नु हो। त्यो जानकारी पुस्तक पढेर प्राप्त गर्न सकिन्छ, सुनेर वा हेरेर पनि हासिल गर्न सकिन्छ। यसको अर्थ के हो भने जुनसुकै बेला तपाईं अध्ययनरत हुनुहुन्छ। यस कारण के भन्न सकिन्छ भने हेरेर, सुनेर, पढेर, सिकेर, सोचेर, बुझेर, लेखेर वा बोलेर अध्ययन गर्न सकिन्छ वा यी प्रक्रियाहरूले अध्ययन गर्नमा हामीलाई सहयोग गर्छन्। अर्थात् जुन कार्य गर्दा त्यसमा हाम्रो मस्तिष्क सामेल हुन्छ भने त्यो हाम्रो अध्ययनको गतिविधि बन्न पुग्छ।
सामान्यतया जुनसुकै बेला अध्ययन गर्न सकिन्छ र गरिन्छ पनि। अध्ययन हुन्छ पनि र सफलता पनि प्राप्त हुन्छ। तर मलाई प्रसिद्ध सायर जावेद अख्तरका यी पङ्क्तिहरू जहिले पनि सम्झना भइरहन्छ, “जो ख्वाब में था पा लिया, पर खो गई वो चीज क्या थी ?” जापानको कार्य संस्कृतिमा एउटा शब्द छ– “कायजेन” जसको अर्थ हुन्छ, “निरन्तर विकास।” अहिलेसम्म तपाईं जुनसुकै बेला पढिरहनुभएको थियो र यसमा सफलता पनि प्राप्त गर्नुभयो। यो त्यो सफलता हो, जो तपाईंसामु छ तर के तपाईंले कहिले सोच्नुभएको छ, “जो खो गई वह चीज क्या थी।” हुन सक्छ तपाईंले यसभन्दा पनि बढी सफलता हासिल गर्न सक्नुहुन्थ्यो यदि समयको ख्याल गर्नुभएको भए।
कुनै पुस्तक पढ्नुको पछाडि त्यसमा भएको ज्ञानलाई आर्जन गर्नु हो। ज्ञान आर्जन गर्नु पछाडिको एउटा उद्देश्य त्यसबाट फाइदा लिनु हो। यसलाई फरक ढङ्गले हेर्दा कुनै विषय सम्बन्धमा ज्ञान नभएको कारण पुस्तक अध्ययन गरिन्छ। यसको अर्थ मलाई त्यसबारे ज्ञान छैन अर्थात् म अज्ञानी पनि हुन सक्छु। यही हो अज्ञानताको बोध। धेरै कम विद्यार्थीमा यस प्रकारको मनोवैज्ञानिक भाव हुन्छ। अधिकांशले त आपूmलाई सबैभन्दा ठूलो ज्ञानी भएको भ्रम पालिराखेका हुन्छन्। यस सम्बन्धमा युनानी दार्शनिक सुकरातले के भन्नुभएको छ भने यस युनानमा सबै मूर्ख छन्। म मात्र एउटा ज्ञानी छु किनभने मलाई केही थाहा छैन भन्ने कुरा थाहा छ।
मेरो दृष्टिकोणमा विद्यार्थीहरूले अध्ययनलाई हरेक क्षण केही न केही जानकारी हासिल भइरहेको छ भन्ने अर्थमा लिनु उचित हुन्छ। पढ्दाखेरी मस्तिष्कद्वारा कुनै कुरालाई ग्रहण गर्ने क्षमता हामीले आप्mनो मस्तिष्कलाई कस्तो बनाएका छौं भन्ने कुरामाथि निर्भर गर्छ। हाम्रो अनुभव जति फराकिलो हुन्छ, ग्रहण गर्ने क्षमता त्यतिकै बढी हुन्छ। यो अनुभव किताब पढेर होइन हेरेर, सुनेर, सोचेर, बुझेर, सोहीअनुरूप व्यवहार र कुराकानी गरेर प्राप्त हुन्छ। प्रायः विद्यार्थीहरू यिनै कुराहरूको उपेक्षा गर्ने गर्छन् किनभने उनीहरूको दृष्टिमा पुस्तकको अध्ययन नै वास्तविक अध्ययन हो। यस्ता “पढाकू” विद्यार्थीहरू विद्यालयमा सफल भए तापनि जीवनको धरातलमा असफल हुन्छन्। उनीहरू सोच्छन्,“म पढाइमा यति राम्रो थिएँ तर जीवनमा किन असफल भइरहेको छु ?” यसको एकमात्र जवाफ के छ भने उनीहरूले आपूmलाई पुस्तकमा मात्र सीमित राखे। मर्लिन वास सेवेन्टले भनेका छन्– ज्ञान प्राप्त गर्न पढ्नुपर्छ र बुद्धिमत्ताको लागि अवलोकन गर्नुपर्छ। यस कारण विद्यार्थीहरूलाई मेरो सल्लाह छ, उनीहरूले अध्ययनलाई व्यापक अर्थमा ग्रहण गर्नुपर्छ।