काठमाडौं, ७ जेठ/रासस

यो साता कारोबारको लगातार दोस्रो दिन सोमवार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ भने पछिल्लो चार महीनायताकै उच्च रकम कारोबार भएको छ।

हिजो आइतवार नेप्से परिसूचक ४५ दशमलव ६९ अङ्कले बढेकामा आज २७ दशमलव ५४ अङ्कले बढेर दुई हजार ९२ को बिन्दुमा कायम भएको छ। आज ३१५ कम्पनीका एक करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर ८० हजार ९८२ पटक खरीद–बिक्री हुँदा रु पाँच अर्ब ८५ करोड ४३ लाख ५४ हजार २१२ बराबरको कारोबार भएको छ। यो कारोबार रकम गत पुस २७ गतेयताकै उच्च हो। आजको कारोबारपछि कुल बजार पूँजीकरण रु ३३ खर्ब १७ अर्ब २९ करोड ६५ लाख ८० हजार हाराहारी पुगेको छ।

आजको कारोबारमा वित्त समूह शून्य दशमलव ५७, जीवन बीमा समूह शून्य दशमलव ०८, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५२, लघुवित्त शून्य दशमलव ६५ र अन्य समूहको उपसूचक शून्य दशमलव ५० प्रतिशतले घटेका छन् भने अरू सबै समूहको उपसूचक बढेका छन्। सबैभन्दा धेरै बैंकिङ समूहको उपसूचक चार दशमलव १८ प्रतिशतले बढेको छ। त्यस्तै, विकास बैंक शून्य दशमलव ४२, होटल तथा पर्यटन शून्य दशमलव ३९, जलविद्युत् एक दशमलव ३८, लगानी एक दशमलव ८४, म्युचुअल फन्ड एक दशमलव २४, व्यापार दुई दशमलव २३ र अन्य समूह शून्य दशमलव ५२ प्रतिशतले बढेका छन्।

     सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, भगवती हाइड्रोपावर डेभपलमेन्ट कम्पनी लिमिटेड र नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ४० र सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ३५ प्रतिशतले घटेका छन्।

   कारोबार रकमका आधारमा  आज सबैभन्दा धेरै पोखरा फाइनान्स लिमिटेड रु १९ करोड ९२ लाख  ९९ हजार ८२४ बराबरको कारोबार भएको छ।  कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने कुमारी  बैंक लिमिटेडको चार लाख ४३ हजार ५८ कित्ता शेयर खरीद–बिक्री भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here