भगवान् बुद्धले राहुललाई शिष्य बनाइसकेका थिए । भगवान् बुद्धको भिक्षु सङ्घ निकै विस्तार भइसकेको थियो । त्यत्ति बेलासम्म बुद्धलाई सबैले भगवान् मानिसकेका थिए । बुद्धलाई विरोध गर्नेहरू पनि नभएका होइनन्, बुद्धको भिक्षु सङ्घमा प्रवेश गरेर टुक्राटुक्रा पार्ने तथा सङ्घलाई नै कमजोर बनाउने खेल पनि भएको थियो । तर भगवान् बुद्ध निस्स्वार्थ थिए । सिङ्गो राज्यको राजा हुने पदलाई त्याग गरेर वनमा कैयौं वर्षसम्म तपस्या गरेका सिद्धार्थ गौतमबाट जब बुद्ध बनेका थिए, तब उनमा लोभ, मोह र ईष्र्या तथा द्वेष हराइसकेको थियो । कल्याणको भावना र मानवकल्याणको लागि शान्तिको मार्ग अपनाइसकेका थिए । बुद्धका लागि आफन्त भनेका केवल भिक्षुहरू थिए तर सबैभन्दा नजीक चाहिं आनन्द थिए । भगवान् बुद्ध हरेक दिन केवल एक छाक खाना खान्थे । एक वस्त्र लाउँथे । केवल एक घरमा भिक्षा माग्थे । यसरी सन्तोषमा परम आनन्दको अनुभूति गर्ने बुद्धमा कुनै बाह्य कुराप्रति खासै अनुराग थिएन । यसैले बुद्धलाई महान् त्यागी पनि भनिन्छ ।

भगवान् बुद्ध सबैलाई समानरूपमा हेर्थे । आनन्दबाहेक कसैसित धेरै समय बसेनन् । जहाँ गए पनि आनन्दलाई सँगै लिएर जान्थे । झन्डै सबै उपदेशमा आनन्द सँगसँगै हुन्थे । एक दिनको कुरो हो । भगवान् बुद्ध राजगृह (हालको बिहारको प्रसिद्ध राजगीर तीर्थस्थल) बेलुवनमा थिए । दिउँसोको समाधिबाट उठेर भगवान् बुद्ध डुल्न थाले । डुल्दै राहुल भएको ठाउँतिर पुगे । राहुलले देखे– भगवान् बुद्ध आफूतिर आइरहेका छन् । उनले भगवान् बुद्धको निम्ति आसन बिछ्याए । अलिकति पानी पनि राखिदिए । सम्भवतः हातगोडा धुनको लागि पानी राखिएको हुनुपर्छ । भगवान् बुद्ध आएर निर्धारित आसनमा बसे । आसनमा बसेर नै हातगोडा धुन सकिने अवस्था वा व्यवस्था थियो । राहुलले विनम्रतापूर्वक अभिवादन गरे । राहुलको मन प्रसन्न थियो । राहुलले एकातिरको स्थान ग्रहण गरे ।

राहुललाई सम्बोधन गर्दै तथागदले केही उपदेशहरू दिए । हुनत तथागतको सम्भाषण तथा कुराकानी मुख्यतः उपदेश नै हुने गथ्र्यो । सिद्धार्थ अब बुझ्ने भइसकेका थिए । बुझ्ने भइसकेकाले नै तथागतलाई आफूतिर आउन लागेको देखेर उचित सम्मानपूर्वक व्यवस्थापन गर्न सकेका थिए । भगवान् बुद्धको वाणी राहुलको निम्ति थियो, “म भन्छु, जानाजानी झूटो बोल्ने, लाज मान्ने मानिसले कुनै पनि पापकर्म गर्न सक्छ, यस कारण राहुल, हामीले ख्यालठट्टा गर्दा पनि झूटो नबोल्ने कुरा सिक्नुपर्छ । यस कारण कुनै पनि काम गर्न लाग्दा पहिले त्यसबारेमा सोच, कुनै पनि शब्द मुखबाट निकाल्न लाग्दा पहिले त्यसबारेमा सोच र कुनै पनि कुरा मनमा खेल्न लाग्दा पहिले त्यसबारेमा सोच । कुनै पनि काम गर्नुभन्दा पहिले, त्यसबारेमा विचार गर कतै त्यो कुरा तिम्रो र अर्काको निमित्त वा दुवैको निमित्त हानिकारक त छैन, किनभने दुष्ट कर्म कष्टदायी हुन्छ । यदि तिम्रो विचारले यो काम यस्तै नै हो भनी भन्छ भने त्यसबाट परै बस्ने गर । तर विचार गर्दा यो काम हानिकारक नभई लाभदायक नै छ भन्ने लाग्छ भने त्यस्तो काम गर्नहुन्छ ।
मैत्रीको अभ्यास गर । मैत्री भावनाको अभ्यासबाट द्वेषको शमन हुन जान्छ । करुणाको अभ्यास गर । उपेक्षा भावनाको अभ्यास गर्नाले चञ्चलताको शमन हुन जान्छ । शरीरको अशुभ रूपको चिन्तन गर किनभने यस्तो गर्नाले काम–रागको शमन हुन जान्छ । सबै चीजको अनित्यताको भावना राख्ने गर किनभने यस्तो गर्नाले अहङ्कारको शमन हुन जान्छ ।”

भगवान् बुद्धको यस्तो वचन सुनिसकेपछि राहुलले अन्तःकरणदेखि खुशी भएर तथागतलाई प्रसन्नतापूर्वक अभिनन्दन गरे ।

तथागत बुद्धले राहुललाई दिएको उपदेशको शताब्दीयौंपछि आज मूल्याङ्कन गर्ने हो भने पनि केही कुरामा अलिकति संयम गर्न असजिलो होला वा अझै पनि आफ्ना बालबालिकालाई बुद्धको उपदेश सुनाउन एक/दुई कुराबाहेक सबै सर्वथा उचित नै हुन्छ । वर्तमान समयमा पनि अधिकांश उत्तिकै काम लाग्ने किसिमका रहेका छन् ।

भगवान् बुद्धले सबै वर्ग, उमेर र पेशा तथा समूहका लागि उपदेश दिए । आफ्नो जीवन, वर्तमानको आधारमा मूल्याङ्कन गर्नुपर्दा तथागतले अनुसन्धानमा बिताए । शान्तिको खोजी बुद्धको मूल मर्म थियो । हरेक मनमा कसरी शान्ति पुग्न सक्ला, हरेक समाजमा शान्ति कायम कसरी रहला, हरेक देशमा शान्ति कसरी सम्भव रहला ? हत्या, युद्ध र तनाव कसरी नहोला ? यस्ता कुराहरूको जवाफको खोजी गर्ने हो भने भगवान् बुद्धको बारेमा अध्ययन गर्न सकिन्छ । तत्कालीन परिवेशमा भगवान् बुद्धले यी र यस्ता विषयमा गरेका अनुसन्धान, दिएका उपदेश तथा देखाएका व्यवहार निकै प्रेरणादायी छन् । एउटा सानो उदाहरण हेरौं ।

एक समय दुई राज्यबीच पानीको विषयलाई झगडा भइरहेको थियो । भगवान् बुद्धले युद्धको अवस्थामा पुगेका दुवै पक्षलाई बोलाएर प्रश्न गरे– खोलाको पानी र मानिसको रगतमा कुन मूल्यवान् छ ?

दुवैले सहज जवाफ दिए– मानिसको रगतको तुलना खोलाको पानीसित गर्न सकिंदैन । अनि पानीको लागि युद्ध गरेर रगत बगाउनु उचित हो त ? जसको रगत बग्छ, पानी उनैलाई चाहिन्छ ।
भगवान् बुद्धको भावार्थ दुवैले राम्ररी बुझे । अनि पानीको बाँडफाँटको जिम्मा दुवैले दुवैलाई दिन चाहे । अर्थात् आफ्ना नागरिकको रगत अर्को राज्यका नागरिकको रगतभन्दा अझ बढी मूल्यवान् छ भन्ने कुरा स्वीकार गरे । यसमा दया र त्यागको भावना पनि देखिन्छ । आखिरमा युद्ध रोकियो । पानीको लागि रगत बगाउने काम भएन । पानीले दुवै राज्यमा सिंचाइ भयो, दुवैले आधाआधा लिए, खोलामा गर्नुपर्ने काममा दुवै राज्य मिलेर अर्थात् दुवै राज्यका नागरिक भाइचारा सम्बन्ध बनाएर काम गरे । सन्तोष र परस्पर सहयोगको मूल्य वा महŒव निकै धेरै हुन्छ ।

भगवान् बुद्धले राहुललाई, राहुल शिष्य बनिसकेपछि, धेरैपटक उपदेश दिएका थिए । कतिपय उपदेश समूहमा र कतिपय यस्तै समय र सन्दर्भमा । राहुललाई दिएका उपदेशहरू बालबालिकालाई दिइने उपदेश जस्तो लाग्न सक्छ, चरित्र निर्माणका लागि निकै महŒवपूर्ण छन्, तर सबैलाई काम लाग्ने किसिमका छन् । हामीले पनि, भगवान् बुद्धले राहुललाई राजगृहमा दिएको उपदेशलाई मनन गर्न सक्छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here