चिरञ्जीवी सापकोटा, ठोरी, १५ वैशाख/
ठोरीमा जोखिम न्यूनीकरण योजना तथा तनाव व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । ठोरी गाउँपालिका–४ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय निर्मलबस्तीमा दीप नेपाल नामक सामाजिक संस्थाले एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो ।
अभिमुखीकरणमा विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई के कसरी जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा संस्थाका संयोजक विष्णु सापकोटाले प्रशिक्षण दिएका थिए ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक गोपीलाल श्रेष्ठको अध्यक्षता तथा ठोरी गापा शिक्षा शाखा प्रमुख भुपालकुमार जोशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ठोरीका विभिन्न विद्यालयका २० जना शिक्षकलाई जोखिममा रहेका बालबालिकाहरूको पहिचान गरी शिक्षण सिकाइ क्रियाकलापमा सहजीकरण गर्ने, जोखिममा रहेका बालबालिकाहरूलाई बेचबिखनबाट जोगाउनेलगायतका बारेमा योजना निर्माण गरी कार्य थालनी गर्न प्रशिक्षण दिइएको थियो ।
दीप नेपालले भोलि आइतवार नेराआवि निर्मलबस्तीका ३५ जना विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम संयोजक सापकोटाले बताए । यसअघि सो
संस्थाले ठोरीका विभिन्न विद्यालयमा विद्यार्थीहरूलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको थियो । कार्यक्रममा आमोदेवी जनता क्याम्पस बडनिहारका क्याम्पस प्रमुख मन्तलाल चौधरीलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण शिक्षक आशाकाजी गोलेले गरेका थिए ।