जिल्ला प्रशासन कार्यालय, बाराले नयाँ वर्ष २०८१ मा सार्वजनिक बिदाका दिनहरूमा पनि केही सेवाहरू सञ्चालन गर्ने सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयबाट २०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचना अन्तर्गत सार्वजनिक सेवाप्रवाहसम्बन्धी विशेष व्यवस्था गरेअनुरूप वर्षभरि दिइने १९ वटा सार्वजनिक बिदामा नागरिकता, राहदानी (पासपोर्ट) र राष्ट्रिय परिचयपत्रको लागि सेवा सुचारु राख्ने जनाएको छ । गृह मन्त्रालय अन्तर्गतका देशभरिका जिल्ला प्रशासन कार्यालयबाट सम्भवतः यो कार्य शुरू गरिनुपर्ने हो । तर जिल्ला प्रशासन कार्यालय, बाराले सबैभन्दा पहिले यो सूचना जारी गर्दै जिल्लावासीलाई सूचित पार्ने दायित्व निर्वहन गरेको छ । बारा जिल्लामा जिल्ला प्रशासन कार्यालय सदरमुकाम कलैयामा छ भने विभिन्न चारवटा पालिकामा इलाका प्रशासन कार्यालयले सेवा प्रवाह गर्दै आएका छन् । जिल्लाका दूरदराज पालिकाहरूबाट सेवाका लागि सदरमुकाम आउनु नपरोस् भन्ने अभिप्रायले चार स्थानमा इप्रका सञ्चालनमा ल्याइएको हो । जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरा, सिम्रौनगढ नगरपालिकाको सिम्रौनगढ र निजगढ नगरपालिकाकाको निजगढमा इलाका प्रशासन कार्यालय छन् । त्यहाँबाट पनि नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रका कामहरू हुने गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा पछिल्लो समय यी सेवाहरू लिनका लागि सेवाग्राहीहरूको भीड हुने गरेको छ । खासगरी विदेशिने सङ्ख्या दिनानुदिन बढ्दै गएकाले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीहरूको भीड बढिरहेको हो । वैदेशिक रोजगारमा जानका लागि अहिले राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । नागरिकता लिएर पहिले सीधंै राहदानी लिन सकिने व्यवस्था थियो । अहिले परिवर्तन भएर राष्ट्रिय परिचयपत्र लिएपछि मात्र राहदानीको काम अगाडि बढ्छ । त्यसैले जिल्ला प्रशासन कार्यालयहरूमा नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी फाँट जहिले पनि भरिभराउ हुने गर्छन् । सातामा शनिवार कार्यालय बन्द हुन्छ र सार्वजनिक बिदाहरूमा पनि कार्यालयको सेवा बन्द हुँदा सेवाग्राहीहरूलाई समस्या पर्ने गरेको थियो । तर केही सार्वजनिक बिदाहरूमा पनि यी सेवा प्रवाह गर्ने सरकारी नीतिले सेवाग्राहीहरूलाई फाइदा पुग्ने देखिन्छ । सरकारी सेवाहरू यसै पनि सरल र सहज बनिसकेका छैनन् । यस्तो अवस्थामा साताव्यापी बिदा र त्यसमा सङ्घ र प्रदेश अनि स्थानीय पालिकाहरूले दिने सार्वजनिक बिदाका कारण सेवाग्राहीहरू अनेक समस्याको सामना गर्न बाध्य हुन्छन् ।
सेवाग्राहीहरूको यिनै समस्याहरूको समाधान गर्ने अभिप्रायले सरकारको गृह प्रशासनले मातहतका जिप्रकाहरूलाई केही सार्वजनिक बिदाका दिनमा पनि यी सेवा प्रवाह गर्न लगाएको हो । यद्यपि यीबाहेकका अन्य सेवाहरू १९ वटा सार्वजनिक बिदामा प्रदान गरिंदैन । तथापि यी तीन प्रकारका प्रमुख सेवाहरू पाउँदा पनि सेवाग्राहीहरूलाई राहत मिल्न सक्छ । नागरिकता, राष्ट्रिय परिचयपत्रका लागि अहिले पनि वडापालिकाहरूको भूमिका प्रमुख छ । यी दुई सेवा लिनका लागि जिल्ला प्रशासन कार्यालय धाउनुपूर्व सेवाग्राहीहरूले वडापालिका कार्यालय धाउनुपर्छ केही सिफारिशका लागि । १९ वटा सार्वजनिक बिदामा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवासँग सम्बन्धित सेवाहरू वडापालिकाहरूबाट प्रदान गरिने व्यवस्था भए सुनमा सुगन्ध हुन्थ्यो ।