प्रस, वीरगंज, ४ वैशाख/
नेपाल राष्ट्र बैंक लिमिटेडको ६९औं वार्षिकोत्सवको अवसरमा आयोजित टी–१० क्रिकेट लिग प्रतियोगितामा नेपाल चिकित्सक सङ्घ वीरगंजले नेपाल पत्रकार महासङ्घ पर्सालाई पराजित गरेको छ ।
टी–१० क्रिकेट लिग प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको तेस्रो खेलमा चिकित्सकले पत्रकारलाई ६१ रनअन्तरले पराजित गरेको थियो । आदर्शनगर खेलमैदानमा पहिला ब्याटिङ गरेको चिकित्सक सङ्घले निर्धारित १० ओभरको खेलमा आठ विकेट गुमाएर १०६ रन बनाएको थियो । प्रतिउत्तरमा पत्रकार महासङ्घ ९.४ ओभरमा सबै विकेट गुमाएर ४५ रनमा सीमित भयो ।
खेलको ‘म्यान अफ दी म्याच’ नेपाल चिकित्सक सङ्घ वीरगंजका डा नदिम हुसेनलाई नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले शिल्ड प्रदान गरेका थिए ।
नेपाल राष्ट्र बैंक, वीरगंजको आयोजनामा सोमवारदेखि सञ्चालित टी–१० क्रिकेट लिग प्रतियोगिता वैशाख ५ गतेसम्म चल्ने नेराबैंक, वीरगंजका सहायक निर्देशक नरेशकुमार सर्राफले बताए ।
प्रतियोगितामा नेपाल राष्ट्र बैंक वीरगंज, नेपाल पत्रकार महासङ्घ पर्सा, वीरगंज बैंकर्स ग्रुप, नेपाल चिकित्सक सङ्घ, वीरगंज महानगरपालिका र एनवाइएफ वीरगंज सहभागी छन् ।