प्रस, वीरगंज, ४ वैशाख/
जगदम्बा स्टील १४औं जीतपुरसिमरा गोल्डकपको उपाधि नेपाल पुलिसले जितेको छ । सोमवार राति सिमरा रङ्गशालामा भएको प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्र फूटबल क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिस क्लबले पहिलोपटक जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि भएको टाइब्रेकरमा पुलिस क्लब विजयी भएको हो । प्रशिक्षक चेतन घिमिरेले टाइब्रेकरलाई लक्षित गर्दै अतिरिक्त समयको अन्तिममा मैदान पठाएका गोलरक्षक अमित टमाटा पुलिस क्लबको जीतमा नायक बने । अमितले मच्छिन्द्रका दुई प्रहार रोकेपछि पुलिस क्लब उपाधि उचाल्न सफल हो ।

मच्छिन्द्रका लागि विशाल तामाङ, सनिश श्रेष्ठ र दिवाकर चौधरीले गोल गर्दा सौरभ लिम्बु र चन्दन दासको प्रहार पुलिसका गोलरक्षकले बचाएका थिए । पुलिस क्लबका लागि कप्तान रामचन्द्र बाजे, पूजन राई, सुजन मगर र आशिष राईले गोल गरेका थिए ।

यसअघि भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टीमले निकै आकर्षक अवसरहरू सिर्जना गरे पनि गोल हुन सकेको थिएन । मच्छिन्द्र निर्धारित समयको अन्त्यतिर नौजना खेलाडीमा सीमित बनेको थियो । उत्सव राई ८४औं मिनटमा रातोे कार्डको सामना गर्दै मैदानबाट बाहिरिए भने खेलको ८८औं मिनटमा मनीष डाँगी दोहोरो पहेंलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिए । नौ खेलाडीमा सीमित भएपनि मच्छिन्द्रले अतिरिक्त समयको खेलमा पुलिस क्लबलाई दबाबमा राखेको थियो ।

पुलिस क्लबका गोलरक्षक अमित टमाटा फाइनल खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भए, उनले शुभारम्भ कलेज अफ म्यानेजमेन्टले प्रायोजन गरेको १० हजार नगदसहित ट्रफी प्राप्त गरे । पुलिस क्लबकै सञ्जित श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए । उनले २५ हजार नगदसहित ट्रफी प्राप्त गरे । पुलिस क्लबका उज्ज्वल राई र वीरगंज युनाइटेड क्लबका फागुराम चौधरी समान दुई गोलका साथ प्रतियोगिताको उच्च गोलकर्ता बने । उनीहरूले २५ हजार नगदसहित ट्रफी प्राप्त गरे ।

आयोजक नवजनजागृति युवा क्लब सिमराका प्रज्वल थापामगरले ‘इमर्जिङ प्लेयर अफ दी टुर्नामेन्ट’को ट्रफीसहित १५ हजार नगद प्राप्त गरे । प्रतियोगिताको फेयर प्लेको ट्रफी आयोजक टीमले नै प्राप्त ग-यो । मच्छिन्द्रका विमल घर्तीमगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले टिभिएस स्कूटर प्राप्त गरे ।

नवजनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा भएको कार्यक्रममा सांसद कृष्णकुमार श्रेष्ठ, महानायक राजेश हमाल, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जयसवाल, प्रसौनी गापाका अध्यक्ष विनोदप्रसाद पटेल, ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, नेपाली सेनाका सहायक रथी राजेन्द्रमणि गिरी, नेपाल प्रहरीका मधेस प्रदेश प्रमुख डिआइजी यज्ञविनोद पोखरेल, जगदम्बा स्टीलका कृष्णदत्त भट्ट, नेपाभिट टायल्सका विभा झालगायतले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here