नेपाली साहित्यकारमध्ये निकै कमका हिन्दीमा पुस्तक प्रकाशित छन् । अझ हिन्दी लघुकथाको कृति त अत्यन्तै न्यून छ । नेपाली लघुकथा र हिन्दी लघुकथामा केही भिन्नता अवश्य देखिन्छ । हिन्दी लघुकथाको मूल प्रवृत्ति अहिलेसम्म कथाको छोटो रूप वा लघुआकारको कथा हो तर नेपाली लघुकथाले भने स्पष्ट दिशानिर्देशसहित विकास भइसकेको छ । यद्यपि हिन्दी लघुकथामा पनि अब कथा र लघुकथाको भिन्नता बुझिने गरी आउन थालेको छ । लघुकथाको क्षेत्रमा सैद्धान्तिक तथा प्रयोगात्मक दुवै किसिमले निरन्तर प्रयोग भइरहेका छन् । अहिले नेपाली साहित्यमा एक किसिमले लघुकथाको बाढी नै आएको छ तर नेपाली लघुकथाकारद्वारा हिन्दी भाषामा नेपाली लघुकथाको विशिष्टतासहित निकै कम कृति प्रकाशित छन् । यस्तै, कम कृतिमध्ये एक हो– ‘अन्तर्दृष्टि’ ।
‘अन्तर्दृष्टि’ हेटौंडेली साहित्यकार किसन पौडेलको लघुकथा कृति हो । हिन्दी भाषामा प्रकाशित पौडेलको पहिलो लघुकथा सङ्ग्रहलाई पङ्ख प्रकाशन उत्तर प्रदेश, भारतले गरेको छ । कृतिको भाषा सम्पादन मेरठका रमेश चन्द ‘रत्नेश’ले गरेका छन् । लघुकथाकार पौडेलले आफूलाई लेखक र अनुवादक दुवै भनेका छन् । यसको अर्थ यो पनि हो कि लेखकले लघुकथाको अनुवाद आफैंले गरेका छन् । पहिले नेपालीमा लेखेर हिन्दीमा अनुवाद गरिएको यस लघुकथा सङ्ग्रहभित्रका लघुकथाहरूलाई अध्ययन गर्दा हिन्दी भाषामा नेपालीको स्वाद पनि पाइन्छ । ‘अन्तर्दृष्टि’ हिन्दी लघुकथा सङ्ग्रहभित्र ३८ वटा लघुकथा समाविष्ट छन् ।
जहिले पनि माथि उक्लने दाउ खोज्नेहरूमा स्वाभिमान, नैतिकता र निष्ठाजस्ता मानवीय गुण हराउँदै जाने ‘आशीर्वाद’ कथामा देखाइएको छ । ‘इन्द्रीय सुख’मा धनलाई महŒव दिने कन्जुस मानिसले जीवनको ऊर्जाकालमा इच्छालाई मारेर सम्पत्ति थुपारे पनि अन्ततः उपभोग गर्ने मनसाय भएपछि मन जवान भएर पनि सबै इन्द्रियले काम गर्न छाडिसकेको हुन्छ र इन्द्रिय सुखबाट वञ्चित हुनुपर्ने हुन्छ भन्ने देखाइएको छ । पृथ्वीका मानिसहरूमा अनेक विकृति तथा विसङ्गति रहेकाले यन्त्रमानवको निर्माण भगवान्ले गर्नुपरेको व्यङ्ग्योक्ति ‘पृथ्वीलोक’मा रहेको छ ।
सोमनाथको आश्चर्यजनक आर्थिक तथा अन्य प्रगतिको कारण चाकरी, चाप्लुसी र भ्रष्टाचार रहेको म पात्रसित सगर्व स्वीकार गरेको ‘रहस्य के पर्दे’ले विकृतिमाथि पनि गर्व गर्ने मानवीय प्रवृत्तिमा चोटिलो प्रहार गरिएको छ । स्वतन्त्रता देवत्वभन्दा पनि मूल्यवान् हुने अत्यन्तै रोचक शैलीमा ‘खुशी’ले देखाएको छ । सबै सुख वा सन्तुष्टि पाउन मुश्किल हुने र सन्तुष्टिको उच्च रूप खोज्दा त्यहाँ पनि रिक्तता अनुभूति हुने यस लघुकथाको मूल दर्शन हो ।
रोग, गरीबी र ऋणग्रस्तताबाट मुक्ति नै मानिसको असली सुख रहेको अत्यन्त प्रतीकात्मक लघुकथा ‘सुख’मा कुनै एकसित जुधिरहेको मानिस अर्कोसित लडिरहेकोलाई सुखी देख्ने भाव अभिव्यक्त भएको छ । सहयोग, दान र दयालाई पनि सामाजिक सञ्जालमा राखेर त्यसको पनि विज्ञापन गर्ने प्रवृत्तिलाई ‘दया’ले आत्मपरक शैलीमा व्यङ्ग्य गरेको छ । प्रेमको सम्बन्ध हृदयसित हुने र बाह्य सुख–दुःखले खासै प्रभाव नपार्ने ‘सम्बन्ध’ले प्रदर्शन गरेको छ । फूलको सौन्दर्यमार्फत सुन्दरता क्षणिक हुने दार्शनिक भाव ‘सौन्दर्य’मा फूल र बूढो रूखको संवादमा आएको छ । आदर्श र यथार्थबीच तालमेल नहुने आजको यथार्थलाई ‘आदर्श’ले स्पष्ट पारेको छ । यो औसत लघुकथा हो । ज्ञान, बुद्धि र अहङ्कारले देवतातुल्य मानिस र स्वर्गतुल्य पृथ्वीमा गरीबी, भोकमरी, आन्दोलनजस्ता कुरूपता व्याप्त रहेको र देवताहरूले पनि केही गर्न नसकेको ‘एलियन्स’ अलिक लामो र स्वैरकाल्पनिक कथा हो ।
सुखको लागि गरिएको कामले कहिलेकाहीं चिन्ता बढाउने गर्छ । यही तार्किकतालाई ‘चिन्ताएँ’ कथाले दुःखीरामले पानी पार्न भ्यागुतोको बिहे गराएपछि वर्षा भएर आएको बाढीले चिन्ता थपिएको सन्दर्भबाट पुष्टि गरेको छ । कुनै पनि महामारीभन्दा भोक ठूलो रोग हो । यसलाई ‘अनुत्तरित’ कथाले म र माग्ने पात्रको संवादबाट स्पष्ट पारेको छ । वर्णनात्मक लघुकथा ‘हैसियत’मा ऊ पात्रले किन्न चाहेको जुत्ताको शोरूममा मूल्य देखेर फूटपाथमा किनेकोबाट हैसियतले आफ्नै किसिमको सन्तुष्टि दिने बताएको छ । आफ्नो घरलाई बुल्डोजरले भत्काउँदै गरेको र सानो छोराले गरेको प्रश्नले आहत भई आँखामा छल्किएको पीडालाई ‘पीडा के आँसु’ लघुकथाले देखाएको छ । भ्रष्टाचारीहरूले भ्रष्टाचार गर्दै भ्रष्टाचारविरोधी सम्भाषण दिने गरेको यथार्थलाई ‘वक्तत्व’ कथामा प्रस्तुत गरिएको छ ।
हेराइमा पनि लैङ्गिक विभेद रहेको विषयवस्तुलाई ‘दृष्टिदोष’ लघुकथाले स्पष्ट पारेको छ । आफूले गरेको राम्रो र अरूले गरेको नराम्रो मान्ने बानीलाई यसले उजागर गरेको छ । ‘एक हाथ से ताली’ अन्याय र विभेदविरुद्ध विद्रोही लघुकथा हो । यसलाई प्रगतिशील लघुकथा मान्न सकिन्छ । राजनीतिमा एकअर्काको विरोध केवल विरोधको लागि र सर्वसाधारणबाट ताली पाउनको लागि मात्र गर्ने गरेको र भित्रभित्रै सबैमा एकता रहने गरेको प्रवृत्तिलाई ‘चरित्रका धर्म’ले उदाङ्गो पारेको छ ।
मानिसले अरूको प्रगति देख्न वा सुन्न नचाहने तथा नक्कलीपनमा मानिस रमाउन चाहने दुई प्रवृत्तिको आत्मरतिलाई ‘सुनहरी छडी’मार्फत प्रतीकात्मकरूपमा छर्लङ्ग पारिएको छ । वस्तुको उपयोगिता ठाउँ अनुसार र पात्र अनुसार हुने भावलाई ‘नियति’ लघुकथाले फूलको नियतिमार्फत स्पष्ट पारेको छ । आफ्नै किसिमले कुनै घटना वा पात्रको अनुमान लगाउने तर यथार्थ फरक हुने कुराको मूल्याङ्कन ‘अनुमान’ कथाले गरेको छ । एक राजनीतिज्ञको प्रधानमन्त्री बन्ने सपना पूरा हुनै लागेको भविष्यवाणी ज्योतिषले गरेको तर इमानदार र नीतिवानबाहेक अरू कोही कुर्सीमा बस्दा खरानी हुने कुरा लेखिएको देखेपछि डरले प्रधानमन्त्री बन्ने इच्छा नै छोडेको कुरा ‘अद्भुत कुर्सी’मा रहेको छ ।
सत्ताको उन्मादमा कुनै पनि समस्यालाई नदेख्ने, नसुन्ने, नबुझ्ने भएको सन्दर्भ ‘अपाहिज दृष्टि’मा रहेको छ । लोभी मानिसमा मर्ने बेलासम्म पनि लोभ गर्ने प्रवृत्ति बाँचिरहन्छ र सम्पूर्ण परिवारमा पनि आर्थिक लोभ फैलिएको हुन्छ भन्ने कुरालाई व्यङ्ग्यात्मक शैलीमा ‘लालच’ लघुकथाले स्पष्ट पारेको छ ।
‘महानगर’मा चुनाव जित्नको लागि कसरी नारा निर्धारण हुन्छ भन्ने विकृतिलाई विषयवस्तु बनाइएको छ । आधुनिक मानिसमा रहेको मोबाइल प्रेमको विकृतिलाई ‘आसक्ति’ लघुकथाले सहजतापूर्वक देखाएको छ । सांसारिक सुख, सन्तुष्टि र आत्मरतिमा जीवन बिताउने मानिसमा जुनसुकै उमेरमा पनि मृत्युको भय हुने स्वैरकाल्पनिक कथ्य ‘मृत्युका निमन्त्रणपत्र’मा रहेको छ । ठेकेदारहरूले भगवान्लाई ठग्न पनि भगवान्को आशीर्वाद लिने गरेको अर्थात् मन्दिरको पर्खाल भत्किएर पुनः ठेक्का पर्दा भगवान् र ठेकेदार दुवै खुशी भएको कुरालाई ‘तथास्तु’ले देखाएको छ । ‘पति–पत्नीको झगडा, परालको आगो’ भन्ने उखानलाई पत्नीको व्यवहारले आजित भई आत्महत्या गर्न हिंडेको मानिस घरपरिवारको जिम्मेवारी बोध गर्दै मोबाइलमा पत्नीले गरेको गालीभित्रकै प्रेमले घर फिरेको कथ्यलाई ’प्यारका बन्धनले सहजतापूर्वक स्पष्ट पारेको छ ।
जीवनभर सहयोग नगर्ने, दुई शब्द मीठो नबोल्ने तर मृत्युपछि खूब प्रशंसा गर्ने प्रवृत्तिलाई दयारामको अन्तिम संस्कारसँगै ‘सहानुभूति’ कथाले स्पष्ट पारेको छ । सधैं दलितको विरोध गर्ने तर दलितकै रगतले जीवन बाँचेको कुरालाई बडो सहजतासाथ पण्डित हरिप्रसादको कथामार्फत ‘सङ्कीर्ण सोच’ सार्वजनिक भएको छ । मानिसको चाहना र कल्पनालाई व्यवहारमा उतार्न नसक्ने अवस्था भएमा सपनामा सन्तुष्टि प्राप्त हुने गर्छ भन्ने तथ्यलाई ‘सन्तुष्टि’ कथाले देखाएको छ ।
भ्रष्टाचारीलाई उसको घर, ऐना तथा अन्य परिवेशले पनि धिक्कार्ने रहेछ । कसैले पनि राम्रो भन्ने रहेनछ । यही कुरालाई ‘उपर आदेश’ लघुकथाले देखाएको छ । अस्पतालमा रिपोर्ट साटासाट भएपछि पर्ने प्रभावलाई बडो कुतूहलपूर्ण र मार्मिक शैलीमा ‘मृत्युभय’ कथाले स्पष्ट पारेको छ । ब्लड क्यान्सरले मृत्युको नजीक पुगेको रिपोर्ट साटिंदा मानसिकरूपमा आएको पीडामय अवस्थालाई सुन्दर ढङ्गले स्पष्ट पारिएको छ ।
आन्दोलनमा कहिलेकाहीं नसोचेको क्षति बेहोर्नुपर्छ भन्ने कुरालाई प्रतीकात्मक रूपमा ‘खामोशी’ लघुकथाले बताएको छ । परदेशमा आफ्नो पहिचानको कुनै कपडा लगाउँदा स्वदेशीले सजिलै चिन्ने र आफ्नोपनको अनुभूति हुने कुरालाई एक नेपालीले टोक्योमा नेपाली टोपी लगाएपछि सहज ढङ्गले देखाएको छ । कृतिको अन्तिम लघुकथा हो– ‘न्याय’ । एकले अर्कोमाथि दोष पन्छाउँदै जाने र आफूलाई निर्दोष साबित गर्ने मानवीय प्रवृत्तिलाई यस लघुकथाले उजागर पार्दै जसले सफाइ दिन पाएन उसैलाई दोषी मान्ने प्रवृत्तिमाथि पनि प्रहार गरेको छ ।
आमुख तथा शुभकामना सबै भारतीय साहित्यकारको रहेको यस सङ्ग्रहभित्रका कतिपय लघुकथाहरू नेपाली शैली र प्रवृत्तिको लघुकथाभन्दा पृथक पनि छन् । लघुकथामा पनि लघुआयाम र आयाम विस्तार प्रयोग गरिएको छ । कतिपय लघुकथामा नेपाली शैली र नेपालीपन अर्थात् आञ्चलिकता देखिन्छ । लघुकथामा यथार्थ कुरालाई देखाउन पनि स्वैरकाल्पनिकताको व्यापक उपयोग गरिएको छ । पात्र, परिवेश तथा संवादमा अलौकिकताको प्रयोग गरिएको छ । विवरणात्मकताको छनक र वर्णनात्मकताको प्रयोगले केही लघुकथामा संवादको अभाव देखिन पुग्छ ।
कतिपय लघुकथामा संवादकै माध्यमबाट परिवेश र प्रवृत्ति प्रस्तुत भएका छन् । कतै बीज वाक्यको प्रयोग गरिएको छ भने कतै सन्देशलाई पाठकले नै पहिल्याउनुपर्ने देखिन्छ । लघुकथाकार पौडेलले नेपालीमा सबै लघुकथा प्रकाशन वा लेखन भएको र हिन्दीमा अनुवाद गरिएको बताएका छन् । यसबाट लघुकथाको दोस्रो भाषा हिन्दी भएकोले यसको प्रभाव पनि यसमा देख्न सकिन्छ । समग्रमा ‘अन्तर्दृष्टि’ लघुकथालाई प्रयोगवादी सङ्ग्रह मान्न सकिन्छ । लघुकथाकार पौडेल अधिकांश लघुकथा नेपाली मानक लघुकथाको नजीक रहेकाले आगामी यात्रा अझ सशक्त हुने विश्वास गर्न सकिन्छ । नेपाली र हिन्दी साहित्य तथा साहित्यकारबीच यस लघुकथा सङ्ग्रहले एउटा सम्बन्ध सेतुको निर्माण गर्न यो सङ्ग्रह सफल रहेको छ ।