वीरगंज (पर्सा), १४ चैत/रासस
लामो समयदेखि बन्द रहेको वीरगंज चिनी कारखाना शीघ्र सञ्चालन हुने आशामा स्थानीयवासी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै चिनी कारखाना शीघ्र सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताएपछि स्थानीयवासी हर्षित हुँदै त्यसको व्यग्र प्रतीक्षा मा छन् । केही दिनअघि चिनी कारखानाको स्थलगत अवलोकन गर्न आएको सङ्घीय संसदीय टोलीले पनि कारखाना पुनर्सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको थियो ।

प्रधानमन्त्रीबाट भएको उत्साहजनक घोषणा र संसदीय टोलीको निष्कर्षपछि स्थानीयमा रुग्ण उद्योग पुनर्सञ्चालन हुने आशा जाग्नु सामान्य भएको वीरगंजका व्यापारी कृष्णकुमार कानू बताउँछन् । “लामो समयदेखि बन्द कारखाना पुनर्सञ्चालन हुन्छ भन्ने लागेको थिएन तर सरकार प्रमुखको पछिल्लो घोषणा र संसदीय टोलीको निष्कर्षबाट चिनी कारखाना सञ्चालन हुन सक्छ भन्ने आशा हामीमा पलाएको छ,” उनले भने । चिनी कारखाना सञ्चालनपछि स्वदेशी चिनीको आपूर्तिमा सहजता र रोजगार सिर्जनामा मदत पुग्ने उनले बताए ।

तत्कालीन सोभियत सङ्घको आर्थिक एवं प्राविधिक सहयोगमा २०२१ माघदेखि सञ्चालनमा आएको वीरगंज चिनी कारखानाले कुनै बेला देशभर चिनीको मागलाई धान्ने गरेको थियो । राज्यको पनि लगानी रहेको उक्त चिनी कारखाना पुनर्सञ्चालनमा ल्याउन सकिए मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले बताए ।
“चिनी कारखानालाई पूर्ण क्षमतामा चलाउन सकेमा देशलाई आवश्यक पर्ने चिनी उत्पादन गर्न सकिने अवस्था छ,” अध्यक्ष अग्रवालले भने, “अहिले जति किसानले उखु उत्पादन गरिरहेका छन्, त्यसैमा उहाँहरूको क्षमता अभिवृद्धि गरेर उद्योगलाई पूर्ण क्षमतामा चलाउन सकिए पनि चिनीको उत्पादन बढाउन सकिन्छ ।”

“हाम्रो देशका लागि चिनी कारखानाभन्दा उपयुक्त उद्योग कुनै छैन, यसले शहरको पैसा गाउँँमा लैजान्छ, गाउँँका किसानलाई नगद पैसा दिन्छ,” वीरगंज चिनी कारखाना सञ्चालक समितिका पूर्वअध्यक्ष हरि गौतमले भने, “यस्तो कारखाना बन्द हुनु मुलुकका लागि दुर्भाग्य हो, त्यसैले यसको पुनर्सञ्चालन आवश्यक छ ।”

हालै वीरगंज चिनी कारखानाको स्थलगत अवलोकन गरेको प्रतिनिधिसभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमितिले कारखाना पुनर्सञ्चालन गर्न सकिने जनाएको थियो ।

“वीरगंज चिनी कारखानाका विषयमा बाहिर जसरी प्रचार भएको छ, त्यो सबै प्रचार गलत रहेको पाइयो,” उपसमितिका संयोजक तथा बारा–४ का प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठले भने, “विसं २०५९ देखि बन्द चिनी कारखानाको अवस्था हेर्दा कारखानाभित्र मेशीन छैन, चलाउनै सकिंदैन भनेर फैलाइएको प्रचार असत्य भएको हामीले पायौं ।”

चिनी कारखानासँग जोडिएका प्राविधिक विज्ञ, अनुभवी साथीहरूसँग सल्लाह गरेर यो कारखानालाई कसरी सञ्चालन गर्न सकिन्छ भन्नेबारेमा छलफल गरेर अगाडि बढ्ने उनले बताए । चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमितिले रुग्ण चिनी कारखान पुनर्सञ्चालन गर्न सरकारलाई सुझाएको सांसद श्रेष्ठले बताए ।

करीब २० वर्षदेखि चिनी कारखाना बन्द भएपछि कारखानाका नाममा रहेको अधिकांश जग्गा अतिक्रमणको चपेटमा छ भने गोदामघर जीर्ण र मेशीनमा खिया लागेको छ । कारखाना परिसर घारीमा परिणत भएको छ । शुरूमा वार्षिक ९० हजार क्विन्टल चिनी उत्पादन गरेको सो उद्योगले पर्सा, बारा र रौतहटका किसान उखुखेतीमा जोडिएपछि आधुनिक मेशीन जडान गरेर वार्षिक एक लाख ३५ हजार क्विन्टल चिनी उत्पादन गर्दै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here