• सञ्जय मित्र
संस्कृतिमा सम्पन्न मुलुक नेपालमा विभिन्न चाडपर्व नितान्त मौलिक किसिमले मनाइन्छ । अनेक देवीदेवताको जन्मस्थल रहेको यो भूमि विभिन्न संस्कृतिको उद्भवस्थल पनि हो । हिमालदेखि तराईसम्मको भौगोलिक विशिष्टतामा मनाइने अनेक चाडपर्वमध्ये महाशिवरात्रि साझा पर्व हो । शिवरात्रिमा भगवान् शिवको विशेष पूजा गरिन्छ ।

भगवान् शिवलाई देवाधिदेव पनि भनिन्छ । आदिदेव तथा देवताहरूका पनि देवताको पूजा महाशिवरात्रिका दिन हुनुका पछाडि यसै दिन सृष्टिको उत्पत्ति भएको कारणले भएको मानिन्छ । सृष्टिको आरम्भ यसै दिन महादेवको विशालकाय अग्निलिङ्गबाट भएको मानिएको छ । यसै दिन भगवान् शिवको विवाह पार्वतीसित भएको पनि मानिन्छ । यसैले फागुन महीनाको कृष्ण पक्षको चतुर्दशी तिथिलाई अत्यन्त विशिष्ट मानिएको छ ।

तराई–मधेसको विभिन्न भागमा शिवसँग सम्बन्धित विभिन्न मौलिक अनुष्ठान प्रचलनमा छन् । लोकपरम्परामा पनि शिव र पार्वतीको विवाहसित सम्बन्धित प्रचलित अनुष्ठानहरूमध्ये नितान्त मौलिक चाहिं मधानी यज्ञ रहेको छ । मधानी यज्ञ मधेस प्रदेशको मुख्य गरी बारादेखि सर्लाहीसम्म प्रचलनमा रहेको छ । सबैभन्दा बढी मधानी यज्ञ हुने जिल्ला रौतहटलाई मानिन्छ । यी जिल्लासित जोडिएका भारतका केही भूभागमा पनि मधानी यज्ञ गर्ने चलन छ ।

मधानी मुख्यतः भगवान् शिवको विवाहको गीति नृत्य हो । र, यसका सम्पूर्ण पात्र कामरनाथु हुने गर्दछन् । विशेष प्रकारका परम्परागत बोलबमलाई कामरनाथु भनिन्छ । कामरनाथुहरू निर्धारित समयका कठोर र विशेष शिवभक्त हुन् । अत्यन्त कडा नियम र निष्ठामा बस्ने यस्ता कामरनाथुलाई सर्वसाधारणले देख्नेबित्तिकै ढोग्ने गर्दछन् । समाजमा निकै ठूलो सम्मान प्राप्त कामरनाथुहरू अनुष्ठानका लागि घरबाट निस्केपछि कसैको घरमा पस्दैनन् । मधानी अनुष्ठानका सम्पूर्ण विधि तथा प्रक्रियाका निर्णायक यिनै कामरनाथुहरू हुन्छन् ।

कामरनाथुहरूको समूहलाई गफला भनिन्छ । एक गफलामा दश–पन्ध्र गाउँका कामरनाथु सम्मिलित भई यज्ञ गराउँदै हिंड्छन् । गफला झन्डै स्थायी प्रकृतिको हुन्छ र यसको प्रमुख, जसलाई जमदार भनिन्छ, ले हरेक गाउँमा रहेका कम्तीमा एक सिपाहीलाई कुनै निश्चित दिन तोकेर आप्mनो ठाउँमा विमर्शका लागि बोलाउँछन् । सिपाहीलाई आप्mनो गाउँमा कसले लखराँव र मधानी गराउने प्रस्ताव गरेका छन् भन्ने जानकारी हुन्छ । यही यज्ञ गराउने मानिस र गाउँको सङ्ख्या विचार गरेर कामरनाथुको समूह कहिले गाउँबाट निस्कने र कहाँकहाँ यज्ञ गराउँदै अन्तिम दिन कुनै शिवालयमा पुग्ने भन्ने कार्ययोजना तयार गरिन्छ ।

लखराँवलाई शिवको राज्याभिषेकको प्रतीक मानिन्छ । शिवको यो देवाधिदेव स्वरूपसित सम्बन्धित छ । लखराँवमा कम्तीमा एक लाख शिवलिङ्ग बनाइन्छ काँचो माटोको । भाकल बढीको हुनेले सवा लाख, अढाई लाख वा पाँच तथा नौ लाख शिवलिङ्ग बनाएर पूजा गर्दछन् । हरेक शिवलिङ्गमा बेलपत्र चढाइन्छ, जलाभिषेक गरिन्छ । अक्षता, चन्दन, धतुरो र विभिन्न किसिमका पुष्प चढाइन्छ । पण्डित पुरोहितले मन्त्रोच्चारण गर्छन् । लखराँव जसले गरेको भए पनि गाउँका धेरै नरनारी व्रत बसेर पूजामा सहभागिता जनाउँछन् । एक्लै गरिने भए पनि लखराँव सामूहिकताको धार्मिक अभिव्यक्ति हो । लखराँवमा विभिन्न शास्त्रीय विधिको पालन गर्नुपर्ने भएकोले यसलाई वैदिक यज्ञ पनि मान्ने गरिएको छ तर लखराँवसँगै वा एक्लै पनि गर्न सकिने मधानी अनुष्ठानमा भने कुनै पण्डित पुरोहितको आवश्यकता पर्दैन । यज्ञ गराउने यजमानले पनि मधानी अनुष्ठानमा खासै कुनै भूमिका खेल्नुपर्दैन । यसमा सम्पूर्ण हर्ताकर्ता कामरनाथु नै हुन्छन् । भाकल गर्ने व्यक्ति यज्ञकर्ता हुन्छन्, जसको घरमा मधानी अनुष्ठान गरिन्छ ।

लखराँव प्रायः सूर्यास्तको समयसम्म सम्पन्न भइसक्छ र मधानी प्रायः राति गरिन्छ । शिव र पार्वतीको विवाह राति नै भएको मानिन्छ । मधानीमा शिव र पार्वतीको विवाहको कथा वेशभूषासहितको अभिनय र गीतमार्फत देखाइन्छ । एक कामरनाथु भगवान शिवको भेष धारण गर्दछन् र एकजना पुरुष कामरनाथु नै पार्वती बन्दछन् । यसैगरी नन्दी, भृङ्गी तथा गणहरू पनि कामरनाथुहरू नै हुन्छन् । मान्यता अनुसार कतिपय कामरनाथु भूतप्रेतको वेश पनि धारण गर्दछन् । डमरूसहित अन्य बाजा बजाउने, गीत गाउने र नृत्य गर्ने कामरनाथुहरू नै हुन्छन् । विवाहमा जन्ती लिएर जब पार्वतीको माइती पुग्छन् तब त्यहाF आश्चर्य र धार्मिक मनोरञ्जनको मनोहर आकर्षण हुन्छ । यज्ञकर्ताका साथै गाउँका दर्शकहरू र स्वयं कामरनाथुहरू पनि यस दृश्यलाई छोड्न चाहँदैनन् ।

बसाहामा बसेका शिवलाई कोही जिस्क्याइरहेका हुन्छन्, कोही गाली गरिरहेका हुन्छन् । मधेसको ससुरालीमा जन्ती लिएर पुग्दा दुलहालाई गरिने स्वागतको सम्पूर्ण परम्परागत झल्को यहाँ देख्न सकिन्छ । गाउँघरमा विवाहमा गाइने स्वागत तथा गालीको गीतले जन्तीको स्वागत गरिन्छ । मधानीको लोकमान्यता यो रहेको छ कि यो रातभर चल्नुपर्दछ । विवाहको विधि रातभर चल्ने भएकोले स्थानीय भाकाका परम्परागत वैवाहिक गीतहरू पुरुषहरूको स्वरमा सुन्न पाउनु पृथक अनुभूति हुन्छ । लोक परम्परागत विधि अनुसार शिव–पार्वती विवाह सम्पन्न हुन्छ । बिहान छ्याङ्गै उज्यालो भएपछि वा सूर्योदय भएर घाम लागेपछि मात्र माइती पक्षले पार्वतीको बिदाइ गर्दछन् । बिदाइ गरेसँगै यजमानको यज्ञ सम्पन्न र सफल भएको मानिन्छ । यसपछि फेरि कामरनाथुहरू यस्तै निर्धारित अर्को ठाउँमा मधानी अनुष्ठान गराउन जान्छन् ।

मधानी मूलतः महाशिवरात्रिसित सम्बन्धित पर्व हो तर श्रीपञ्चमीको समयमा पनि गर्ने गरिन्छ । मधेसका विभिन्न शिवालयमा श्रीपञ्चमीको दिन पनि ठूलो मेला लाग्ने तथा शिवको मौलिक पूजा हुने भएकोले हजारौं कामरनाथुहरू पूजा गर्दछन् । कामरनाथुहरूले वैशाख महिनामा मधानी यज्ञ सम्पन्न गर्दछन् । शास्त्रमा उल्लेख भए अनुसार एक वर्षमा हुने बाह्र शिवरात्रिमध्ये फागुन महीनाको शिवरात्रि मात्र महाशिवरात्रि हो । यसैले यस अवसरमा गरिने मधानीलाई विशेष महŒवको अनुष्ठान मानिन्छ ।

शिव–पार्वती विवाह त वैदिक सन्दर्भ हो तर मधानीलाई पूर्ववैदिक अनुष्ठान मानिएको छ । लोकजीवनमा पनि विवाह संस्कारमा पण्डित पुरोहितको आवश्यकता पर्ने तर शिव–पार्वती विवाहको मधानी अनुष्ठानमा कुनै पण्डित पुरोहितको आवश्यकता नपर्ने हुँदा विवाहमा पण्डित पुरोहितको आवश्यकता महसूस गरिएको काल वेदको रचनाभन्दा पछि नै हो । वेदको रचनाभन्दा पहिलेदेखि नै लोकजीवनमा शिव–पार्वतीको विवाह अनुष्ठानको द्योतक मधानी प्रचलनमा रहेको मानिएकोले यसलाई पूर्ववैदिक अनुष्ठान मानिएको हो । शिवका भक्तहरूले नै विवाहको सम्पूर्ण विधि सम्पन्न गराउने यो अनुष्ठान आफैंमा विशिष्ट रहेको छ ।

मधानी अनुष्ठान सम्पन्न भएपछि ‘शिवको गण हुँ’ भन्दै यज्ञकर्तासित अन्न, द्रव्य र वस्त्र माग्न आइपुग्छन् केही मानिस । ती माग्न आउनेहरूले सोझै भन्ने गर्दछन् – यज्ञपछि हाम्रो हक पनि चाहिन्छ । यस क्षेत्रमा बसोवास गर्ने कलैया तथा सरभङ जातिका मानिसले आफूलाई शिवका गणहरूका वंशधर दाबी गर्ने गरेका छन् । यस विषयमा गहिरो अध्ययन र अनुसन्धान आवश्यक छ ।

शहरी क्षेत्रमा मुश्किलले देख्न पाइने तथा ग्रामीण क्षेत्रमा हरेक वर्ष सयौंको सङ्ख्यामा हुने मधानी अनुष्ठानमा सबै जातजातिका कामरनाथुको सहभागिता रहन्छ । मधानीमा हुने नृत्य तथा अभिनय विधामा थारू जातिका कामरनाथुहरूको कलाकारिता अत्यन्तै जीवन्त हुन्छ ।

लोकजीवनमा समृद्ध रहे पनि चर्चामा कहिल्यै नआउने मधानी अनुष्ठानलाई २०७६ सालदेखि रौतहटको मौलापुर नगरपालिकाले प्रवर्धन गरिरहेको छ । हरेक वर्ष महाशिवरात्रिका दिन पुराताŒिवक महादेव मन्दिरमा देशका उच्चपदस्थ व्यक्तित्वलाई आमन्त्रित गरी र भारतीय तथा नेपाली कलाकारहरूलाई बोलाएर लाखौं दर्शक तान्ने गरेको छ । मौलापुर नगरपालिकाले आप्mनो विशेष पर्यटकीय कार्यमा समावेश गरेको मधानी अनुष्ठानलाई महायज्ञ महोत्सवको रूपमा प्रवर्धन गरी जीवन्तता दिने प्रशंसनीय कार्य गरेको छ । मौलिक संस्कृतिलाई प्रवर्धन गर्दै पर्यटनको दृष्टिले विस्तारका साथै आय आर्जनसित पनि जोड्नु जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here