• अनन्तकुमार लाल दास
“मैले वाटरलूको युद्धमा जुन सफलता हासिल गरें त्यसको प्रशिक्षण ईटनको मैदानमा पाएँ ।” नेपोलियनलाई हराउने एडवर्ड नेल्सनको यो भनाइ खेलको महत्व दर्शाउन पर्याप्त छ । खेलले हामीलाई स्वस्थ राख्न मात्र योगदान गर्दैन, वर्तमान युगको सङ्कीर्णवादी सोचविरुद्ध हामीलाई निष्पक्ष, सहिष्णु र विनम्र बनाएर उपयोगी मानव संसाधनको रूपमा पनि परिवर्तित गर्दछ । खेलको महत्वलाई विश्वको प्रत्येक समाज र सभ्यताले स्वीकृति प्रदान गरेको छ । रामायण, महाभारतदेखि ग्रीकको रोमन दन्तकथाहरूमा हुने खेलको वर्णन यस कुराको प्रमाणको रूपमा स्थापित रहेको छ । यसबाहेक ओलम्पिकको प्रारम्भिक शुरूआतले के प्रस्ट गरेको छ भने खेलले संस्थागत महत्व पाएको छ ।
वर्तमान परिवेश र जीवनशैलीमा आज मानिस कैयन प्रकारका रोगले ग्रस्त भइरहेका छन् । यस परिवेशमा खेलको महत्व स्वयं प्रस्ट हुन जान्छ । खेलको माध्यमले हाम्रो दैनिकी नियमित हुनुका साथै उच्च रक्तचाप, मधुमेह, मोटोपना, हृदयरोगजस्ता बिरामीहरूको सम्भावना पनि न्यून गर्दछ । यसबाहेक खेलको माध्यमले आपूmलाई चुस्तदुरुस्त राख्न पनि सहयोग प्राप्त हुन्छ जसले हामीलाई आप्mनो दायित्वको पालना गर्न ऊर्जावान् बनाउँछ ।
असल जीवन जिउनको लागि राम्रो स्वास्थ्य हुनु आवश्यक छ । जसरी शरीरलाई स्वस्थ र रोगरहित राख्न व्यायाम आवश्यक हुन्छ, त्यसैगरी खेलकूदको पनि स्वस्थ जीवनको लागि अत्यधिक महत्व छ । खेल केटाकेटी र युवायुवतीहरूको मानसिक तथा शारीरिक विकासका लागि अति आवश्यक छ । आजको नयाँ पुस्तामा किताबी ज्ञान सँगसँगै खेलप्रति रुचि जगाउनु पनि आवश्यक छ ।
जीवनमा खेलको धेरै महत्व छ । खेलले हाम्रो व्यक्तित्व तिखार्ने काम गर्छ । यसबाट हाम्रो मस्तिष्कको विकास हुन्छ । यसर्थ शिक्षा एवं रोजगारका लागि पनि यसले सहायक भूमिका निर्वाह गर्छ । यसले हाम्रो पाचनतन्त्रलाई ठीक राख्छ । खेलले रक्तसञ्चारमा पनि सहयोग गर्दछ र हाम्रो स्वास्थ्यलाई राम्रो बनाइराख्न मदत गर्छ । खेलले हामीलाई रोगमुक्त बनाउँछ । हामीभित्रको अल्छीपना दूर गर्छ । खेल हाम्रो व्यक्तित्व विकासमा पनि सहयोग गर्छ र हामीलाई आत्मनिर्भर र सफल बनाउँछ ।
परम्परागतरूपमा नेपालको मध्यम वर्गको धारणा रोजगारको दृष्टिकोणले खेलप्रति नकारात्मक रहेको छ । खेलकूदलाई मानिसको बौद्धिक विकास र रोजगार प्राप्तिमा बाधक ठान्दै भनिन्थ्यो “पढोगे–लिखोगे तो बनोगे नवाब, खेलोगे–कूदोगे तो होगे खराब ।” तर वर्तमानको बदलिंदो परिवेशले के प्रस्ट गरेको छ भने खेल मानिसको विकासमा सहायक बन्छ, बाधक होइन । तपाईं कुनै क्षेत्रमा लामो सङ्घर्ष र समय खर्चिएपछि मात्र एउटा चिनारी प्राप्त गर्न सक्नुहुन्छ तर तपाईंले कुनै खेल प्रतियोगितामा एउटा गोल हान्दैमा, एउटा चौका र छक्का लगाउँदैमा वा एउटा विकेट खसाल्दैमा आप्mनो विद्यालय वा क्लबका लागि मात्र हैन, खेल हेरिरहेका सबैका माझ चिनारी बन्छ । खेलले तपाईंलाई नाम दिन्छ । कुनै खेल विशेषसँग जोडिएर अव्वल काम ग-यो भने तपाईंको नामसँग जोडिएर त्यस खेलको नाम आउँछ । शैक्षणिक उपलब्धिबेगर सचिन तेन्दुलकरद्वारा आर्जित यश, सम्मान, धन, लोकप्रियता आदि यसको सुन्दर उदाहरण हो । भारतीय खेलाडी सचिन तेन्दुलकरले देशको सर्वोच्च सम्मान ‘भारत रत्न’ हासिल गर्नुले खेलको महत्वलाई दर्शाउँछ । आज विभिन्न देशका खेलाडीहरूले जुन सफलता र समृद्धि हासिल गरेका छन्, त्यसको सामु संस्थागत शिक्षाको प्रश्न गौण हुन्छ ।
नेपाल सरकारले पनि नेपाली खेलाडीहरूलाई कैंयन प्रकारले सम्मानित गर्दै आएको छ र खेलको विकासमा सराहनीय काम गर्दै आएको छ । आज क्रिकेटमा नेपाली खेलाडीहरूले नेपाललाई गौरवान्वित पारेका छन् । आज खेललाई नेपाली संस्कुति र एकताको प्रतीक मानिन्छ । खेलले हाम्रो प्रगतिलाई सुनिश्चित गरेर जीवनमा सफलता प्रदान गर्दछ ।
बच्चाहरूको व्यक्तित्व विकास र कल्याणमा खेलकूद तथा क्रीडाको प्रभावलाई नेपालका शिक्षाशास्त्रीहरूले केही हदसम्म उपेक्षा गरेको देखिन्छ । पाठ्यक्रममा खेलकूदलाई एउटा विषयको रूपमा स्वीकार गरिएको छैन । खेलकूदमा लागेका प्रतिभावान बालकहरूलाई विद्यालय तहदेखि नै प्रोत्साहन गर्न सकिएको छैन । प्रचलित धारणा अनुसार कुनै पनि व्यक्तिले जित्नका लागि खेल्छ तर बच्चाहरूको मामिलामा यो सत्य होइन । उनीहरू त खेलकूदमा रमाउँछन् । एकदम सानै उमेरका बालबालिकाहरू जीतहारबारे सोच्दैनन् । उनीहरूलाई त खेल्नु र रमाउनु नै राम्रो लाग्छ । तर जसैजसै ठूलो हुँदै जान्छन् उनीहरूमा प्रतिस्पर्धाको भावना भरिंदै जान्छ । त्यसबारे पनि चिन्तन भएको छैन ।
विद्यालयले कुन तहसम्म प्रतिस्पर्धाको भावना राख्नुपर्छ भन्नेबारे अध्ययन र मनन गरेकै छैन । शुरूआतमा व्यक्तित्व निर्माणका लागि केही अवधिसम्म बच्चाहरूलाई खेलको मज्जा लिन र मौजमस्ती गर्ने आजादी दिनुपर्छ । यस अवधिमा जीत र हारको कुनै महत्व हुनुहुँदैन । उसो त केही मानिसहरू भन्छन् बच्चाहरूमा पनि जीतहारको भावना जगाउनुपर्छ । उनीहरूको बुझाइ प्रतिस्पर्धायुक्त खेलले बच्चामा प्रतिस्पर्धाको उष्मा सञ्चय हुन्छ र ऊ उत्कृष्टतातर्फ लम्कन्छ । यसले उसमा सहज र स्वाभाविक तरीकाले सामथ्र्य सञ्चय गर्ने ढोका खुल्छ । यसले के देखाउँछ भने अहिलेको हाम्रो शिक्षा प्रणालीमा खेलकूदलाई फराकिलो तरीकाले जान्नेबुझ्ने काम हुनसकेको छैन ।
खासगरी खेलका केही पारम्परिक शत्रुहरू छन् । जस्तै दशौं कक्षाको जाँचलाई आयरन गेट भनेर हौवा खडा गरिएको छ, जसले गर्दा त्यस अवधिमा विद्यार्थी स्वयंले खेलकूद बन्द गरिसकेको हुन्छ । त्यसैगरी अर्को हौवा हो कोचिङ क्लास । बढी अङ्क हासिल गर्ने गोलचक्करमा विद्यालयपछि कोचिङ जानुपर्ने बाध्यताले खेलकूदको लागि समय निकाल्नै गा-हो हुन्छ । जो खेलकूदमा अगाडि बढ्न चाहन्छ ऊ पनि कम अङ्क पाउने डरले अगाडि सर्दैन । यसैगरी तेस्रो शत्रु हो, सामाजिक मिडिया । सामाजिक मिडियाको क्षेत्रमा आएको क्रान्तिले गर्दा अब साथीहरू मात्र एक क्लिकको दूरीमा चौबीसै घण्टा उपलब्ध हुन्छन् । यसले पनि विद्यार्थीहरूलाई खेलकूदबाट टाढा लग्दै गएको छ ।
खेलकूदको अर्को उपयोगिता पनि छ । मित्रता बढाउन, एक अर्काप्रति सम्मान प्रकट गर्न, सहयोग जुटाउन, नाम कमाउन, राष्ट्रिय प्रतिष्ठा आर्जन गर्न, सम्पत्ति आर्जन गर्न वा कैरियरको रूपमा त्यसलाई स्वीकार गर्न पनि खेलकूद उपयोगी हुन सक्छ । एउटा देश अर्को देशसँग, एउटा संस्था अर्को संस्थासँग एउटा गाउँ अर्को गाउँसँग मित्रता साझेदारी गर्न खेलकूद प्रतियोगिता आयोजना गर्छन् । यसलाई कूटनीतिक भाषामा भन्नुपर्दा ट्रैक २ डिप्लोमेसी भन्छन् । दुई संस्था वा देशबीच सम्बन्धको पुनर्निर्माणमा खेलकूद आधारशिला बनेर आउँछ । खेलकूदबाट परिस्थिति सामान्य हुन्छ । संवादको ढोका खुल्छ । एकले अर्काप्रति सम्मान गरेको ठहर्छ । त्यसैले खेलाडीहरूलाई विनामान–पत्रको राजदूत पनि भनिन्छ ।
खेल अबको समयमा केवल नाम र सुन्दर वृत्ति विकासको अवसर मात्र रहेन । यो छोटो समयमा बढी पैसा कमाउने एटिएम मेशीन पनि भएको छ । त्यसैले खेलसँग पैसोको कुरो पनि जोडिएको छ । अर्को कुरा खेलसँग जोडिएको सर्वाधिक महत्वपूर्ण कुरा के हो भने यसमा बढी पैसा हुनेकै बच्चाले राम्रो खेल्न सक्छन् भन्ने पनि होइन । खेलकूदमा साधारण परिवारको बच्चाले पनि असाधारण प्रदर्शन गर्न सक्छ । अब पहिलेजस्तो मान्छेले खेल देखायो र दर्शकले पैसा फालेजस्तो कुरा पनि रहेन । अब त पहिलेदेखि नै कुन खेल प्रतियोगितामा खेल्दा कति रकम पाइन्छ भन्ने कुरा निश्चित हुन थालेको छ । यसर्थ अब के भन्न सकिन्छ भने “खेलोगे–कूदोगे तो होगे नवाब ।”
यसबाट के प्रस्ट हुन्छ भने खेल मात्र स्वास्थ्यको लागि नभई रोजगार, यश र सम्मान प्राप्तिका लागि पनि उपयोगी छ । खेलद्वारा राजनीतिक लक्ष्य पनि हासिल गर्न सकिन्छ । कैयन देशहरूमा के पनि देख्नमा आएको छ भने खेलको अप्रत्यक्ष सम्बन्ध देश विकाससँग पनि रहेको छ । वर्तमान समयमा खेलप्रति मानिसको दृष्टिकोणमा पनि परिवर्तन भएको छ । खेल हामीलाई कैयन प्रकारले शिक्षित पनि गर्दछ । यसबाट मानवीय मूल्य र सामूहिक चेतनाको विकास हुन्छ । खेलले नेतृत्व कलाको विकास गर्छ । खेलले रचनात्मकतालाई बढाउँछ । खेलको सन्दर्भमा नकारात्मक पक्ष के हो भने मनोरञ्जनको नयाँ साधन र कैरियरको भागदौडले खेलको मैदानमा हुने भागदौड कम गरिदिएको छ । साना–ठूला सबैले आज मोबाइललाई नै खेल र मनोरञ्जनको साधन बनाएका छन् । परिणामस्वरूप आज देशको ठूलो जनसङ्ख्या खेल मैदानबाट गायब छ । यी कारणहरूले गर्दा खेल आफ्नो उच्च भावना र उद्देश्यसहित हाम्रो देशको मानिसबीच पुग्न सकिरहेको छैन । आधुनिक युगको यस नयाँ खेल र मनोरञ्जनले मानिसमा एकाकीपन र मानसिक विकृति जन्माइरहेको छ ।
यी सबै कुराको आलोकमा भन्न खोजिएको के हो भने खेलको महत्व बुझ । कक्षा कोठाबाट बाहिर आऊ । खेल मैदानलाई पनि पाठ्यक्रमसँग जोड र अगाडि बढ । जो राम्ररी खेल्न सक्छ, जसले राम्रो प्रदर्शन गर्न सक्छ उसको विकास यात्रा कहिल्यै रोकिंदैन । ऊ बढ्दै जान्छ । लम्कँदै हिंड्छ । उसको नाम, प्रतिष्ठा र दाम सबै अग्लिंदै जान्छ । यस अर्थमा बच्चाहरूलाई खेल्न प्रेरित गरौं, खेल्ने वातावरण दिउँ । बच्चालाई खेलकूदमा रम्न र रमाउन दिउँ । यसको शुरूआत घरबाट गरौं । अनि हेरौं खेललाई टेवा दिने सबैको नाम र अनुहार कसरी चम्किन्छ ।