• विश्वराज अधिकारी

नेपालमा कर्मचारीहरू भ्रष्टाचारमा लिप्त छन् । व्यापारीहरू भ्रष्टाचारमा लिप्त छन् । नेताहरूहरू भष्ट्राचारमा लिप्त छन् । मन्त्री, प्रधानमन्त्रीहरू भ्रष्टाचारमा लिप्त छन् । सामान्य नागरिकसमेत पनि भ्रष्टाचारमा लिप्त छन् । निष्कर्षमा भन्ने हो भने हाम्रो समाज नै भ्रष्टाचारमा लिप्त छ । भ्रष्टाचार हाम्रो जीवनयापनको एक अङ्ग हुन पुगेको छ । हाम्रो संस्कृति हुन पुगेको छ । भ्रष्टाचार हाम्रो समाजले इज्जत दिएको एक संस्कृति हुन पुगेको छ ।

हामीकहाँ बहुसङ्ख्यक व्यक्ति भ्रष्टाचार गर्ने अवसर नपाएसम्म भ्रष्टाचार विरोधी हुन्छन् । घूस खान नपाएसम्म घूस विरोधी हुन्छन् । इमानदार हुन्छन् । तर भ्रष्टाचार गर्न पाए, घूस खान पाए दुवै हातले खान्छन् । जति पाए पनि खान्छन् । यो हाम्रो राष्ट्रिय चरित्र हो । यस तथ्यलाई हामीले स्वीकार गर्नै पर्छ । सत्य यही हो । हाम्रो समाज घूस विरोध होइन, घूसमैत्री हो । घूस दिनुहोस्, लिन जो पनि तयार हुन्छ ।

हामी कहाँ भ्रष्टाचारमा लिप्त हुनेहरूको पङक्ति लामो छ । तर सर्वाधिक आश्चर्यको कुरा त के छ भने भ्रष्टाचार हुँदैछ भनेर जनतालाई खबरदारी गर्ने सञ्चार माध्यमहरू वा मेडिया सञ्चालक र मेडियाकर्मीहरू पनि भ्रष्ट छन् । भ्रष्टाचारमा लिप्त छन् । हवलदार नै चोर भएको अवस्था छ ।

भ्रष्टाचार नियन्त्रण र रोकथाम गर्न राज्यद्वारा स्थापित एवं सञ्चालित निकायहरू पनि भ्रष्टाचारमा लिप्त छन् । निजी र गैरसरकारी संस्थाहरू जो भ्रष्टाचार विरोधी अभियानमा संलग्न छन् ती पनि भ्रष्ट छन् । हाम्रो देश नै भ्रष्टाचारको जालोले नराम्ररी बेरिएको छ ।

माथिका भनाइको अर्थ नेपालमा इमानदारहरूको खडेरी परेको छ भन्ने होइन । इमानदारहरू छैनन् भन्ने पनि होइन । इमानदार र भ्रष्टाचार विरोधीहरू पनि नेपालमा राम्रो सङ्ख्यामा छन् । केही कर्मचारी त इमानदारीका लागि प्रख्यात नै भए । आर्थिक र पदीय भ्रष्टाचारको सन्दर्भमा, मन्त्री, प्रधानमन्त्री आदिबारे कुरा गर्ने हो भने मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईजस्ता दुई प्रधानमन्त्रीहरूले इमानदार र भ्रष्टाचार विरोधीको रूपमा ख्याति नै आर्जन गरे ।

यस आलेखको उद्देश्य भने नेपालमा जुन स्तरको भ्रष्टाचार छ भनी सञ्चार माध्यमहरूले प्रचार, प्रसार र प्रकाशन गरिरहेका छन् यथार्थमा, नेपालमा त्यो स्तरको भ्रष्टाचार छ वा छैन भनी छलफल गर्नु हो । भ्रष्टाचार नियन्त्रणमा मेडियाले महत्वपूर्ण योगदान पु-याएको छ वा मेडियाको कार्य भ्रष्टाचार नियन्त्रण तर्फ उन्मुख नभई उल्टो भ्रष्टाचार बृद्धि गराउनेतर्फ छ, त्यस उपर विचार गर्नु हो ।

मेडियाका सञ्चालक तथा मेडियाकर्मीहरूले प्रकाशन र प्रसारण गर्ने भ्रष्टाचारसम्बन्धी समाचार एवं विचारहरूको प्रकृति र उद्देश्य हेर्दा ती समाचार एवं विचारहरूले भ्रष्टाचार नियन्त्रणभन्दा मेडियाका सञ्चालक एवं मेडियाकर्मीहरूलाई फाइदा पु-याएको देखिन्छ । तर यो स्थिति सबै सञ्चारगृह एवं सञ्चारकर्मीहरूमा देखिएको छैन । तर बहुसङ्ख्यक सञ्चारगृह एवं सञ्चारकर्मीहरूले सम्प्रेषण गर्ने भ्रष्टाचार विरोधी विचार एवं समाचार वा सूचना एवं जानकारीहरूले भ्रष्टाचार नियन्त्रण गर्न सघाउ पु-याएको देखिंदैन ।

भ्रष्टाचारसम्बन्धी समचार प्रकाशन एवं प्रसारण गर्दा सत्य र तथ्यपूर्ण जानकारी सङ्कलन नगरी केवल सुनेको वा अनुमानको भरमा पत्रपत्रिका, रेडियो, टिभी आदिमा समाचार एवं विचारहरू प्रसारण वा प्रकाशन गर्नु केवल पाठक, दर्शक तथा श्रोताको सङ्ख्या वृद्धि गर्नु हो । श्रोता, पाठक वा दर्शकहरूको सङ्ख्या वृद्धि गरेर अन्य फाइदा (आय, विज्ञापन, आर्थिक सहयोग, लाभ आदि) प्राप्त गर्नु हो । यस्तो कार्य अहिले बहुसङ्ख्यक सञ्चारगृह एवं सञ्चारकर्मीले गरिरहेका छन् ।

झूटो वा काल्पनिक समाचार तथा विचार प्रकाशन तथा प्रसारण गर्नु पनि ठूलो आर्थिक अपराध हो । ठूलो भ्रष्टाचार हो । अक्षम्य अपराध हो । प्रकाशित हुने भ्रष्टाचारसम्बन्धी सूचना, जानकारी, विचार, समाचार तथ्यपूर्ण हुनुपर्छ । सत्य हुनुपर्छ ।

प्रेस र वाक् स्वतन्त्रताको नाममा भूmटो, असत्य, स्रोत नखुलेको समाचार वा विचार प्रकाशित गर्न पाइँदैन। प्रसारण गर्न पाइँदैन । त्यस्तो गर्नुलाई गम्भीर अपराध गरेको मान्ने गरिन्छ । तर अहिले नेपालमा बहुसङ्ख्यक सञ्चार संस्थाका धनी एवं सञ्चारकर्मीहरूले यस्तो कार्य गरिरहेका छन् । आप्mनो माध्यमको लोकप्रियता अभिवृद्धि गर्न असत्य, भ्रामक, काल्पनिक र आधारहीन विचार एवं समाचारहरू प्रकाशित गरिरहेका छन् । सञ्चार संस्थाका धनी एवं सञ्चारकर्मीहरूले त्यस्तो गर्नु पनि भ्रष्टाचारमा लिप्त हुनु हो ।

सञ्चार जगत्लाई राज्यको चौथो अङ्ग मानिन्छ । राज्य सञ्चालनमा जति महत्वपूर्ण भूमिका विधायिका, कार्यपालिक र न्यायपालिकाको हुन्छ त्यतिकै महत्वपूर्ण भूमिका सञ्चार जगत्को पनि हुन्छ । त्यतिकै महत्वपूर्ण भूमिका सञ्चारगृहका धनी एवं सञ्चारकर्मीहरूको हुन्छ । यो कारणले गर्दा सञ्चार संस्थाका धनी एवं सञ्चारकर्मीहरू बढी जिम्मेवार हुनुपर्छ । भ्रष्टाचारसम्बन्धी सत्य एवं तथ्यपूर्ण समाचारहरू प्रकाशित गर्नुपर्छ ।

अर्को महत्वपूर्ण विषयमाथि पनि चर्चा गरौं । पत्रपत्रिकाहरूले भ्रष्टाचार विरोधी समाचारहरू जुन किसिमले प्रकाशन एवं प्रसारण गरिरहेका छन् वा जुन स्तरमा नेपालमा भ्रष्टाचार छ भनिरहेका छन्, यथार्थमा नेपालमा त्यो स्तरमा भ्रष्टाचार छैन । नेपालमा भ्रष्टाचार न्यून छ भन्न खोजिएको भने होइन । भ्रष्टाचारको सन्दर्भमा नेपालमा खुशी हुने स्थिति छ भन्न खोजिएको होइन । तर अन्य अति भ्रष्टको सूचीमा रहेका मुलुकहरू जस्तै सोमालिया (संसारमैं सर्वाधिक) भेनेजुएला, सिरिया, साउथ सुडान, येमेन, नोर्थ कोरिया, निकारागुआ, हाइटी, इक्वेटोरिएल ग्युनी, तुर्कमेनिस्तान, लिबिया, ताजकिस्तान, सुडान, म्यान्मा, डेमोक्रेटिक रिपब्लिक कंगो, क्यमरोस, च्याड, बुरुन्डी, अफगानिस्तान, एरिट्रिया, ग्युनी बिसाउ, कंगो, कम्बोडिया, इराक, होण्डुरस, ग्वाटेमाला, अजरबाइजान, जिम्बाब्वे, लेबनान, इरान मध्य अफ्रिकी गणतन्त्र, बङ्गलादेश, नाइजेरिया, मोजाम्बिक, माडागास्कर, लिबिया, युगान्डा, रूस, किर्गिस्तान, ग्युनी, कामेरोन, पाराग्वे, माली, गाबोन, पापुआ न्युगिनी, पाकिस्तान, बोलिभिया, मरूटानिया, जिबुटी, टोगो, मेक्सिको, केन्या, एल सल्भाडोर, नाइजर, उजबेगिस्तान, पेरू, मङ्गोलिया, अंगोला, टर्की, श्रीलङ्का, फिलिपिन्स, मलावी, इन्डोनेशिया, इक्वेडर, थाइल्यान्ड, सिएरा लियोन, पानामाजस्ता देशहरूको तुलनामा नेपालमा भ्रष्टाचार कम छ । अति कम भ्रष्टाचार हुने देश वा एक नम्बरमा अति कम भ्रष्टाचार हुने देश डेनमार्क रहेको अवस्थामा नेपाल भ्रष्टाचार कम हुने १०८ औ राष्ट्रको रूपमा पर्न आउँछ । यदि अति भ्रष्टाचार हुने राष्ट्रको रूपमा हेर्ने हो भने एक नम्बरमा सोमालिया पर्न आउँछ । सोमालिया संसारकै सर्वाधिक भ्रष्टाचार हुने राष्ट्र हो ।

नेपालभन्दा कम भ्रष्टाचार हुने देशहरूको सङ्ख्या ११० छ भने नेपालभन्दा बढी भ्रष्टाचार हुने देशहरूको सङ्ख्या ६९ छ । नेपालभन्दा बढी भ्रष्टाचार हुने देशहरूको सङ्ख्या पनि ठूलो छ । समाजको मनोविज्ञानमा सुधार र नेताहरूको इमानदारीमा अभिवृद्धि हुने हो भने नेपालमा भ्रष्टाचार नियन्त्रण गर्न असम्भव छैन ।

हात र नियन्त्रणमा सञ्चार माध्यम (पत्र पत्रिका, रेडिय, टिभी) छ भन्दै आफ्नो फाइदाका लागि सञ्चारगृह र सञ्चारकर्मीहरूले भ्रष्टाचारसम्बन्धी गलत समाचार प्रकाशित गर्नुहुँदैन । गलत समाचार प्रकाशित गर्नु तथ्य बङ्ग्याएर आफ्नो फाइदाको लागि फरक समाचार प्रकाशित गर्नु पनि अपराध हो । अर्थिक भ्रष्टाचार हो ।

राष्ट्रिय रोजगार, आय, व्यापार, भ्रष्टाचार आदिको क्षेत्रमा तथ्यहीन, असत्य, अपुष्ट र आधारहीन समाचार प्रकाशित गर्ने अहिले चलनजस्तो भएको छ । र त्यस्तो गरेर आप्mनो समाचारगृहलाई फाइदा पु-याउने चलन जस्तो भएको छ ।

भ्रष्टाचारसम्बन्धी गलत, भ्रामक र अपुष्ट समाचार प्रकाशित गरेर सञ्चार गृहहरूले केवल आफ्नो फाइदाका लागि समाजमा निराशा बाँडिरहेका छन् । जनतालाई हताश पारिरहेका छन् । युवाहरूलाई विदेश जान प्रोत्साहित गरिरहेका छन् ।

अब निष्कर्षतिर लागौं । यो लेखको आशय सञ्चारकर्मीहरू तथा सञ्चारगृहलाई भ्रष्टाचारसम्बन्धी समाचार एवं विचार प्रकाशित नगर्नुहोस् भन्नु होइन । यो लेखको आशय सञ्चारकर्मीहरू तथा सञ्चारगृह लाई भ्रष्टाचारसम्बन्धी समाचार र विचार तथ्यपूर्ण र सत्य पार्नुहोस् भन्नु हो । असत्य, भ्रामक, आधारहीन, काल्पनिक, प्रतिशोधपूर्ण समाचारले समाजलाई सुसूचित होइन, निराश पार्छ । निराश समाजले आर्थिक विकास गर्दैन । उल्टो थप भ्रष्टाचार गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here