• अनन्तकुमार लाल दास

हिन्दू संस्कृतिमा महिलाको महत्वपूर्ण स्थान रहेको छ । यस कारण हिन्दू संस्कृतिमा भगवान् शिवलाई अद्र्धनारीश्वर पनि भनिन्छ । हिन्दू धर्मग्रन्थमा के भनिएको छ भने जहाँ नारीको पूजा हुन्छ त्यहाँ भगवान्को वास हुन्छ । यस पौराणिक गाथाले समग्र नेपाली समाजमा महिलाहरूलाई पुरुषसँगै समान अधिकार र सहभागिताको सङ्केत गर्दछ । श्रेष्ठ कार्य अर्थात् पूजा–अर्चनाको बेला महिलालाई पुरुषको दाहिनेतर्पm बसाउने परम्परा पछाडि पनि महलिाहरूलाई सबै काममा प्राथमिकता दिने विचार निहित रहेको छ । यस तथ्यले समग्र विकासमा महिलाहरूको अनिवार्य भागीदारीलाई बल प्रदान गरेको छ । एक अर्काको पूरक हुनुका साथै समाजमा महिला र पुरुषको महत्वपूर्ण सहभागिता रहेको छ । यस परिकल्पनामाथि विचार गर्दा ग्रामीण विकासमा महिला जनप्रतिनिधिहरूको सहभागिताको आवश्यकता महसूस गरिएको छ र सोही अनुरूप नेपालको संविधानमा पनि महिला सहभागिताको उल्लेख गरिएको छ ।

भनिन्छ नेपालको आत्मा गाउँमा निवास गर्दछ । यस कारण नेपालको विकासका लागि गाउँको विकास हुनु अति आवश्यक छ । ग्रामीण विकासको परिधिमा शिक्षा, चिकित्सा, संस्कृति, सीप, सामुदायिक विकास, कृषि, सामाजिक सुधार, पशुपालन, उद्योग, व्यापार, रोजगारको विस्तार, शुद्ध खानेपानी, विद्युत्को सुविधा, सञ्चार व्यवस्थाको विस्तार आदि कुरा आउँछ ।

महिला जनप्रतिनिधिको अर्थ सबै वर्ग र स्तरबाट प्रजातान्त्रिक तरीकाले निर्वाचित वा मनोनीत महिला जो पालिकाहरू, प्रदेश सभा वा सङ्घीय संसद्मा प्रमुख–उपप्रमुख, नगरप्रमुख–उपनगरप्रमुख, विधायक, सांसद वा मन्त्री आदिको हैसियतले कार्य गर्नको लागि अधिकृत हुन्छ ।

महिलालाई जनप्रतिनिधिको स्थान दिनुको पछाडि के तर्क रहेको छ भने नेपालमा महिलाको जनसङ्ख्या पुरुषभन्दा बढी छ । यस कारण यति ठूलो जनशक्तिको लागि उनीहरूलाई जनप्रतिनिधि बनाउनु आवश्यक देखिन्छ । जनप्रतिनिधि बनेपछि सार्वजनिक स्थलमा उनीहरूको सहभागिता बढ्छ र भीडमा काम वा कुरा गर्ने डर समाप्त हुन्छ । उनीहरूमा आत्मनिर्भरताको विकास हुन्छ साथै आत्मबल पनि बढ्छ । महिलाहरू जनप्रतिनिधि भएपछि राजनीतिक र सामाजिक वातावरण सरल हुन्छ । एक आपसमा टकराव र अहम् तुष्टिको भावना विकसित हुँदैन । यसबाट विकास कार्यमा बाधा उत्पन्न हुँदैन र ग्रामीण विकासले तीव्र गति लिन्छ । तर सत्य के हो भने अहिले पनि महिलाहरू सामाजिक, आर्थिक, मनोवैज्ञानिक र राजनीतिक दृष्टिले पिछडिएका छन् । तसर्थ उनीहरूको उन्नतिको लागि उनीहरूलाई मूल धारमा ल्याएर बढीभन्दा बढी जिम्मेवारी दिनु आवश्यक छ ।

पारम्परिकरूपले महिलाहरूलाई घरेलू गतिविधिमा प्रबन्धनको भूमिका सुम्पिएको हुनाले उनीहरूको प्रतिनिधित्व अन्य क्षेत्रमा थोरै रहन्छ । उनीहरूलाई रूढिवादी भूमिकाबाट बाहिर ल्याएर देश निर्माणको प्रक्रियामा भाग लिन प्रोत्साहित गर्नुपर्छ । अर्कोतिर राजनीति पनि अन्य क्षेत्रजस्तै प्रतिस्पर्धात्मक भएको कारण धेरैजसो नेताहरूमा के डर देखिन्छ भने बढी महिला उम्मेदवार भएपछि उनीहरूको सीट कम हुँदै जान्छ । यस्तो सोचले पनि महिलाहरूको सामाजिक गतिविधिलाई प्रभावित गर्छ । औपचारिक शिक्षाले नेतृत्वको अवसर र आवश्यक सीप प्रदान गर्छ । तर राजनीतिक समझको कमीले गर्दा उनीहरू आप्mनो मूल अधिकार र राजनीतिक अधिकारबाट अवगत छैनन् ।

पारिवारिक हेरचाह र उत्तरदायित्वको असमान वितरणको परिणाम के हुन्छ भने महिलाहरू घर र बालबच्चाको हेरचाहमा पुरुषको तुलनामा धेरै समय व्यतीत गर्छन् । एउटी महिलालाई गर्भावस्था र प्रसवको बेला समय त दिनैपर्छ सँगसँगै यो त्यस बेलासम्म रहिरहन्छ जबसम्म बालबच्चा आमाबुवा माथि निर्भर रहन्छन् । त्यहीं राजनीतिक निर्णय निर्माण प्रक्रियामा पारदर्शिताको कमी र अलोकतान्त्रिक आन्तरिक प्रक्रियाहरूले नयाँ प्रवेशको लागि चुनौती पेश गर्दछ र खासगरी महिलाहरू यसबाट विशेष प्रभावित हुन्छन्, किनभने उनीहरूसँग राजनीतिक नेटवर्कको अभाव हुन्छ । त्यहीं अर्कोतिर महिलाहरूलाई निर्वाचनमा भाग लिन राजनीतिक दलहरूबाट पर्याप्त वित्तीय सहायता प्राप्त हुँदैन । उनीहरूले आपूmमाथि थोपरिएको निेर्देश स्वीकार गर्नुपर्ने हुन्छ र समाजको बोझ पनि वहन गर्नुपर्ने हुन्छ । यसरी हेर्दा राजनीतिक दलहरूको माहौल पनि महिला अनुकुल देखिंदैन । दलमा ठाउँ ओगट्नका लागि महिलाहरूलाई कठिन सङ्घर्षका साथै बहुआयामिक समस्या सामना गर्नुपर्ने हुन्छ ।

महिलाहरू स्वयं पनि कैयन दृष्टिकोणले पिछडिएका र लजालु हुन्छन् । यस कारण विकाससम्बन्धी जागरुकताका सम्बन्धमा उनीहरूलाई शङ्काको दृष्टिले हेरिन्छ । ग्रामीण विकासका लागि विकास योजना बनाउनु, कार्यस्थलको भ्रमण र अवलोकन गर्नु, भ्रष्ट अधिकारी र कर्मचारीहरूसँग काम लिनु तथा विकास कार्यको प्राविधिक जानकारी राख्नु आदि महिलाहरूको लागि उचित र योग्य कार्य मानिंदैन । राजनीति एवं विकाससम्बन्धी जिम्मेवारी लिएपछि उनीहरूको मूल जिम्मेवारी–सन्तानको हेरचाह, पालनपोषण र पारिवारिक दायित्व आदिमा अवरोध उत्पन्न हुने धारण समाजमा बलियोगरी स्थापित छ ।

देशमा महिलाहरूको सङ्ख्या बढी भए पनि देश विकासमा उनीहरूलाई भागीदारीको उचित अवसर हासिल छैन । यस विशाल जनशक्तिको भागीदारीबेगर विकासको कल्पना गर्न सकिंदैन । यस अर्थमा ग्रामीण विकासमा महिलाहरूको भागीदारीलाई महत्वपूर्ण मानिएको छ । महिला जनप्रतिनिधिको भागीदारीले ग्रामीण क्षेत्रमा मौलिक विकासका नयाँ–नयाँ सम्भावना देखा परेको छ । महिला जनप्रतिनिधि भएपछि उनीहरू महिलाहरूको समस्या राम्ररी बुझ्छन् । यस कारण विकास सजिलो हुन्छ । उदाहरणका लागि खानेपानी स्रोतको विकास, प्रसूति सुविधा, महिला शिक्षा, बाल विकास, मनोरञ्जन आदि कार्यमा विशेष रुचिसहित यस्ता क्षेत्रको सम्पूर्ण विकास हुन्छ । यस्ता विकास कार्य आज ग्रामीण क्षेत्रमा नितान्त आवश्यक देखिएको छ ।

जनप्रतिनिधिको रूपमा महिलाहरू निर्वाचित भएपछि ग्रामीण क्षेत्रको सामाजिक वातावरणको पनि उन्नति हुन्छ । यसबाहेक महिलाहरूको मनोबलमा वृद्धि, महिला शिक्षा, महिला स्वास्थ्य, महिला प्रतिष्ठा आदिमा पनि वृद्धि हुन्छ । उनीहरूलाई जनप्रतिनिधिको रूपमा छनोट गर्दा पर्दा प्रथा, हक्कीपन र सही निर्णय लिने क्षमताको विकास हुन्छ । पुरुष प्रतिनिधि प्रायः निजी शत्रुता, ईष्र्या र प्रतिष्ठालाई लिएर एक अर्कालाई तल पार्ने प्रश्नमा अल्झिरहन्छन् जसले गर्दा उनीहरूको रचनात्मकता शून्य हुन्छ तर महिलाहरू जनप्रतिनिधि भएपछि यस्तो खाले प्रतिस्पर्धा हुँदैन । महिलारू प्रायः भ्रष्टाचारबाट टाढै बस्छन् । परिणामस्वरूप विकास कार्यको सारा पैसा विकास कार्यमैं खर्च हुनाले विकासमा वृद्धि हुन्छ ।

नेपालको वर्तमान संविधानले मूलधारको राजनीतिक गतिविधिमा समाजको हरेक वर्गको भागीदारीलाई सुनिश्चित गरेको छ । आउने दिनहरूमा यसलाई बढाउनको लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने देखिन्छ । वास्तविक अर्थमा लोकतान्त्रिक दलहरूले निर्वाचन प्रक्रियामा प्रमुख पदहरूमा महिला सदस्यहरूलाई अवसर दिनुपर्छ । साथै समाजले महिलाहरूलाई घरमा मात्र सीमित राख्ने रूढिवादितालाई खण्डित गर्नुपर्छ ।

हुनत महिला जनप्रतिनिधिको आलोचना घरकै पुरुष सदस्यहरूले गर्छन्, अनि सहभागितामा कमी भएर गाउँको विकासले त्यसरूपमा पूर्णता पाउन सक्दैन, जसको आज हामीलाई आवश्यकता छ । तर सत्य के हो भने ग्रामीण विकासमा महिला जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुन्छ । कैयन आलोचनाका बावजूद महिला जनप्रतिनिधिको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ । महिलाहरूको प्रतिनिधित्वले विकास कार्यमा वृद्धि पनि भएको देखिन्छ । यसर्थ कुनै त्रुटि, कमी वा आलोचनाको बावजूद महिला जनप्रतिनिधित्व जारी राख्नुपर्छ अनि मात्र सही अर्थमा ग्रामीण विकासलाई सुनिश्चित गर्न सकिन्छ । अन्त्यमा के भन्न सकिन्छ भने “जब भी सब्र का बाँध टूटे तो सब पर भारी नारी/फूल जैसी कोमल नारी, काँटो जितनी कठोर नारी” अर्थात् महिलाहरूले अवसर पाएपछि हाम्रो गतिहीन राजनीतिमा नयाँ ऊर्जा थप्न सक्छन् र यसलाई शिक्षा, स्वास्थ्य, पोषण र रोजगारजस्ता आधारभूत आवश्यकता वितरणमा नयाँ दिशा प्रदान गर्न सक्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here