काठमाडौं, ६ फागुन/रासस
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतवार पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार परिसूचक २७ दशमलव २१ अङ्कले ओरालो लागेर दुई हजार ३४ दशमलव ८२ मा सीमित भएको हो ।
ठूला कम्पनीका शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ३५ अङ्कले ओरालो लागेर ३६५ दशमलव २० मा सीमित भएको हो । कारोबार भएका कुल १३ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । कुल एक करोड सात लाख ७२ हजार ४८३ कित्ता शेयर रु तीन अर्ब ७७ करोड ५४ लाख २२ हजार १९६ मूल्यमा कारोबार भयो ।
कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४० करोड ९० लाख बराबरको कारोबार भयो । एनआइसी एशिया बैंक रु १३ करोड ६५ लाख ६४ हजार १४०, जोशी हाइड्रोपावर रु १० करोड १४ लाख १९२, सगरमाथा जलविद्युत् कम्पनी रु नौ करोड २७ लाख ९३ हजार ५९८ र युनियन हाइड्रोपावर रु सात करोड ६१ लख १८ हजार १०७ मूल्यमा खरीद–बिक्री भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । किसान लघुवित्त आठ दशमलव २२, युनियन हाइड्रोपावर छ दशमलव ६५ र आशा लघुवित्तका लगानीकर्ताले छ दशमलव शून्य चार प्रतिशतले कमाएका छन् ।
त्यस्तै, सामलिङ पावर आठ दशमलव २१, दोर्दी खोला जलविद्युत् कम्पनी छ दशमलव १५, पाँचथर पावर कम्पनी पाँच दशमलव ९१, बाराही हाइड्रोपावर पाँच दशमलव ८२ र एनआइसी एशिया ग्रोथ फन्डका लगानीकर्ताले पाँच दशमलव ६१ प्रतिशतले गुमाएका छन् ।